
घोराही, १७ फाल्गुन ।
गुरुकुल एकेडेमी घोराहीको आयोजनामा कक्षा २ का विद्यार्थीहरुको २ दिने बन्द शिविर सम्पन्न भएको छ। विद्यार्थीहरुको समग्र विकासमा योगदान पुर्याउनु र उनीहरुलाई मानसिक, शारीरिक र शैक्षिक दृष्टिकोणले सशक्त बनाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको विद्यालयले बताएको छ । गुरुकुल एकेडेमीका अध्यक्ष ई.अनन्तराज घिमिरेको अध्यक्षतामा भएको बन्द शिविर समापन कार्यक्रको प्रमुख अतिथिको रूपमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदी रहनुभएको थियो।
कार्यक्रमको पहिलो दिन विद्यार्थीहरुलाई शारीरिक र मानसिक विकासका विभिन्न विधिहरुमा सहभागी गराइएको थियो भने कार्यक्रमको सुरवात योगाभ्यास र ध्यानबाट गरिएको थियो, जसले विद्यार्थीहरुलाई आन्तरिक शान्ति र फोकस बढाउन मद्दत पुर्याएको थियो । विद्यार्थीहरुलाई शारीरिक फिटनेसका लागि खेलकुद र शारीरिक अभ्याससंगै उनीहरुको समग्र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्य राखेको थियो।शिविरको दोस्रो दिन शैक्षिक गतिविधिहरुमा फोकस गरिएको थियो।
विद्यार्थीहरुलाई समर्पित कार्यशालामा विभिन्न प्रकारका रचनात्मक अभ्यास र खेलमाध्यमबाट पढ्न र लेख्नका दक्षताहरु सुधार गर्नका लागि गतिविधिहरु सञ्चालन गरिएको हो। त्यस्तै, उनीहरुलाई समूह कार्य र टीमवर्कको महत्व पनि बताइएको थियो। यसै क्रममा विद्यार्थीहरुलाई व्यक्तित्व विकासका विषयमा पनि जानकारी गराइएको थियो जसमा आत्मविश्वास बढाउने, संवाद क्षमता सुधार्ने र सकारात्मक सोच राख्ने सम्बन्धी छलफल गरेको थिय ।
कार्यक्रमको समापनमा प्रमुख अतिथि सन्तोष सुबेदीले भने “शिक्षा भनेको मात्र पुस्तक पढ्नु होइन, यो जीवनको हरेक पाटोमा दक्षता हासिल गर्ने प्रक्रिया हो। यस शिविरले विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपले सशक्त बनाउन मद्दत गरेको छ।”
कार्यक्रमका अध्यक्ष ई.अनन्तराज घिमिरेले, “हामी यहाँ पाठ्यपुस्तकमा मात्रै केन्द्रित नभएको र विद्यार्थीहरूको समग्र विकासको लागि आफुले यस शिविरमा शारीरिक, मानसिक र सामाजिक पक्षलाई पनि जोड दिएको बताउनुभयो। यस्ता कार्यक्रमले हाम्रो विद्यालयको शैक्षिक स्तरलाई पनि उकास्ने छ,” उहाले भन्नु भयो ।
यस अवसरमा विद्यालयका शिक्षक, शिक्षिकाहरु र अभिभावकहरुको समेत उपस्थिती रहेको थियो। कार्यक्रमको समापनमा सबै सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरीएको हो । विद्यार्थिहरुले आफ्ना अभिभावकलाई २ दिन सम्म बन्द शिविरमा गरेका क्रियाकलापको बारेमा जानकारी गराएका थिए । गुरुकुल एकेडेमीले यस प्रकारका कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुको शारीरिक र मानसिक विकासमा जोड दिन जारी राख्ने प्रतिबद्धता जनाएको छ।
बन्द शिविरमा घोराही उपमहानगरपालिकाका उप प्रमुख हुमा डिसि , शिक्षा प्रेमि तथा समाजसेवि इन्द्र कुमार वली र भारतिय कमान्डो प्रशिक्षक बेचन वलीले विद्यार्थिहरुको कृयाकलापको अवलोकन गर्नुभएको थियो । सो अवसरमा विद्यार्थिहरुसं अन्तरकृया समेत गरीएको थियो ।
कार्यक्रममा गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी, अन्तराष्ट्रिय शिक्षक म्यारी लु, अभिभावक लगायतले बोल्नु भएको थियो ।मन्टेस्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण शिक्षीका रेशु राउतले गर्नुभएको थियो ।



लाइभदाङ । १७ फाल्गुन २०८१, शनिबार १८:४८ बजे