
दीपक बोहरा
तुलसीपुर, १४ वैशाख ।
आँखाबाट बरबर खुसीका आँसु झरिरहेका थिए । छोराछोरीले एक हातमा लड्डु र अर्को हातले टिका अनि खादा लगाउँदै गर्दा आमाका हातले पुछिरहेका ति आँसुमा खुसी झल्को प्रष्टै देखिन्थ्यो ।
एक जना विद्यार्थी र एक आमा मात्रै होईन्, सयौं छोराछोरी र सयौं आमाहरु एउटै थलोमा हुँदा त्यसले भावुकता मात्रै होईन्, नयाँ सन्देश प्रवाह गरेको थियो । माता तीर्थ औशीको अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित डिभाईन टेम्पल एकाडेमीमा अध्ययनरत विद्यार्थीहरुका आमाहरुलाई सम्मान कार्यक्रमले विद्यार्थीहरुलाई संस्कार समेत सिकाएको थियो ।
विद्यार्थीहरुलाई शिक्षा मात्रै नभई संस्कार दिनुपर्ने अहिलेको अपरिहार्य आबश्यकता भएको भन्दै सबै विद्यार्थी र उहाँहरुका आमालाई बोलाएर सम्मान गरिए विद्यालयका सस्थापक भोजराज न्यौपानेले बताए । जहाँ विद्यार्थी आफैले आमालाई खादा,माला टिका लगाईदिएका थिए, भने आफ्नै हातमा मिठाई पनि खुवाएका थिए ।“अब किताबी ज्ञानले मात्रै पुग्दैन, हामीले शिक्षा भनेको किताबी ज्ञान मात्रै भन्छौं”,उनले भने “तर, त्यो मात्रै होइन्, हामीले विद्यालयबाट दिने भनेको संस्कार पनि हो ।”



संस्कारको खडेरी परिरहेको अबस्थामा विद्यालयले यस्ता कार्यक्रमलाई जोड दिनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेले बताए ।“संस्कारको खडेरी छ, अहिले आफू भन्दा ठूलालाई कसरी सम्मान गर्ने, आमा वुवालाई कस्तो ब्यबहार गर्ने भन्ने कुरा पनि विर्सिदै जाने अबस्था छ”,उनले भने “सन्तानकालागि आमावुवाले गरेको त्याग, तपस्यालाई बुझ्न यस्ता कार्यक्रमलाई जोड दिनुपर्छ ।”
प्रबिधिको विकास तिब्र रुपमा भएको अबस्थामा मानिशमा सामाजिक भावना विस्तारै घट्दै गइरहेको भन्दै यस्ता कार्यक्रमले मानिशलाई सामाजिक बनाउने अधिकारकर्मी शुष्मा लामिछानेले बताए । पछिल्लो समय मानिशमा सामाजिक भावना हराउदै जान थालेको छ, झन पछि यो भयाबह हुँदै जाने हो की भन्ने डर छ”,उनले भने “यस्ता कार्यक्रमले मानिशको सामाजिक संस्कार सिकाउन आबश्यक हुन्छ ।” करिब सातसय बालबालिकाका आमाहरु विद्यालयमा पुगेर सम्मान थापेका थिए ।
विद्यालयका योग शिक्षक माधवा शर्मा पोख्रेलले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण भाइस प्रिन्सिपल महेश लामिछानेले गरेका थिए । विद्यालयले संस्कारमुखी कार्यक्रम गर्दै आएको छ ।
लाइभदाङ । १४ बैशाख २०८२, आईतवार २२:३३ बजे