कास्की, ११ माघ ।
गण्डकी प्रदेशमा राष्ट्रिय सभाका तीन सदस्य चयनका लागि भएको निर्वाचनमा कांग्रेसका दुई र नेकपा माओवादी केन्द्रका एक उम्मेदवार विजयी भएका छन्।
निर्वाचनमा अन्य क्लस्टरमा गोरखाबाट कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यक क्लस्टरमा तनहुँबाट कांग्रेसका पदमबहादुर परियार र महिला क्लस्टरमा पर्वतबाट माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन्।
गण्डकीमा प्रदेश सभा सदस्य ६० र ११ जिल्लाका ८५ वटा पालिका प्रमुख र उपप्रमुख १७० गरी कुल दुई सय ३० जना मतदाता रहेकोका दुई सय २९ जनाले मतदान गरेका थिए।
सहकारी गठीपछि फरार रहेका बागलुङका ढेरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली अनुपस्थित रहे। राष्ट्रिय सभाअर्न्गत गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो २० फागुनमा सकिँदै छ।
निर्वाचनमा आठ जना उम्मेदवार रहेका थिए नेकपा एमालेले अन्य क्लस्टरमा स्याङजाका चक्रबहादुर पराजुली, अपांङ्गता/अल्पसंख्यक क्लस्टरमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लस्टरमा गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अन्य क्लस्टरमा कास्कीका रोमबहादुर भण्डारी र महिला क्लस्टरमा तनहुँकी गौमाया श्रेष्ठ उम्मेदवार रहेकी थिइन्।
लाइभदाङ । ११ माघ २०८०, बिहीबार १७:२७ बजे