
तुलसीपुर, ३१ भदौ ।
जेनजीको आन्दोलनको क्रममा तुलसीपुरमा सरकारी तथा निजि सम्पत्तिमा क्षति पुगेकोले तत्काल पुनर्निर्माणमा जुट्नुपर्ने सरोकारवालाले बताएका छन् । तुलसीपुर उपहानगरपालिकामा मंगलबार भएको सर्बदलिय तथा सर्वपक्षिय बैठकमा सरोकारवालाले क्षति पुगेका संरचनाको निर्माण र सेवाप्रवाहलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले भौतिक संरचनामा ठुलो क्षति पुगेपनि पाल टाँगेर भएपनि सेवाप्रवाह शुरु गरिएको बताउनुभयो । उहाँले जेनजीको आन्दोलनमा तुलसीपुर उपमहानगरपालिकाका दुई वटै भवनमा क्षति पुगेको बताउनुभयो ।
उहाँले उपमहानगरपालिकाको नयाँ व्यापारिक भवनलाई मर्मत गरेर सेवा प्रवाह गर्न सकिने बताउनुभयो । उहाँले आन्दोलनका क्रममा लगेका सामान फिर्ता गर्न आग्रह समेत गर्नुभएको छ ।
ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख महेश गुरुङले आगलागीबाट सबै सामान जलेको हुँदा तत्काल सेवा प्रवाह गर्न नसकिएको बताउनुभयो । उहाँले स्थानीय सरकारले आवश्यक सहयोग गरेमा सेवाप्रवाह शुरु गर्न सकिने बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले जेनजीको आन्दोलनको क्रममा निजि व्यवसायमाथि पनि आक्रमण तथा क्षति पुगेको बताउनुभयो । नेपाली कांग्रेसका नेता सुरेश हमालले आन्दोलनमा सरकारी तथा नीजि सम्पतिमाथि आक्रमण हुन दु:खद भएको बताउँदै अब पुननिर्माणमा जुट्नुपर्ने बताउनुभयो । उहाँले नेताले गल्ती कमजोरी, भ्रष्टाचार गरेको भए कानुनी उपचार खोज्नुको साटो घर जलाउँदै हिड्नु दुःखद पक्ष रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष मोहन थापाले देशको सम्पतिमाथि क्षति पुग्नुले हामी नै पछि धकेलिनु रहेको बताउनुभयो । उहाँले वास्तविक जेनजीको आन्दोलनमा घुसपैठ भएको र अब निर्माणमा सबै जुट्नुपर्ने बताउनुभयो । नेकपा एमालेका मानबहादुर केसी आउने दिनमा घटना दोहोरिन नदिने गरि काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेतृत्वको कमजोरीका कारण आजको परिस्थिति सिर्जना भएको र नसच्चिएमा यो भन्दा झन बढी क्षेति बेहोर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले आन्दोलनबाट अनपेक्षित नतिजा बेहोर्नुपर्ने स्थिति सिर्जना भएको बताउनुभयो । उहाँले गलत कार्यमा महासंघमा आवद्ध कोहि पनि सदस्य संलग्न भएको देखिएमा संस्थागत हिसाबले कार्वाही गर्ने बताउनभुयो ।
राष्ट्रिय शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका अध्यक्ष खेमराज वलीले जेनजीको आन्दोलनको क्रममा खानेपानी संस्थामा समेत क्षति पुगेको बताउनुभयो । उहाँले क्षति पुगेका संरचना निर्माणमा सबै जुट्नुपर्ने बताउनुभयो ।



लाइभदाङ । ३१ भाद्र २०८२, मंगलवार २२:११ बजे