डिल्लीराज भुसाल
नेपाली समाजमा अहिले एउटा भ्रम छायेको छ कि नेपाल मा केहि छैन सब खत्तम भो बर्बाद भो ,यहाँ बस्नु त आफ्नो भबिस्य मा आफै बन्चरो हान्नु हो जस्तो भास्री हाम्रो समाजमा देखापरेको छ। यो एउटा निकै ठुलो चुनौतीको रूपमा खडा भइ रहेको छ ।यस्तो सोच ले सामाजलाई कता पुर्याउने हो त्यस तर्फ बेलैमा सरोकारवाल निकाय ले ध्यान दिनु पर्दछ।
आज मैले युबा पलायन हुनु मा निम्न कारण लिएको छु।
१ – सरकार :सरकारले प्रत्येक बर्ष नेपाली श्रम बजार मा आउने दक्ष , अर्धदक्ष र अदक्ष जनशक्ति लाई कति रोजगार को ब्यबस्थापन गर्न सकिन्छ त्यसको खाका ल्याउनु पर्दछ ।नेपालमा रोजगारीको सम्भावना नभएकै कारण युवा बिदेसिएका छन् । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने हो भने अधिकांश युवा बिदेसिने थिएनन् । हाम्रा गाउँ–बस्तीहरू युवाविहीन बन्दै गएका छन् । काम गर्ने जनशक्तिको अभावमा हाम्रा कृषियोग्य जमिन बाँझो हुँदै गएका छन् ।
कोरोना महामारी पछी लाखौँ युवा वैदेशिक रोजगारीबाट रोजगारी गुमाएर झन्डै १५ लाख नेपाली युवा घर फर्केका थिए । यसले झनै बेरोजगारीको समस्या थपिदिएको थियोे । कोरोना कहरले वैदेशिक रोजगारीको विकल्प समयमै खोज्नुपर्छ भन्ने गतिलो सन्देश दिएको थियो तर देशमै रोजगारीको अवसर सिर्जना गर्नतर्फ राज्य जिम्मेवार सकेन त्यसको ज्वलन्त उदाहरण अन्तर्राष्ट्रिय बिमानस्थल मा देखिने भिड हो।
आमव्यापारी वा व्यवसायीहरुको मुख्य समस्या भनेकै बैंकको ऋण, महँगो ब्याजदर, कालो सूची र कर्जा असुली वा घरजग्गाको लिलाम बिक्री बनेका छन् । मलाई लाग्छ, यो आमविकराल र भयावह समस्या वा राष्ट्रिय संकटको विषय बन्दै छ । बिडम्बनाको विषय त यो छ कि यो संकटको विषयमा राज्यभित्र कुनै बहस छैन । संसद वा सरकारमा यो समस्याको भयावहको बारेमा अनविज्ञता जस्तै छ । राजनीतिक दलहरु केवल सत्ता र भागबण्डाको लुछाचुँडीमा व्यस्त छन् ।
आज उद्योगी, व्यापारीहरु आन्दोलनमा उत्रिन बाध्य छन् । उनीहरु उद्योग र व्यापारलाई बचाउनका लागि सडकमा निस्किएका छन् । थुप्रै व्यवसायीहरुले पेट्रोल छर्केर आत्महत्या गर्दा त्यो संसद रमिते बनेर बस्छ । संसदमा यस्ता विषयमा गम्भीर छलफल र महत्वपूर्ण निर्णय हुँदैन ।
२. युवाहरुको निराशाजनक आममनोविज्ञान :गणतन्त्रको स्थापनापछि जनताले दलहरु र नेताहरुबाट ठूलो अपेक्षा राखेका थिए । परिवर्तनप्रतिको उत्साहपछि गएर निराशा र वितृष्णामा परिणत भयो । गणतन्त्रको स्थापनापछि सबैभन्दा बढी बेरोजगारीको समस्याले युवाहरुलाई प्रताडित बनायो । अस्तित्वको लागि वा बाँच्नका लागि विदेश जाने एउटा प्रवृत्ति नै आयो । एकातर्फ श्रमका लागि र अर्काेतर्फ अध्ययनका लागि विदेश जाने लहर नै सिर्जना भयो ।
आजको आमयुवा मनोविज्ञानभित्र एउटा हुटहुटी छ, त्यो हो विदेश पलायन । विडम्बनाको कुरा के छ भने ११, १२ पढ्ने प्रत्येक युवा कन्सल्टेन्सी र पासपोर्ट बनाउने लाइनमा हुन्छन् । कोही पनि युवा स्नातक नेपालमा पढ्न चाहँदैन । स्नातक र स्नातकोत्तर तह पढाउने कलेजहरु को समस्या त्य्स्तै छ । विद्यार्थी कलेजमा भर्ना भए पनि उनीहरुको सम्पूर्ण ध्यान भाषा परीक्षा र भिषा प्रक्रियामा छ । कलेजको परीक्षा छोडेर भाषा परीक्षा आइएलटिएसमा जान्छन् ।
३ . समाजको प्रवृत्ति: आज समाज मा युवाहरु भेटाउन गार्हो हुन थाल्यो । छरछिमेकी का छोराछोरी को राम्रो देशको भिषा लागेकोमा सगर्व बधाइ दिँदै फलानो त उता पुग्यो मेरा त केही गर्न सकेन्न भनी हरसमय सुनाउदा आफ्नै देश मा केही गर्ने सोच भएका युवाहरुलाई बिदेशी को जबर्जस्त सोच आउने गर्दछ जस्ले गर्दा उनिहरु पलायनको सिकार बन्न पुग्दछ्न। हामीले देखेका छौं, हाम्रा गाउँहरु युवाविहीन र पुरुषविहीन बनेका छन् ।
आजसम्म त गाउँघरलाई बुढाबुढी वा पुरानो पुस्ताले थामिदिएका छन् र त्यो पुरानो पुस्ताको आयु त धेरै छैन । विस्तारै गाउँघरहरु खाली हुँदैछन् । यो रोग सहरमा पनि व्यापक बनेको छ । यो लहरमा परिवर्तन हुने वा रोकिने त तत्कालै कुनै सम्भावना देखिँदैन । यो समस्या क्षणिक, अल्पकालीन वा अस्थायी भए त खासै चिन्ताको विषय थिएन । तर, यो समस्या दीर्घकालीन स्थायी वा अनन्तकालीन जस्तो हुँदैछ ।
आजको चिन्ताको विषय यही छ कि हाम्रो जनसंख्या त विदेश पलायनबाटै सकिने भयो । हाम्रो देशको भविष्यका लागि गम्भीर र संवेदनशील चुनौति हो । कल्पना गरौँ १० वर्षपछिको हाम्रो देश, गाउँ र समाज कस्तो होला ? त्यसैले आफ्ना छोराछोरीलाई जबर्जस्ति बिदेश को भुत नचडाउ। सही हो कि तमाम सम्भावना हुँदाहुँदै हामीले देशलाई कंगाल बनायौँ । हामीले हाम्रा छोराछोरीलाई देशभित्रै बस्न सक्ने, आयआर्जन र रोजगार प्राप्त गर्न सक्ने बनाउन सकेनौं ।
पलायन रोक्न के गर्ने ? १- स्वरोजगारका अवसर सिर्जना गर्ने देशमा बढ्दै गएको बेरोजगार, वैदेशिक रोजगारको खोजीमा बिदेसिएका युवा, आयातमुखी अर्थतन्त्र आदिलाई सम्बोधन गर्न नेपाल सरकारले स्थानीय स्रोत–साधनको समुचित प्रयोग हुने गरी देशमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक व्यावसायिक परियोजना सञ्चालन गर्न स्थानीयस्तरमा सुलभ र सुरक्षित व्यावसायिक कर्जा उपलब्ध गराउनुपर्छ । साथै, उद्यमशीलताको विकासमार्फत देशभित्र स्वरोजगारका अवसर सिर्जना गर्न ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरि युवा स्वरोजगार वृद्धि गर्नु पर्दछ।
साथै व्यवसायहरुको सम्भावनाहरु देखाउनुपर्ने तथा त्यसलाई चाहिने सेवाहरु सजिलै उपलब्ध गराउनु पर्छ । जस्तै कुनै उद्योग चलाउन राम्रो छ भने त्यसको दर्ता प्रक्रिया, सामान्य व्यावसायिक योजना, बजार तथा लगानीका लागि चाहिने प्रक्रिया सजिलै उपलब्ध हुनुपर्छ । प्राविधिक शिक्षा तथा रोजगारीको अवसर देशभित्र हुनुपर्छ । उद्योग व्यावसाय स्थापना तथा सञ्चालन प्रक्रिया सरकारी प्रक्रिया झन्जटिलो हुनु हुँदैन । व्यावसाय जोखिम न्युनिकरणका लागि सरकारी प्रोत्साहन तथा ग्यारेण्टी हुनुपर्छ । जस्तै वस्तु तथा सेवाहरुको न्युनतम मूल्य तोक्ने र त्योभन्दा कम भयो भने सरकारले सहयोग गर्ने नीति हुनुपर्छ ।
व्यावसाय गर्नका लागि सुलभ ब्याजदरमा ऋण उपलब्ध हुनुपर्छ । त्यसका लागि विशेषगरि स्थानीय सरकारले कार्यविधि बनाएर नियमित रुपमा लागु गर्नुपर्छ । २ साना लघु उद्यम र कृषि क्षेत्र को प्रबर्द्धन नेपालमा साना लघु उद्यम र कृषि क्षेत्रबाट पनि व्यवसायिक बन्न सकिने अवसरहरु छन् किनकि हाम्रो आफ्नै थुप्रै मौलिक र विशिष्ट उपजहरु छन् । ग्रामीणस्तरमा समेत बैंकिङ सेवा विस्तार हुँदै जानु साथै कतिपय स्थानीय तहबाट बिना धितो सहज कर्जाको व्यवस्थापन हुनु अर्को सुखद पक्ष हो । त्यसैगरि सूचना प्रविधिको विकासका कारण व्यवसाय प्रवर्द्धनको लागि स्वःअध्ययन गर्न सकिने तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रका साझेदार संस्थाहरुबाट सहयोग प्राप्त गर्न सकिने र परम्परागत सीप, लोपोन्मुख एवं अर्गानिक उत्पादनले बजार लिनसक्ने थुप्रै सम्भावनाहरु छन् ।
देश संघीयतामा गएपछि हाल संघ, प्रदेश र स्थानीय तहबाट युवाहरुलाई वित्तीय तथा प्रवर्द्धनात्मक सहयोगहरु जस्तै उत्पादनमा आधारित अनुदान, प्रविधि र यान्त्रिकरण आदिमा सहयोग गर्ने कार्यक्रमहरुको योजना गरेका छन् । हाम्रो विकासको गतिले सही बाटो समात्न सक्यो भने समयसँगै विदेश जाने हौसला पनि कमजोर हुँदै जान्छ । आफ्नो पहिचान स्वीकार गर्ने र बुझ्ने प्रयास गर्नुका साथै विश्वब्यापी परिस्थितिलाई सकारात्मक रुपमा हेर्न साहसपूर्वक प्रयास गर्नु जरुरी छ । ताकि हरेक देशमा आ(आफ्नै संकट छन् । विषको बोट रोपेर अमृत फल्दैन । नकारात्मकताको साथ समय बर्बाद नगरेर आफ्नो वरपर सकारात्मक चीजहरु हेर्ने र देख्ने प्रयत्न गर्नु जरुरी छ । नेपालको सन्दर्भमा १८ देखि ४० वर्ष उमेर समूहका मानिस नै युवाभित्र पर्ने गर्छन् ।
युवा नीति, २०६६ र राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा युथ भिजन २०२५ ले नेपालमा युवाको पलायन रोक्न विभिन्न व्यवस्था गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन । यस्तो अवस्थामा स्वदेशमै युवा जनशक्तिलाई उद्यमशील बनाउन सकेको खण्डमा मात्र देशको विकास सम्भव छ । त्यस्तो पहलले मात्र युवा पलायन हुनबाट रोक्नेछ । नेपालमा उत्पादनशील क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्नु, अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक क्षेत्रको दायरामा ल्याउनु, श्रम निरीक्षण र नियमनलाई प्रभावकारी बनाउनु, श्रम बजारको मागअनुरूप सीपयुक्त श्रमशक्तिको विकास गर्नु, शिक्षालाई व्यावहारिक र रोजगारमूलक बनाई उद्यमशीलता विकास गर्नु आवश्यक छ ।
असल श्रम सम्बन्धको विकास र श्रमको उत्पादकत्व वृद्धिमार्फत आर्थिक विकासका सम्भावनालाई फराकिलो बनाउनु, प्रमुख गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्नु, गन्तव्य मुलुकमा कामदारको सुरक्षा गर्नु र वैदेशिक रोजगारीबाट सिर्जित संरचनागत जोखिम कम गर्दै यसबाट प्राप्त पुँजी, प्रविधि, ज्ञान र सीपलाई उत्पादनशील क्षेत्रमा आन्तरिक उपयोग गर्नेजस्ता पक्षलाई ध्यान दिन सकेको खण्डमा मात्र युवा पलायन हुनबाट रोक्न सकिन्छ । राज्यको काम हाम्रा युवाहरुलाई देशभित्रै सम्भावना देखाइदिनु प¥यो । आपूm बाँच्नका लागि अनि सरकार बचाउनका लागि युवाहरुलाई विदेश पठाउने हाम्रो दृष्टिकोणले अव थेग्न सक्दैन । त्यसकारण देशको भविष्यको लागि सबै मिलेर राष्ट्रिय बहस गरौँ । विदेश गएका युवाहरुलाई नेपालमा फर्किने वातावरण बनाउने गरी हामीले राष्ट्रिय नीति निर्माण गरौँ । यति गर्न सके सुन लाई सिरानी मा राखी नुन को खोजीमा हिड्ने हामी नेपाली युबा लाई स्वदेशमै केही गर्ने आट र बाताबरण मिल्नेछ।
दाङ तुलसीपुर निवासी भुषाल हाल सानफ्रान्सिस्को,क्यालिफोर्नियामा कार्यरत छन् ।
लाइभदाङ । २४ श्रावण २०८१, बिहीबार १५:५३ बजे