
तुल बहादुर कवँर मगर
दाङ,१३ भदौ।
बिहानको समय राप्ती गाउँपालिका–६ का वडा अध्यक्ष दिपककुमार चौधरीका लागि जनप्रतिनिधिको औपचारिक जिम्मेवारी सुरु हुनुअघिको आफ्नै कर्मभूमि हो। वडा कार्यालयतर्फ निस्कनुअघि उहाँ घरआँगनमा पालिएका हाँस, कुखुरा र बधिया भालेलाई दाना–पानी खुवाउनुहुन्छ, खोर सफा गर्नुहुन्छ र पशुपन्छीको अवस्थाबारे जानकारी लिनुहुन्छ। साँझ कार्यालयको काम सकेर घर फर्किएपछि पनि यही दैनिकी दोहोरिन्छ।
जनताको सेवा,विकास निर्माणका योजना कार्यान्वयन र स्थानीय आवश्यकता सम्बोधन गर्ने नीति निर्माण
गर्ने जिम्मेवारीसँगै चौधरी पछिल्लो समय कृषि तथा पशुपालनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। आफ्नै घरमा उहाँले स्थानीय जातका भाले पालेर बधिया बनाउनेदेखि विभिन्न जातका हाँस तथा स्थानीय जातका कुखुरा पालन गर्दै आउनुभएको छ।
जनप्रतिनिधिको व्यस्त दैनिकीका बीच कृषि कर्मलाई निरन्तरता दिँदै उहाँले श्रम र उत्पादनलाई व्यवहारमै जोड्नुभएको छ।
उहाँको घरमा स्थानीय जातका कुखुरा सँगै खाकी क्याम्पबेल, मस्कोभी र कायूगा जातका हाँस छन्।
अण्डा तथा मासु उत्पादनका लागि पालिएका कुखुरा र हाँसबाट उत्पादन भएको अण्डा र मासु स्थानीय बजारमा बिक्री हुनुका साथै पोखरा र काठमाडौंसम्म पठाउने गरिएको छ। बजारको माग र उत्पादनको सम्भावना देखेपछि चौधरीले पशुपंक्षीपलनलाई विस्तार गर्ने योजनासमेत बनाउनुभएको छ।
स्थानीय जातका भाले बधिया बनाएर बिक्री गर्दा पनि राम्रो आम्दानी हुने उहाँको अनुभव छ। बधिया भाले तयार हुन कम्तीमा ६ महिना लाग्छ। करिब ६ महिनापछि तयार हुने एउटा बधिया भाले ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको चौधरी बताउनुहुन्छ।
पशुपालनमा चौधरीलाई परिवारका सदस्यले समेत साथ दिँदै आएका छन्।पशुपन्छीलाई दाना–पानी दिने, खोर सफा गर्ने तथा हेरचाह गर्ने काममा परिवारका सदस्यको समेत सहयोगले सहज भएकोे उहाँको भनाइ छ।
जनप्रतिनिधिको जिम्मेवारी, कार्यालयको काम र पारिवारिक दायित्वका बीच समय व्यवस्थापन गर्दै उहाँले कृषि कर्मलाई आफ्नो नियमित दिनचर्याको हिस्सा बनाउनुभएको छ।
चौधरीका लागि कृषि तथा पशुपंक्षीपलन अतिरिक्त आम्दानीको माध्यम मात्र होइन, किसान र युवालाई उत्पादनसँग जोड्ने व्यवहारिक अभियान पनि हो। आफूले कृषि कर्म गरेर देखाएपछि मात्रै अरूलाई उत्पादनमा लाग्न प्रेरित गर्न सकिने उहाँको बुझाइ छ।
“कृषि तथा पशुपालनलाई आम्दानीको भरपर्दो स्रोत बनाउन सकिन्छ। स्थानीयस्तरमै उत्पादन बढाउनुपर्छ भन्ने सन्देश दिन पनि मैले आफैँ कृषि कर्म गरिरहेको हुँ,” चौधरी भन्नुहुन्छ, “जनप्रतिनिधिले किसानलाई कृषि गर्न आग्रह गर्ने मात्र होइन, आफू पनि उत्पादनमा जोडिनुपर्छ भन्ने मेरो सोच हो।”
व्यस्त दैनिकीका बीच पनि इच्छाशक्ति र समय व्यवस्थापन गर्न सके कृषि तथा पशुपालन सम्भव रहेको उहाँको अनुभव छ। ठूलो लगानी र ठूलो संरचनाबाटै सुरु गर्नुपर्छ भन्ने नभई घरमा उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै सानो स्तरबाट सुरु गरेर क्रमशः विस्तार गर्न सकिने उहाँ बताउनुहुन्छ।
“बिहान र साँझ केही समय पशुपालनका लागि छुट्याउँदा पनि उत्पादन गर्न सकिन्छ। यसबाट परिवारको आम्दानीमा सहयोग पुग्नुका साथै आफूले गरेको मेहनतको प्रतिफल पनि प्राप्त हुन्छ,” उहाँले भन्नुभयो।
स्थानीय बजारसँगै पोखरा र काठमाडौंसम्म उत्पादन पठाउन थालेपछि पशुपंक्षपालनमा बजारको सम्भावना फराकिलो देखिएको चौधरीको अनुभव छ। बजारको मागअनुसार उत्पादन बढाउन सके पशुपंक्षीपालनलाई थप व्यावसायिक बनाउन सकिने उहाँ बताउनुहुन्छ।
ग्रामीण अर्थतन्त्रमा कृषि र पशुपंक्षीपालनको महत्वपूर्ण भूमिका रहे पनि पछिल्लो समय युवाको ठूलो हिस्सा रोजगारीका लागि बाहिरिने गरेको छ। यस्तो अवस्थामा जनप्रतिनिधि स्वयं उत्पादनमा जोडिँदा त्यसले किसान तथा युवामा सकारात्मक सन्देश प्रवाह गर्ने चौधरीको विश्वास छ। उहाँको कृषि कर्मले ‘उत्पादन गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने सन्देशलाई व्यवहारसँग जोडेको छ।

दिनभर जनताको सेवामा खटिने वडा अध्यक्ष चौधरी बिहान र साँझ भने आफ्नै घरआँगनमा किसानको भूमिकामा देखिनुहुन्छ। जनप्रतिनिधिको जिम्मेवारीसँगै श्रम, उत्पादन र उद्यमशीलतालाई जोड्ने उहाँको अभ्यासले आत्मनिर्भरता भाषणमा मात्र सीमित विषय नभई आफ्नै घरआँगनबाट सुरु गर्न सकिने सन्देश दिएको छ।



लाइभदाङ । १३ भाद्र २०८३, शनिबार २१:३६ बजे