दाङ, ९ भदौ ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले टोल विकास संस्था जनताको तल्लो तहको सरकार भएको बताए । लमही नगरपालिका–५ रातोडाँडामा रहेको टाउन प्लानिङ क्षेत्र रातोडाँडा टोल विकास संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख चौधरीले सो कुरा बताए ।
‘राज्यले टोल विकास संस्थालाई अधिकार प्रदान गरेको छ, गाउँघर, टोल समाजको समस्यालाई पहिचान गर्ने, वडा कार्यालयलाई सिफारिस दिने लगायत थुप्रै अधिकार भएकोले आफ्नो अधिकारलाई राम्रोसँग सदुपयोग गर्नु पर्छ’ नगर प्रमुख चौधरीले भने । गाउँ टोलमा उत्पन्न भएका समस्यालाई समाधान गर्न तर्फ लाग्न सबै टोल विकासका पदाधिकारीलाई नगर प्रमुख चौधरीले आग्रह गरे ।
भवनको उद्घाटन गर्दै लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले नगरपालिका भित्र रहेका टोल विकास संस्थाहरुलाई चलायमान भएर काम गर्न सुझाव दिइन । सबै टोलमा हुने हरेक समस्याको गम्भीरता पुर्वक पहिचान गरि वडा र नगरपालिकामा जानकारी गराउन समेत उपप्रमुख योगीले आग्रह गरिन ।
‘टोल विकास र वडाले सिफारिस गरेका सबै कामहरुको लागि आफु कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन । म सधैं तपाईंहरुको साथमा छु, राम्रो काम गर्दै जानुस, नगरपालिकाबाट गर्नु पर्ने सबै सहयोग हुन्छ’ योगीले भनिन ।
त्यसैगरी लमही नगरपालिकाका निर्वतमान प्रमुख कुल बहादुर केसीले टोल विकासले समाज निर्माणको जिम्मा लिनु पर्ने भन्दै समग्र नगरपालिकाको विकासका लागि सबैको खाँचो रहने बताए । वजेट अभाव भएको कुरालाई सम्बोधन गर्दै केसीले राज्यले दिने वजेट भागबण्डा गर्ने भन्ने कुरा हुँदैन, वडा र पालिकाले आवश्यकताका आधारमा बजेट विनियोजन गर्नु पर्छ–केसीले भने ।
कार्यक्रममा पत्रकार दशरथ घिमिरे, लिला शाह, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, हिमंता प्रसाद पाण्डे, लिलाराम खनाल लगायतले बोलेका थिए ।
टाउन प्लानिङ क्षेत्र रातोडाडा टोल विकास संस्थाका अध्यक्ष शशिधर ज्ञवालीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भवन उद्घाटन कार्यक्रम भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका कोषाध्यक्ष नवराज गौतमले गरेका थिए ।
लमही नगर विकास समितिले भाडामा दिएको जग्गामा विरभक्ति थापा पार्क निर्माण गरिएको छ भने सोहि पार्क भित्र करिब २४ लाखको लागतमा टाउन प्लानिङ क्षेत्र रातोडाँडा टोल विकास संस्था भवन निर्माण भएको छ ।
लाइभदाङ । ९ भाद्र २०८०, शनिबार १२:५२ बजे