टरिगाउँ एयरपोर्ट विस्तारका चार विकल्प

दीपक बोहरा,
दाङ, ८ फागुन ।
दाङको तुलसीपुर १२ टरिगाउँ विमानस्थल विस्तारकालागि चार वटा विकल्प दिईएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर टरिगाउँ विमानस्थल विस्तार गर्न सकिने बताएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा चार वटा विकल्प दिएसंगै कुन विकल्पमा काम गर्ने भन्ने विषयमा छलफल भइरहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताईन् । “चारवटा विकल्प दिएर डीपीआर भएको छ”,उनले भनिन् “कुनलाई आधार बनाएर एयरपोर्ट स्तरोन्नती गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।” उनका अनुसार विकल्प १ अनुसार नै काम गर्दा उत्तम लाग्ने भएकाले सोही अनुसार छलफल चलाएको समेत बताईन् । पहिलो विकल्प पुरानै धानवमार्गमा थप गर्ने छ, भने अन्य तीन वटा विकल्प अनुसार नयाँ धावनमार्ग तयार गर्नुपर्छ ।
के–के हुन्, विकल्प ?
विकल्प १ :
पहिलो विकल्प हाल भइरहेको धावन मार्गमै विस्तार गरि १२३० मिटर लम्बाई रनवे हुन सक्छ । जसकालागि ५७ विघा जग्गा चाहिन्छ । अहिले एयरपोर्टको ३९ विघा जग्गा छ । बाँकी सामुदायिक बनको १२ विघा, अधिग्रहण १.२ विघा र सार्वजनिक जग्गा ४.८ विघा लैजानुपर्छ । यसरी एयरपोर्ट बनाउँदा ६ अर्ब १५ करोड ९१ लाख चौवन्न हजार ८ सय लागत अनुमान गरिएको छ ।

जसमा फुटपाथ तथा संरचना निर्माणको कामकालागि २ अरब ७६ करोड ५० लाख ९४ हजार ८ सय ६०, भवन लगायतका सामग्रीहरूकालागि ३ अरब १३ करोड ४२ लाख ४० हजार, विविध कामकालागि १५ करोड ७३ लाख २० हजार र जग्गा अधिग्रहण तथा भवन निर्माणकालागि १० करोड २५ लाख लागत अनुमान गरिएको छ ।

यो विकल्प अनुसार अहिले रहेका घरहरू फाल्न पर्दैन । मन्दिर क्षेत्रको केही जग्गा प्रयोग हुनेछ । यसरी एयरपोर्ट बनाउँदा एकातिरबाट मात्रै अवतरण र उडान गर्नुपर्ने हुन्छ । यसमा रातको समयमा र कम‘भिजिविलिटी’ हुँदा अवतरण गर्न सक्ने अवस्था रहदैन । रातको समयमा हवाई अवतरण गर्नकालागि थप ४५० मिटर जमिन चाहिन्छ । यो डिजाईन अनुसार काम गरेमा ५ वर्षमा एयरपोर्ट बन्नेछ । यसमा आईई र ईआइए गर्न २ वर्ष लाग्छ । आईईई र ईआईई गर्नुकासाथै जग्गा अधिग्रहण गरेपछि तीन बर्ष लाग्छ ।

विकलप २ :
दोस्रो विकल्प अनुसार काम गर्दा धावनमार्ग १४३० मिटर हुन्छ । यसरी काम गर्दा क्षेत्रीय स्तरको विमानस्थल तयार हुन्छ । यो विकल्पमा काम गर्दा करिब ८३ विघा जग्गा चाहिन्छ । जसमा थप १४.४ विघा जग्गा अधिग्रहण, सामुदायिक बन क्षेत्रको ८.७ विघा, ग्वारखोला नदी क्षेत्रको १.६ विघा र सार्वजनिक जग्गा १९ विघा जग्गा लैजानु पर्छ । जुन पूर्व–पश्चिम मोडिएको एयरपोर्ट बन्ने छ । सोही स्तरको विमान निर्माणकालागि मन्दिरसहित अहिले बनेका करिब ९५ वटा घर हटाउनु पर्छ । त्यसकालागि ९ अर्ब १७ करोड ७१ लाख ३२ हजार रूपैँया लागत अनुमान गरिएको छ । घरहरू हटाउनु पर्ने र जग्गाको मुआब्जा दिनुपर्ने भएकाले यसमा बढि लागत अनुमान गरिएको छ । यस्तो खालको विमान बनाउने करिब ७ वर्ष लाग्छ ।

विकल्प ३ :
तेस्रो विकल्प अनुसार काम गर्दा १५०० मिटर रनवे निर्माण गर्न सकिन्छ । क्षेत्रीय स्तरको यो रनवे बनाउनकालागि १४७ विघा जग्गा चाहिन्छ । महेन्द्र माविदेखि हाइवेको केही पश्चिमसम्म जाने गरि यो विमानस्थलको परिकल्पना गरिएको छ । जसकालागि ४८.९ विघा जग्गा अधिग्रहण गुर्नपर्ने, बनको २१.६ विघा जग्गा र सार्वजनिक जग्गा २५.९ विघा लैजानु पर्छ । यो विकल्प अनुसार विमानस्थल बनाउँदा धेरै निजि जग्गा लैजानु पर्छ । त्यसले गर्दा लागत अलि धेरै लाग्ने देखिन्छ । यसरी विमानस्थल निर्माण गर्दा १६ अरव ८४ करोड ५४ लाख ५ हजार पाँचसय ४० लागत अनुमान गरिएको छ । जसमा ४ अर्व ७७ लाख जग्गा व्यवस्थापनमा मात्रै खर्च हुने अनुमान गरिएको छ । यसरी विमानस्थल निर्माण गर्दा १३२ भन्दा बढि घरहरू हटाउनुपर्छ ।

विकल्प ४ :
चौथो विकल्प अनुसार १४३० रनवे निर्माण हुन्छ । यो विकल्प अनुसार क्षेत्रीय स्तरको विमानस्थल निर्माण हुन्छ । ९३ विघा जग्गा आवश्यक पर्ने उक्त विमानस्थल निर्माणकालागि ६.४ विघा जग्गा अधिग्रहण गर्नुपर्छ । त्यस्तै सामुदायिक वन क्षेत्रको २८.४ विघा,सार्वजनिक जग्गा १८.१ विघा र नदी क्षेत्रको १.१ विघा जग्गा आवश्यक पर्छ । सोही विमान निर्माणकालागि करिब ८५ वटा घरहरू हटाउनु पर्छ । सोही विमानस्थलको लगानी ९ अर्ब ९९ करोड ८८ लाख ७९ हजार लागत अनुमान गरिएको छ । यो अनुसार काम गर्दा ८ वर्षमा काम सकिन्छ ।


अर्थमन्त्रालयसंग कुरा भइसक्योः चौधरी
टरिगाउँ एयरपोर्ट विस्तार समन्वय समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले यी विकल्प मध्ये एउटा विकल्प रोजेर काम अघि बढाउने बताईन् । त्यसकालागि जिल्ला र लाभाम्बित जिल्लाका सरोकारवालाहरूसंग छलफल गरेर एउटा विकल्प अनुसार काम अघि बढाउने बताईन् । अर्थ मन्त्रालयसंग पनि कुरा भइसकेको भन्दै एउटा विकल्प दिए, त्यही अनुसार बजेट हाल्ने आस्वासन पनि पाएको उपप्रमुख चौधरीले बताईन्। उनका अनुसार क्यानका इन्जिनियरहरूले यस अघि पोखराको अन्तराष्ट्रिय विमानस्थलको पनि डीपीआर गरेर सफलता पाएको भन्दै टरिगाउँमा पनि सफलता पाउने अपेक्षा रहेको छ ।

टरिगाउँ एयरपोर्टको इतिहास निकै पुरानो छ । २०११ सालदेखि विमानले उडान थालेको थियो । २०११ सालदेखि २०४२ सालसम्म नियमित रूपमा विमान सञ्चालनमा भएको एयरपोर्ट भएको हो । त्यतिबेला सिधा दाङ काठमाडौं जाने यातायातको अर्को विकल्प थिएन । राप्ती नदीमा पुल निर्माण भइसकेको थिएन । बुटवल स्थित तिनाउ नदीमा पनि पुल निर्माण भएको थिएन । त्यसैले यात्रुहरू रूपैडिया र भैरहवा भएर भारतीय भूमी हुँदै विराटनगर वा काठमाडौं जानुपर्ने परिस्थिति थियो । केही वर्ष अवरोध भए पनि त्यसपछि माओवादीको युद्धकालमा ०५६ सालसम्म पनि यहाँबाट विमान सञ्चानल भएको थियो ।

केही समय अवरोध भए पनि ०५८ सालसम्म विमान सेवा जारी थियो । त्यो बिचमा केही वर्ष फेरी विमान सेवा अवरूद्ध बन्न पुगेको थियो तर पनि जसोतसो २०७० सम्म विमान सञ्चालनमा आएको थियो ।

त्यसपछि टरिगाउँ विमान स्थलको कालोपत्रेको लागि विमान अवरूद्ध बन्यो । विमान कालोपत्रे भएपछि तारा एयरले पहिलो पटक दाङ र रूकुममा एकै दिन परिक्षण उडान भरेको थियो । त्यसपछि रूकुममा विमान नियमित भए पनि त्यसको झन्डै एक वर्षको अन्तरालमा मात्रै ०७२ जेठ १४ देखि टरिगाउँ एयरपोर्टबाट गोमा एयरले विमान सेवा सुरू गरेको थियो, तर त्यो एक वर्ष पुग्दा नपुग्दै अवरूद्ध बन्न पुगेको थियो ।

त्यसको प्रमुख कारण पर्याप्त यात्रु नपाउनु थियो । २०७५ सालदेखि भने नियमित रूपमा हवाई सञ्चालन भईरहेको छ । उक्त एयरपोर्टमा हाल १९ सिट क्षमताको विमान मात्रै अवतरण गर्न सक्छन । साढे ८ करोडको टेन्डरबाट कालोपत्रे गरिएको टरिगाउँ विमान स्थलको धावन मार्गको लम्बाई ७ सय ५० मिटरको छ, भने चौडाई ३० मिटरको मात्रै छ ।

ठूला खाले विमानहरू अवतरणको लागि कम्तिमा पनि धावनमार्गको लम्बाई १ हजार २ सय मिटरदेखि माथि १ हजार ५ सय मिटर सम्मको र चौडाई ३० देखि ५० मिटरसम्मको धावन मार्ग कालोपत्रे आवश्यक पर्छ । हाल एयरपोर्टमा नेपाल एयरलाईन्स र सीता एयरलाईन्सका जहाजले उडान भरिरहेका छन् । हाल शुक्रबार बाहेक सबै दिन टरिगाउँबाट हवाई सेवा छ । शनिबार भने सीता र नेपाल एयरलाईन्सका दुईवटै जहाजले उडान भर्ने गरेका छन् । साभारः अग्रिम साप्ताहिक