चारलेन सडक निर्माणकालागि विद्युत पोल हटाइदै  

दाङ,११ चैत ।
दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणकालागि गुर्जेखोलादेखि बेलझुण्डी सम्मका पोल हटाईएको छ । नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्र अन्तर्गत पर्ने सोही क्षेत्रमा पोल हटाएर चारलेन निर्माणको कामलाई अघि बढाईएको छ । हाल घोराहीको सर्रादेखि घोराही बजारसम्मको पोल निकाल्ने काम भइरहेको छ । अबको केही समयमा घोराही कार्यक्षेत्रका सबै पोल हटाउने गरि तयारी थालिएको नेपाल वितरण केन्द्र घोराहीका साइड इन्चार्ज भुपेन्द्र बाँठाले बताए ।“सर्रा क्षेत्रमा फिजिकल भेरिफिकेशन गर्ने कार्य भइरहेको छ”,उहाँले भन्नुभयो“त्यसपछि सर्रादेखि घोराहीसम्मका पोल निकाल्छौं ।” घोराहीदेखि बेलझुण्डीसम्म साढे ४ सय बढि पोल निकाल्नु पर्नेछ ।
साइड इन्चार्ज बाँठाका अनुसार चारलेन अन्तर्गत घोराही विरतणको क्षेत्र तुलसीपुर १८ को बेलझुण्डीसम्म पर्छ । बेलझुण्डीदेखि तुलसीपुरसम्मको कार्यक्षेत्र भने तुलसीपुर वितरण केन्द्रको पर्ने गर्छ । तुलसीपुर क्षेत्रमा पनि तीन सय भन्दा बढि पोल निकाल्नु पर्नेछ । तुलसीपुर क्षेत्रका पनि अबको केही समयमा निकाल्ने तयारी रहेको छ । उक्त सडक खण्डमा ११ केभि र ३३ केभि लाईन रहेका छन् ।त्यसकालागि कार्यालयको आदेश आइसकेको डिभिजन सडका कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर विष्टले बताए । साथै सडक बीचमा पर्ने ५९ वटा रुख पनि हटाउने प्रक्रिया अघि बढेको छ । ति रुखहरुमा छपान गर्ने  (चिन्ह लगाउने) काम भइसकेको उनले बताए ।अबको केही समयमा रुख पनि हटाउने काम हुने प्रमुख विष्टले बताए ।
हाल चारलेनमा वाल निर्माण, कल्भर्ट निर्माण, माटो कटानको काम जारी छ । श्री दिवा–बन्दना भगवती जेभिले सडक स्तरबृद्धिको काम गरिरहेको छ । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चारलेन बनाइने गरि सम्झौता भई काम अघि बढेको हो । उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्रे हुनेछ, भने चौडाइ चार लेनको हुनेछ । बीचमा बीचमा मेडिएन र दुबैतर्फ २/२ लेनको हुने उनले बताए । जसमा बजार क्षेत्रमा फुटपाथ सहितको चारलेन हुनेछ, भने अन्य स्थानमा चारलेन मात्रै हुनेछ ।सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रेको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रेको काम सुरु हुनेछ । सडक सुधार आयोजना अन्तर्गत मदन भण्डारी सडक मार्ग परियोजना अन्तर्गत ठेक्का सम्झौता भएको थियो । तर, निर्माणको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाई ३० मिटर हुनेछ ।
सडक अस्फाल्ड प्रबिधिबाट कालोपत्रे हुनेछ । जसमा ढुंगा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्रे गरिनेछ । यसले सडकलाई थप मजबुत बनाउनेछ । सम्झौता भएको मितिले ३६ महिनामा सक्ने गरि सम्झौता भएको सडक डिभिजन कार्याल दाङका प्रमुख दिपेन्द्र बहादुर विष्टले बताए ।गएको २४ असारमा  भ्याट बाहेक २ अर्व २४ करोड ५६ लाखमा उक्त सडक चारलेनको काम हुन लागेको हुन् ।सोही सडक चारलेन बनाउनकालागि यस अघिको निर्माण कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरिएको थियो ।
ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो । तत्कालिन अबस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति  निर्णयानुसार ३ करोड ९९ लाख ४९ हजारको बहुवर्षीय  ठेक्का गर्ने सहमति भएको थियो । सोही अनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडकबीचमा पर्ने  सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणकालागि प्रक्रिया अघि बढिसकेको छ ।