विप्लवसहित ६ पार्टीद्वारा भोलि ‘नेपाल बन्द’को घोषणा

काठमाडौ १५ फागुन ।

६ साना कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठक सम्पन्न भएको छ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गरिन लागेको बिषयमा छलफल गर्न बसेको बैठकले आकस्मिक रुपमा भोलि ‘नेपाल बन्द’को कार्यक्रम घोषणा गरेको छ।

विप्लव नेकपा सहित ६ कम्युनिष्ट पार्टीले विगतदेखि नै एमसीसी विरुद्ध आन्दोलन गर्दै आएका छन्।


आज साँझ विप्लव नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको र यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले भोलि १६ गतेका लागि सशक्त नेपाल बन्द घोषणा गरिएको उल्लेख छ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको आकस्मिक बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौँमा बस्यो । नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको छ । यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले विषयको यही संवेदनशीलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले तत्कालिक जनसङ्घर्षको कार्यक्रम घोषणा गरेका छौँ । यसलाई पूरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरूलगायत आम जनसमुदायमा विनम्र अनुरोध गर्दछौं । साथै आज एमसीसीविरुद्धको आन्दोलनमा घाइते सम्पूर्ण देशभक्त योद्धाहरूको स्वास्थ्यलाभको कामना गर्दछौँ ।’