उत्पादन प्रणालीका आधारमा वर्ग संघर्ष

आजाद खड्का
समाज रूपान्तरण अभियानमा ईतिहास देखि संघर्ष हुँदै आएको छ । अभियान मुख्यतया मुठ्ठिभर वर्गले राज्यसत्ता मार्फत बहुसंख्यक श्रमजीवि वर्ग माथि अन्यायपूर्ण शासन गरेकोले त्यो वर्गबाट सत्ता खोसेर गरिखाने श्रमजीवि वर्गको हातमा ल्याउनु पर्ने उदेश्य सहित भएको संघर्षलाई कार्ल माक्र्सले वर्ग संघर्षको नामाकरण एवं सिद्वान्त समेत प्रतिपादन गरे । माक्र्सले मानव युग समाजलाई पाँच युगमा व्याख्या गरे । यो उनको द्वन्द्वात्मक भौतिकवादका आधारमा ऐतिहाँसिक व्याख्या थियो । उनले राज्यसत्ताको आधार र उपरिसंरचनाको व्याख्या गर्दै आधार (जग) उत्पादन प्रणाली भएको र उपरिसंरचना :– दर्शन, सिद्वान्त, विचार, सरकार,सेना, प्रहरी–प्रशासन, संविधान–कानुन अदालत, जेल, सदन, संवैधानिक आयोग, राजनीतिक दल, धर्म, भाषा, संस्कृति, शिक्षा, साहित्य–कला आदि बताए । हामीले आज राज्यसत्ताको आधार उत्पादन प्रणालीका बारेमा चर्चा गरौं ।

– उत्पादन प्रणाली भनेको के हो ?
उत्पादन प्रणाली भनेको उत्पादन गर्ने विधि वा तरिका हो । यसमा स्वामित्व, उत्पादनबाट हुने मानविय सम्बन्ध, वितरण प्रणाली आदि जोडिएको हुन्छ । अझ स्पष्टरूपमा भन्नू पर्दा उत्पादन सम्बन्ध र उत्पादक शक्तिको कुल योगफल उत्पादन प्रणाली हो । यति भनिसकेपछि उत्पादन प्रणाली बुझ्न उत्पादन सम्बन्ध र उत्पादन शक्तिका बारेमा जान्न र बुझ्न अनिवार्य हुन्छ । उत्पादन प्रणालीको ज्ञान प्राप्तिपछि मात्र राज्यसत्ता वा व्यवस्थाको सहि छनौट गर्न सक्छौं ।

यहाँ के कुरामा स्पष्ट हुनु पर्दछ कि यो सबै संघर्ष वा बहस मानवले र मानव समाजका लागि गरेको हो । मानव चेतनशील प्राणी हुदैनथ्यो वा पशुजगतबाट अलग र माथि हुदैनथ्यो भने प्रकृतिले गरिदिएको उत्पादनको प्रयोगमाथि संघर्ष गर्ने, जसले जित्छ खाने, नजिते भोकै मर्ने तर आफुले उत्पादन नगरी बस्नुको विकल्प हुदैन थियो । मानव पशुजगतबाट अलग भयो । आफुलाई पशु भन्दा उच्च चेतनाद्वार सु–सज्जित, विकास र परिमार्जन ग¥यो । आफै र आपसी संघर्षको माध्यमबाट प्रकृतिको उत्पादन बाहेक आफै पनि उत्पादन, विकास र परिमार्जन गर्छ । मानवले भौतिक र बौद्विक श्रम गर्ने भएकाले मानिसको बाहेक अरूको संस्कृति हुदैन ।

(क) उत्पादक शक्ति
उत्पादक शक्तिका दुई आयाम हुन्छन् ।
– पहिलो आयाम : उत्पादक शक्तिको पहिलो मुख्य र निर्णायक आयम भनेको मानविय श्रम हो । मानविय श्रम भन्नाले मानिसले गर्ने विभिन्न भौतिक श्रम (शरिरद्वारा गरिने काम) र त्यसकालागि प्रयोग गरिने बौद्विक श्रम (मानविय चेतना) हो ।
– दोस्रो आयाम : उत्पादक शक्तिको दोस्रो आयाम भनेको उत्पादनका साधन हो । उत्पादनको साधन पनि दुई तत्वले बनेको हुन्छ ।
– एउटा तत्व भनेको उत्पादनको वस्तु हो । त्यसमा जमिन, फ्याक्ट्री, कम्पनी अफिस वा बैंक अफिसहरू हुन् ।
– दोस्रो तत्व भनेको उत्पादनका वस्तुमा माल उत्पादनका लागि प्रयोग गरिने औजारहरू हुन् । जस्तैः जमिनमा जोतिने हलो, ट्याक्टर, फ्याक्ट्रीमा प्रयोग गरिने मेसिन, कम्पनी वा बैंकहरूमा प्रयोग गरिने टेक्नोलोजी (विज्ञान र प्रविधी) आदि हतियारहरू हुन् ।
यहि उत्पादनको वस्तु, त्यसमा प्रयोग गरिने औजारहरू मिलेर उत्पादनका साधन बनेको हुन्छ, भने ती साधन चलाउने मानविय श्रम मिसाएर त्यसको कुलयोगफललाई उत्पादक शक्ति भनिन्छ । यी मध्य मानिस वा उसको श्रम मुख्य र निर्णायक हुन्छ ।
(ख) उत्पादन सम्बन्ध
उत्पादन सम्बन्धका तीन आयामहरू
– स्वमित्वको स्वरूप
– मानविय सम्बन्धको रूप
– वितरणको स्वरूप हुन् ।
यी तीन आयामहरूको कुल योगफल उत्पादन सम्बन्ध हो ।
– स्वामित्वको रूपः जस्तो कि एक विघा खेतमा ६० मुरी धान फल्छ । धान उत्पादनको माल हो । धान उत्पादन भएको खेत उत्पादन वस्तु हो । धान उत्पादनका लागि प्रयोग गरिएका हतियारहरू उत्पादनका औजारहरू हुन् । ती उत्पादनका वस्तु (खेत) मा काम (मानविय श्रम) गर्नेहरू किसानहरू हुन् । उत्पादनका साधन–उत्पादनका वस्तु (जमिन) र उत्पादनका औजार (कुटो, कोदालो, ट्याक्टर आदि) मा मालिक (जमिन्दार) को एकल स्वामित्व हुन्छ ।

– मानविय सम्बन्धनः उत्पादन सम्बन्धमा जोडिएका मानिसहरूका बिचको सम्बन्धलाई मानविय सम्बन्ध भनिन्छ । जस्तो कि मालिक र किसान बिचको सम्बन्ध नै मानविय सम्बन्ध हो । उत्पादनका साधन माथि मालिकको स्वामित्व हुन्छ । उत्पादनको साधन–वस्तु र औजारहरू परिचालन किसानले गर्छन् ।

– वितरणको स्वरूपः उत्पादनसंग जोडिएका मानिसहरू बिच उत्पादन गरिएको माल (धान) को वितरण प्रक्रियालाई वितरणको स्वरूप भनिन्छ । जस्तैः उत्पादनका साधन माथि स्वामित्व कायम गरेर मालिक वर्ग बसेको हुन्छ । उत्पादनका साधनको परिचालन, विकास र मानवियश्रम किसानले गर्छन् । परिणाम स्वरूप उत्पादित माल (धान) मालिकले आदा र किसानले आदा वितरण गर्छन् । यसैलाई अन्यायपूर्ण र असमानतामा आधारित वितरणको स्वरूप भनिएको हो । यसलाई उत्पादन सम्बन्ध भनिन्छ । यहि उत्पादन सम्बन्ध र उत्पादक शक्ति मिलाएर अथवा यसको कुल योगफल उत्पादन प्रणाली हो ।


कार्ल माक्र्सले यहि उत्पादन प्रणालीका आधारमा कुन व्यवस्था ठिक र कुन व्यवस्था बेठिक भनेर छुट्याउनु पर्ने बताए । उनले उत्पादनका साधन माथि श्रमजीवि वर्गको स्वामित्व भएमा उत्पादनको मालमा पनि श्रमजीवि वर्गकै स्वामित्व हुन्छ । उत्पादित माल माथि श्रमजीवि वर्गको स्वामित्व कायम भए मानविय सम्बन्ध पनि वर्गभेदमा आधारित नहुने र उत्पादित मालको वितरणको स्वरूप न्यायपूर्ण र समानतामा आधारित हुने बताए । माक्र्सको काल औद्योगिक पुँजीवाद काल थियो ।

पुँजीवादी उत्पादन प्रणालीको कडा आलोचना गर्दै माक्र्सले सामाजिक स्वामित्व सामाजिक मानविय सम्बन्ध सहितको न्यायपूर्ण र समानतामुलक वितरणको स्वरूप हुनुका साथै उत्पादनका साधनहरू माथि श्रमजीवि वर्गको स्वामित्व रहने समाजवाद उत्पादन प्रणालीमा मात्र संभव हुने हुदा त्यस्तो उत्पादन प्रणाली कायम हुने व्यवस्थाको नाम वैज्ञानिक समाजवाद राख्नु पर्ने बताए । माक्र्सले कुनै पनि व्यवस्था(राज्यसत्ता) उत्पादन प्रणालीका आधारमा चल्ने र उत्पादन प्रणाली शासक वर्गको हितमा बनेको बताए । उनले आदिम साम्यवादमा मानव पशुजगतबाट अलग भए प्रकृतिको उत्पादनमाथि मात्र निर्भर नभई आफ्नै कृतिम उत्पादन गर्न समेत सुरू गरेको बताए ।

मानव चेतनामा भएको वृद्वि संगै जनसंख्यामा पनि वृद्वि भएको तर त्यसको अनुपातमा औजारहरूको प्रयाप्त विकास गर्न नसकेकाले प्राकृतिक र कृतिम दुवै तरिकाले भएको/गरिएको उत्पादनको मालको अभावको वस्तुगत अवस्थाले सामुहिक–श्रम, स्वामित्व, सम्बन्ध र वितरणको स्वरूपको निर्माणको बदलामा एकल परिवार, निजि सम्पतिको अवधारणाको विकास भयो । त्यहि निजि सम्पत्तिको रक्षाको लागि वलपूर्वक शासन गरेको वर्गले राज्यसत्ताको निर्माण ग¥यो । त्यहि भएर पटक–पटक व्यवस्था बदलिएर पुरानो भन्दा नयाँ थप विकसित र लोकतान्त्रिककरण भएता पनि दास मालिक, सामन्तवादी र पुँजीवादी व्यवस्थाको उत्पादन प्रणालीमा एकल निजी स्वामित्व, वर्गिय मानव सम्बन्ध र असमान वितरणको स्वरूप कायम भयो ।

त्यसकारण राज्यसत्ताको आधार त्यस व्यवस्थामा प्रयोगमा ल्याईएको उत्पादन प्रणाली हुन्छ । उत्पादन प्रणालीका आधारमा निर्माण, परिचालन र परिमार्जन गरिएको राज्यसत्ताले आफ्नो रक्षाका लागि उपरिसंरचना – दर्शन, सिद्वान्त, विचार, सेना–प्रहरी–प्रशासन, संविधान–कानुन–नियम, अदालत,सदन, जेल, शिक्षा, भाषा, धर्म, संस्कृति, साहित्य–कला आदि निर्माण गरेको हुन्छ । आधारको रक्षाका लागि अनुकुल भएर परिचालन हुन्छ/गर्छ ।

त्यसकारण बसिखाने वर्गको राज्यसत्ताको जरोको रूपमा रहेको पुँजीवादी उत्पादन प्रणाली पल्टाउन गरिखाने वर्गले तयारी गर्दा राज्यसत्ताले आफ्नो सम्पूर्ण उपरिसंरचनाहरू परिचालन गर्छ । गरिखाने वर्गको समाज बदल्ने आन्दोलनमा बसिखाने वर्गले राज्यसत्ता मार्फत दमन गर्छ । गरिखाने वर्गले परिवर्तनका लागि दमनको प्रतिरोध गर्छ र प्रतिरोध आन्दोलनमाथि राज्यसत्ताले रक्तपातपूर्ण नरसंहार गर्छ ।

यहि नरसंहारमा नेपालमा सामन्तवादी राज्यसत्ता पल्टाएर पुँजीवादी राज्यसत्ता ल्याउन श्रमजीवि वर्गले नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्व गर्दा करिव १७ हजार मध्य, करिब साढे १२ हजार राज्यको रक्तपातपूर्ण नरसंहारमा ज्यान गुमाएका हुन् भने बाँकि करिब साढे १२ हजार मानिस माओवादी नेतृत्वमा जनताको प्रतिरोधपूर्ण संघर्षमा मारिएका हुन् । यहि एउटा वर्ग अर्काे वर्गका विरूद्व राज्यसत्ताका लागि गरिने संघर्षलाई वर्ग संघर्ष भनिन्छ । कार्ल माक्र्सको वर्ग संघर्षको सिद्वान्त यसैमा आधारित छ । राज्यसत्ता र वर्ग संघर्षलाई बुझ्न उत्पादन प्रणालीबारे ज्ञान हुनु अनिवार्य छ । साभारः अग्रिम साप्ताहिक