जब एकाबिहानै अक्सिजन सिलिन्डर बोकेर विद्यार्थी निस्किए…

तुलसीपुर, २२ जेठ ।
तुलसीपुर उपमहानगरपालिकाको गेटमा पछाडी अक्सिजन सिलिन्डर बोकेर मुखमा त्यसको पाइप जोडिएको विद्यार्थी देखापरे । उनीसँग अनुहारमा पेन्ट गरेर ‘प्लाष्टिक प्रयोग बन्द गरौ’ भन्ने सन्देश कोरिएका हरियो अनुहारका विद्यार्थी पनि देखिए । अनि लाइनमा एकहुल विद्यार्थी देखिए जसको अनुहारमा वातावरण जोगाउनुपर्दछ भन्ने सन्देश लेखिएका थिए ।

विश्व वातावरण दिवसको अवसर पारेर ‘प्लाष्टिकको प्रयोग नगरौ’ भन्ने सन्देश प्रवाह गर्नका लागि विद्यार्थीहरुले विभिन्न चरित्र निभाएका थिए । केहीले प्लाष्टिकको कपडा लगाएर ‘नो’ लेखेका थिए भने केहीले कागजको कपडा लगाएर ‘एस’ लेखेका थिए ।

तुलसीपुर बहुप्राविधिक शिक्षालयमा वन र कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरुले प्लाष्टिक प्रयोगको असरका बारेमा विभिन्न सन्देशहरु प्रवाह गरेका थिए । उनीहरुले प्लाष्टिक वातावरणका लागि सबैभन्दा घातक भएको भन्दै यसको प्रयोग कम गर्नका लागि सुझाव समेत दिएका थिए । प्लाष्टिकजन्य प्रदुषको निर्मुल गरौः वातावरणमैत्री विकल्पको खोजि गरौ भन्ने नाराका साथमा मनाइएको ५० औ विश्व वातावरण दिवसको अवसरमा विद्यार्थीहरुले अन्तक्र्रिया कार्यक्रम समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख टिकाराम खड्काले वातावरण संरक्षण आजको मुल मुद्दा भएको बताए । ‘हाम्रै कारणले वातावरणलाई असर परिरहेको छ अनि हाम्रै जीवन विग्रिरहेको छ ’ उनले भने । प्रमुख अतिथि खड्काले वातावरण जोगाउने दायित्व सबैको भएको भन्दै वातावरण विनाश नै मानव विनाश भएको कुरामा जोड दिए ।


कार्यक्रमकी विशिष्ट अतिथि स्यानी चौधरीले वातावरण मानव जीवनको आधार भएको भन्दै यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको कुरा बताइन् । उनले स्थानीय सरकार वातावरण संरक्षणको मुद्दामा चिन्तित रहेको कुरामा जोड दिइन् ।

ग्रिन फाउन्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले विकसित देशहरुले वातावरण विनाश गरेर विश्वलाई नै प्रदुषित वनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गरे । वातावरण विनाश रोक्ने मुख्य कारण वृक्षारोपण भएको भन्दै पाण्डेले खाली ठाउँहरुमा विरुवा लगाउनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा पारिवारीक तथा निजी वन संघ नेपालका उपाध्यक्ष मेघराज भुषाल, डिभिजन वन कार्यालयका जनक वली, वन विज्ञान प्रशिक्षक सचिन सुवेदी लगायतले मन्तव्य राखेका थिए । प्रशासन सहायक सुधासुमन ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक घनश्याम केसीले गरेका थिए । शिक्षालय प्रमुख वसन्त आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।