आज पूर्वी क्षेत्रमा बढी वर्षा, साँझदेखि मौसममा सुधार हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमबाट प्रवेश गरेको न्यूनचापीय प्रणाली पूर्वतर्फ सर्दै गएको छ । शनिबार पश्चिमतर्फ वर्षा कम र पूर्वी क्षेत्रमा बढी वर्षा हुने अनुमान छ । ‘पश्चिम नेपालमा क्रमशः मौसममा सुधार हुँदै गएको छ । शनिबार दिउँसो काठमाडौंमा बदलीसँगै हल्का वर्षा हुन सक्छ । तुलनात्मक रूपमा पूर्वमा धेरै वर्षा हुन्छ,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘शनिबार साँझबाट देशभर मौसममा सुधार हुँदै जानेछ ।’

शनिबार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

हिउँदको उत्तरार्धमा देशभर वर्षा र हिमपात
बुधबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीले शुक्रबार देशभर वर्षा भयो । पश्चिमी क्षेत्रमा खोलामा बाढी नै आउने गरी वर्षा भएको छ । काठमाडौं उपत्यकासहित देशका सबैजसो हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । तराईमा असिनापानी र चट्याङ परेको छ ।

बिहीबार रातिबाट देशभर फैलिएको पश्चिमी वायुले शुक्रबार सबैभन्दा धेरै बाँकेको नेपालगन्जमा ६४.८ मिलिमिटर वर्षा गराएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४१.९ मिलिमिटर वर्षा भएको छ । सुदूरपश्चिम र कर्णालीसँगै लुम्बिनीका पश्चिमी भूभागमा धेरै वर्षा भएको छ । त्यसपछि गण्डकी र बागमती प्रदेशमा बढी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


पछिल्लो २४ घन्टामा वीरेन्द्रनगरमा ५२.२, जुम्लामा ५०.७, दिपायलमा ४८.६, भैरहवामा ३०.९, पोखरामा २९.६, सिमरामा २८.७, ओखलढुंगामा २२.६, जनकपुरमा १८.४, धनकुटामा ११.६ र विराटनगरमा ७.६ मिलिमिटर वर्षा मापन भएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार १ पुसयता मात्रै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गरेको आठौँपटक हो । हिउँदे झरी परेको भने पाँचौँपटक हो । यसपटकको पश्चिमी न्यूनचापीय प्रणालीले पाकिस्तान र दिल्लीमा पनि असर पारेको छ ।