तुलसीपुरमा यो बर्ष दायित्व तिरिसकिन्छ : मेयर खड्का

तुलसीपुर,२३ साउन । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले यो बर्ष भित्र उपमहानगरपालिकाको दायित्व तिरिसक्ने बताएका छन् ।

तुलसीपुरमा पत्रकार सम्मेलन गरि उनले यो बर्ष फजुल खर्च कटाएको भन्दै चालु आर्थिक बर्ष भित्र सबै दायित्व तिरिसक्ने बताएका हुन् ।‘यो बर्ष हामीले फजुल खर्च कटाएका छौं’,उनले भने‘यो बर्ष भित्र सबै दायित्व तिरिसक्छौं ।’ हाल उपमहानगरपालिकाको करिब २६ लाख दायित्व रहेको छ ।

विगतको दायित्व तिर्नु पर्दा नै यस बर्ष न्यून बजेट ल्याउनु परेको उनले बताए । कुनै समय डेढ करोडसम्म वडामा बजेट जाने गरेको भएपछि यस बर्ष ३७ लाख मात्रै बजेट गएको उनले बताए । आगामी बर्ष यसलाई बढाउने बताए ।


साथै उनले तुलसीपुरको फोहरको स्थायी ब्यबस्थापनकालागि जग्गा खोजी भइरहेको बताए । जग्गा खोजी गरि निजि कम्पनीलाई फोहर ब्यबस्थापनको जिम्मा दिने बताए ।‘हाल हामीले विभिन्न स्थानमा जग्गा हेरेका छौं, वडा नं. १६ ले पनि साढे ३ विघा जति जग्गा दिने भनेको छ, त्यो पनि हेरेका छौं’ उनले भने‘अहिले फोहर फाल्दै आएको स्थान अस्थायी हो, त्यहाँ फोहर फाल्दा एयरपोर्टलाई समेत असर गर्दै आएको छ ।’

त्यस्तै हाल उपमहानगरपालिकाको बजार क्षेत्रका सीसी क्यामेरा बिग्रिदा शान्ति सुरक्षामा समस्या हुने गरेको भन्दै तत्काल विग्रिएका सीसी क्यामेरा मर्मत गर्ने तथा मर्मत गर्ने अबस्था नरहेमा नयाँ किन्ने समेत बताए । उनले बजार क्षेत्रमा पाँच वटा हाइलेक्स बत्ति खरिद गर्ने तयारी समेत रहेको बताए ।

नगर प्रमुख खड्काले तुलसीपुरमा अब्यबस्थित पार्किङ रहेकाले त्यसलाई ब्यबस्थापन गर्न तर्फ पनि चासो रहेको बताए । उपमहानगरपालिकाले गएको बर्ष शिक्षक दरबन्दी मिलान, विगतमा मर्ज रहेका विद्यालयलाई पुनः सञ्चालन गर्ने, ६ वटा विद्यालय भवन मर्मत गरेको जस्ता कार्य गरेको बताएका थिए ।