शिक्षा अधिकृत माथि मोविल खन्याउने जनप्रतिनिधिलाई कारवाहीको माग

घोराही,२६ असार । दाङ दाङको घोराहीमा विद्यालय व्यवस्थापन समिति गठनका लागि खटिएका एक सरकारी अधिकृतमाथि हातपात र दुव्र्यवहार भएको घटनाप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ ।

पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय, भरतपुर घोराही १५ मा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा मतदान अधिकृतका रूपमा खटिएका अजय बोहोरामाथि सोही वडाका निर्वाचित जनप्रतिनिधिले मोविल खन्याएका थिए ।

जारी गरेको प्रेस विज्ञप्ति अनुसार, घोराही उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत बोहोरामाथि वडा नं. १५ का निर्वाचित वडा सदस्य लेखराज बुढाथोकी(उत्तम) ले मोविल खन्याएको भन्दै हदैसम्मको कारबाही गर्न जोडदार माग समेत गरेको छ ।


राष्ट्रसेवक कर्मचारीमाथि हातपात गर्नुका साथै अपमान गर्ने, मोसो दल्ने, मोसो फ्याँक्ने र बोतलले प्रहार गर्ने जस्ता निन्दनीय र आपराधिक कार्य गरेको संगठनका घोराही नगर समिति अध्यक्ष पोषणराज विष्ट, क्षेत्र नं. २ का संयोजक लालमणि खड्का र जिल्ला समिति अध्यक्ष मीनराज शर्माले एक विज्ञप्ति जारी गरि बताए ।

विज्ञप्तिमा भनिएको छ,‘विद्यालय जस्तो शान्तिक्षेत्रको औपचारिक कार्य सम्पन्न गर्न आफ्नो जिम्मेवारीमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि आपराधिक मनसायका साथ सार्वजनिक स्थलमा हिंसाजन्य कार्य गर्ने, शान्ति सुरक्षामा खलल पार्ने र त्रास सिर्जना गर्ने कार्य गरिएको छ ।’

साथै, आगामी दिनमा कुनै पनि विद्यालय र शैक्षिक गतिविधिहरूमा पूर्ण शान्ति सुरक्षा कायम गर्न तथा शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरूको सुरक्षाको ग्यारेन्टी गर्न सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएको छ ।