आमा छोरीको हत्या आरोपमा पूर्व प्रेमी पक्राउ

दाङ, ५ असोज ।
भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका–२ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत भेटिए ।

शरीर जलेका आमा छोरीको सुतेको बेला ग्यास लिक भइ आगलागीका कारण मृत्यु भएको आशंका थियो । तर घटना अनुसन्धान गर्दै जाँदा आमा छोरीको मृत्यु आगलागीबाट नभई हत्या भएको खुलेको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले रेवती र उनको छोरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिद्ध कुमाख गाउँपालिका–२ खानीगाउँका २९ वर्षीय कर्णबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी नविन कार्कीले बताए ।

प्रहरीका अनुसार हत्याको आरोपमा पक्राउ परेका कर्णबहादुर रेवतीका पूर्व प्रेमी हुन् । फेसबुकबाट जोडिएका उनीहरुबीच प्रेम सम्बन्ध बनेको थियो । उनीहरुबीच चिनापरिचय हुँदा कर्ण विवाहित थिए भने रेवती अविवाहित ।

दुवैबीचको भेटघाट हुँदै गयो । त्यसक्रममा उनीहरुले अश्लील फोटो र भिडियोहरु खिचेर राखेका पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

त्यहीबीच ०७५ मा कर्ण रोजगारीका लागि दुबई गए । त्यसपछि रेवतीले त्रिवेणी गाउँपालिका–२ झालेढुंगाका सुकलाल थापासँग विवाह गरिन् । रेवतीको विवाहलाई कर्णले ठुलो धोका ठानेर इगोको रुपमा लिए ।

तर पनि उनीहरुबीचको सम्पर्क टुटेन । ‘रेवतीको बिहेको २ वर्षपछि पनि दुवैबीच फोन र फेसबुकबाट कुराकानी हुन पुगेछ,’ डीएसपी कार्की भन्छन्, ‘२ वर्षपछि एक अर्काको सम्पर्कमा आएका दुवैबीच पुरानो प्रेम र शारीरिक सम्बन्धका क्रममा खिचेका अश्लील तस्वीर र भिडियोलाई लिएर मनमुटाव सुरु भएको देखिन्छ ।’

दुवैबीच मनमुटाब बढ्दै जाँदा ८ महिना अघिबाट नै कर्णले रेवतीको हत्या गर्ने योजना बनाएको अनुसन्धानका क्रममा खुलेको डीएसपी कार्कीले बताए ।


रेवतीको हत्या गर्नकै लागि नेपाल आउन उनले ४ महिनाअघि नै कर्णले दुबईमा कम्पनीमा बिदा समेत मागेका थिए । तर कम्पनीले बिदा नपाएपछि उनी रोकिएको दाबी कार्कीले गरे ।

गत भदौ २७ गतेमात्र बिदा पाएका उनी दुबईबाट घर आइपुगे । घर आएको दुईदिनभित्रै उनले रेवतीलाई मार्ने योजना बनाए । त्यसपछि उनी भदौ २९ गते राति रेवतीको घर पुगेका थिए । कर्ण र रेवतीको घर झण्डै २० किलोमिटर टाढा पर्छ ।

रेवतीका श्रीमान् रोजगारीका लागि भारतमा गएकाले एक्लै भएको मौका छोपी उनी त्यहाँ गएका थिए ।

डीएसपी कार्कीका अनुसार राति करिब १० बजे कर्ण रेवतीको घरभित्र पसेर उनको घाँटी कपडाले कसेर लडाए । त्यसपछि पेट्रोल छर्केर आगो लगाएको अभियुक्त कर्णले बयान दिएको उनले बताए । रेवतीलाई लगाएको आगो सल्किएर ओछ्यानमा सुतिरहेकी ९ महिने छोरीको पनि जलेर ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार रेवतीको हत्यापछि कर्ण राति नजिकैको एउटा घरमा बास बसी बिहानै घरतर्फ लागेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा विभिन्न चरणमा अनुसन्धान गर्दा कर्णले नै हत्या गरेको भन्ने निष्कर्षमा पुगेकाले उनलाई पक्राउ गरेको कार्कीले बताए ।

‘घटनाको अनुन्धान गर्दै जाँदा सात वर्षअघिको प्रेमको इगो साध्न पूर्व प्रेमिका र उनकी छोरीको हत्या गरिएको देखियो’, कार्कीले भने ।

प्रेम सम्बन्ध टुटेकाले त्यसकै इगो साँध्नको लागि हत्या गरेको अभियुक्तले बयानका क्रममा बताएको डीएसपी कार्कीले बताए ।