तुल बहादुर कवँर मगर
सिसहनियाँ, १९ मंसिर ।
दाङको राप्ती गाउँपालिका अन्तर्गत राजमार्ग क्षेत्रमा रहेका होटलहरुको मंगलबार राती छड्के अनुगमन गरिएको छ। राप्ती गाउँपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको संयुक्त टोलीले वडा नम्बर १ को भालुबाङ देखि वडा नम्बर ५ को पहड्वा सम्म रहेका आधा दर्जन बढी होटलहरुको छड्के अनुगमन गरेको हो ।
अनुगमनको क्रममा होटलहरूको सरसफाइ, खाद्य वस्तुको म्याद, गुणस्तर ,भण्डारण,मूल्य सुची,दर्ता नवीकरणको अवस्था लगायतको बारेमा अनुगमन गरिएको थियो।
विशेषगरी उपभोक्ताहरुको स्वास्थ्यको ख्याल गर्दै लामो यात्राका यात्रुहरूले खाना खाने होटलहरुको अनुगमन गरिएको राप्ती गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा सरसफाइ तथा अन्य कमीकमजोरी देखिएका होटलका सञ्चालकहरुलाई तत्काल सुधार गर्नका लागि आवश्यक सल्लाह सुझाव प्रदान गर्नुका साथै उपभोक्ताहरूलाई सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बरालले जानकारी दिनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक कमलापती चौधरीको नेतृत्वको अनुगमन टोलीमा पालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बराल, खाद्य निरीक्षकहरु सुदर्शन गोसाई,विवेक कुमार सुवेदी इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौेकी मसुरियाका प्रहरीहरुको सहभागिता थियो ।
लाइभदाङ । १९ मंसिर २०८१, बुधबार ०८:५५ बजे