लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते

दाङ
२१ साउन / लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ (३) बमोजिम साउन २७ गते १ बजे प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।

अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १८ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।


यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको माग गरेका थिए।