हावाले उडायो ‘मल्लागिरी’

अनिता पोखरेल,
दाङ, १५ फागुन ।
विश्वमै लोपन्मुख अवस्थामा रहेको सुगन्धकोकिला ‘मल्लागिरी’ को उत्पादन यसवर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो ।

विगतका वर्षमा पाँचसय क्वीन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन घटेको स्थानीयले बताएका छन् । विगतमा पाँच सय क्वीन्टल उत्पादन हुने गरेको भएपनि यस बर्ष करिब ५० क्वीन्टल मात्रै उत्पादन भएको स्थानीय प्रवीर पुनले बताए । “विगतका वर्षमा ५ सय क्वीन्टलसम्म हामीले मल्लागिरी बिक्री गथ्र्यौं”,उनले भने “गएको वर्ष पनि वर्षादले गर्दा फूल झारिदिएपछि २५० क्वीन्टल मात्रै उत्पादन भएको थियो, यस वर्ष झन घटेर ५० क्वीन्टल भन्दा बढि उत्पादन हुन सकेन ।”

विश्वमै लोपोन्मुख मानिएको उक्त प्रजातिको वनस्पति छिल्लीकोटमा पाइन्छ । त्यसले नै त्यहाँको जीवनस्तरमाथि उठाउने गरेको हो । सुगन्धकोकिला प्रतिकिलो रू.पाँच सयमा बिक्री हुँदै आएको छ । “हामीले रू. पाँच सयमा सुगन्धकोकिला बिक्री गर्ने गर्छौ तर यहाँबाट लिएर साहूले रू.छ सय प्रतिकिलोमा बाहिर पठाउँछन्” पुनले भने “घोराहीमा व्यापारीसँग सम्पर्क गरेर त्यहाँबाट सुगन्धकोकिला बिक्री गर्ने गरिन्छ ।” सुगन्धकोकिला बाहिरी देशमा पठाइने गरिन्छ । यहाँबाट कच्चा सुगन्धकोकिला लगेपछि के–के बन्छ, भन्ने कुरा आफूहरूलाई थाहा नभएको स्थानीयवासी जीवराज रेउलेले बताए । “यहाँबाट हामीले कच्चापदार्थ बेच्छौं, त्यसबाट उच्चस्तरको सेन्ट, अगरबत्ती बनाउन प्रयोग हुन्छ, भन्ने सुनिएको छ”,उनले भने, “तर, अरू केमा प्रयोग हुन्छ, भन्ने कुरा आफूहरूलाई पनि त्यति जानकारी नै छैन ।”

एउटा रूखले दुई सय किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गरेपनि यस वर्ष भने वर्षादले आम्दानी घटेको कृषक कृष्ण रेउलेले बताए । विगतमा एउटै रूखबाट ४० हजारदेखि २ लाखसम्म आम्दानी गर्ने गरिन्थ्यो । छिल्लीकोटका दश गाउँका १३५ घरले नै सुगन्धकोकिलाबाट आश्रित छन् । प्रत्येकको घरमा दशभन्दा बढी सुगन्धकोकिलाका रूख छन् भने सामुदायिक बनमा पनि सुगन्धकोकिलाका रूख रहेका छन् । सामुदायिक वनमा रहेको सुगन्धकोकिलालाई गाउँलेले सामूहिक आम्दानी लिने गरेको कृषक प्रवीर पुनले बताए । कहिले काहीँ, त्यहाँ उत्पादन भएको सुगन्धकोकिलाले बजार नपाउने पनि समस्या भएकाले त्यसका लागि चिस्यान केन्द्र स्थापना गरिदिनुपर्ने उनीहरूको माग छ ।


लोपन्मुखअवस्थामा रहेको सुगन्धकोकिलालाई संरक्षण गर्न पनि राज्यले ध्यान दिन नसकेको गुनासो गर्दै उनले भने,“पहिले–पहिलेका रूख पनि सुक्दै जान थालिसकेका छन्, हामीले संरक्षणका लागि केही बिरूवा त रोपेका छौैँ यसमा सरकारले पनि संरक्षणका लागि पहल गरिदिएमा यहाँका बासिन्दाको आम्दानीको स्रोत पनि बढ्ने र रूख पनि संरक्षण हुने थिए ।”

पछिल्लो समय वन कार्यालयले त्यहाँ केही रूख रोपे पनि त्यसलाई संरक्षण गर्न कुनै चासो नदेखाएको पुनको भनाइ थियो । सुगन्धकोकिला पवित्र हुने भएकाले धार्मिक कार्यका लागि प्रयोगमा ल्याउनुका साथै यसको पातबाट तेलसमेत निकाल्न सकिने र पिपलपछि दोस्रो बढी अक्सिजन दिने रूखका रूपमासमेत रहेकाले यसको संरक्षण आवश्यक रहेको अर्का स्थानीयवासी पूर्ण पुनले बताए ।

सुगन्धकोकिला समुद्र सतहदेखि १५ मिटरको दूरीमा हिमालको हावा बहने जंगलमा फष्टाउने गर्छ । बिरूवा रोपेको चार वर्षदेखि नै यसले उत्पादन दिन सक्ने र यसलाई अलि व्यवस्थित गर्न सकिए देशलाई नै आर्थिक हिसाबले टेवा पुग्ने उनको भनाइ थियो ।

अहिले जंगलमा रहेका नयाँ रूखलाई जोगाउने कार्यमा आफूहरू सक्रिय रहेको स्थानीयवासीको भनाइ थियो । छिल्लीकोटमा एकसय ६ परिवार छन् । ति सबैले मल्लागिरीबाटै आफ्नो जीवन चलाउने गरेका छन् । मल्लागिरीको बोक्राबाट विभिन्न प्रकारका सेन्ट, अगरवत्ति निर्माणका लागि प्रयोग गरिन्छ, भने मल्लागिरीको गेडाबाट तेल बनाउन प्रयोग हुन्छ । साभार : अग्रिम साप्ताहिक