जनता लठ्याउने घोषणापत्रका शून्य काम

दीपक बोहरा
दाङ, १० माघ ।
गत वर्ष बैशाखमा भएको दोस्रो स्थानीय तह निर्वाचनमा एमालेबाट दाङको घोराही उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार नरुलाल चौधरी र उपप्रमुख पदको उम्मेदवार हुमा डीसीसहित एमाले घोराहीका उम्मेदवारहरूले ल्याएको सामूहिक घोषणापत्रमा नगरका सबै स्वास्थ्य संस्थाहरूमा मेडिकल अफिसरको ब्यबस्था गर्ने महत्वकांक्षी योजना अघि सारियो । तर, अहिले ती स्वास्थ्य सस्थामा मेडिकल अफिसरको व्यवस्था गर्नतिर स्थानीय सरकारको ध्यान गएको छैन । त्यसैले उपचारका लागि घोराही नै आउनुपर्ने बाध्यता रहेको घोराही १९ सैघाका चेतन मगरले गुनासो गरे । “ज्वरो आयो, टाउको दुख्यो भने मात्रै स्वास्थ्य चौकीमा औषधी पाइन्छ”,उनले भने, “चेकजाँच गर्नुप¥यो भने घोराही नै जानुपर्छ, चुनावका वेला भने झैं डाक्टर ल्याए सजिलो हुन्थ्यो ।”

त्यस्तै मोतियाविन्दूको निःशुल्क अप्रेशन, सिकलसेल ऐनिमिया, थाल्सेमिया र सुत्केरीलाई निःशुल्क रगत तथा पोषण भत्ता स्वरुप ३ महिना सुत्केरी भत्ता प्रदान गर्ने, नगरस्तरमा अत्याधुनिक सुविधासहितको नगर प्रयोगशाला स्थापना गर्ने, सबै स्वास्थ्य संस्थाहरूमा फिवर क्लिनिक र बर्थिङ सेन्टरको स्थापना गरिने कुरा पनि पूरा हुन सकेको छैन ।

युवाहरूलाई विदेश पलायन रोक्न पनि घोषणा पत्रमार्फत योजना अघि सारिएको थियो । पाँच सय युवाहरूलाई उद्यम सञ्चालन गर्न बैंकिङ क्षेत्रसंग समन्वय गरी सहुलियतपूर्ण कर्जा र अनुदानको ब्यबस्था मिलाउने, युवा सूचना केन्द्र तथा नवप्रवर्तनात्मक केन्द्रको स्थापना गर्ने, रोजगार सिर्जना गर्न नगरस्तरीय तालिम केन्द्र स्थापना गरी सीप, ज्ञान र तालिम दिएर स्वरोजगार बनाउने जस्ता कुराहरू समावेश भएपनि ती प्रतिवद्धता घोषणापत्रमा मात्रै सीमित भए । “ऋण सहुलियत दिने कुरा पनि भएन, अन्य उद्यमका कार्यक्रम पनि प्रभाबकारी छैनन्”, घोराही १५ निवासी २४ वर्षीय ऋषि केसीले भने, “यस्तो तरिकाले युवा पलायन रोक्न सकिदैन ।”

ठूला मालबहाक गाडीहरू आवतजावतका लागि छुट्टै सडकको निर्माण गर्ने, घोराहीको तुलसीपुर चोकमा डीपीआर सम्पन्न भइसकेको आकाशे पुलको निर्माण गर्ने जस्ता कुरा पनि घोषणा पत्रमा थिए । तर, ती कुराहरू पनि कागजमा मात्रै सीमित भए । घोराहीमा हुने भिडभाडले बाटो काट्न समेत समस्या हुने गर्छ भने ठूला, साना सवारी साधन बजार क्षेत्रका एउटै सडकबाट हिड्दा आवतजावतमा निकै समस्या पर्ने गरेको सवारी चालक विशाल खत्रीले बताए । “बजारमा आफै पनि भिडभाड हुन्छ, त्यसमा पनि पैदल यात्रीहरू पनि एकैठाउँबाट, ठूला र साना गाडीहरु पनि एकैठाउँबाट हिड्दा दुर्घटनाको उत्तिकै जोखिम बढ्ने गरेको छ”,उनले भने ।

घोराहीको कार्यपालिकामा एमालेकै बहुमत पनि भयो । तर, निर्वाचित भएपछि ल्याईएका दुईवटा नीति, कार्यक्रम तथा बजेटले घोषणा पत्रका कुरा समावेश हुन सकेनन् । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डीसीले भने पाँच बर्षमा घोषणा पत्रअनुसार काम गर्ने कुरामा आफू ढुक्क रहेको बताइन् । शिक्षा र स्वास्थ्यका भवन निर्माणलाई बिशेष प्राथमिकता दिएको उनको भनाई छ । त्यस्तै किशोरीहरूलाई आवश्यक पर्ने स्यानेटरी प्याड उत्पादन गरेर आत्मनिर्भरताको बाटोमा लागेको पनि उनले बताइन् ।  आकासे पुल निर्माण गर्ने कुरा घोषणा पत्रमा उल्लेख गरेको भन्दैै त्यसलाई जनघनत्वका आधारमा योजना बनाउने डीसीले बताईन् ।

तुलसीपुर उपमहानगरपालिकामा पनि घोषणापत्र अनुसार काम हुन सकेका छैनन् ।  प्रमुख र उपप्रमुख दुवैमा एमालेका टिकाराम खड्का र स्यानी चौधरी छन् । उनीहरूले सुकुम्बासीलाई लालपुर्जा वितरणको कामलाई प्राथमिकता दिने कुरा घोषणा पत्रमा उल्लेख गरेका थिए । विजयी भएपछि पहिलो निर्णय पनि सुकुम्वासीलाई लालपुर्जा दिने भनी गरे । तर, त्यो क्षेत्राधिकार संघको थियो । उनीहरूले आफ्नो क्षेत्राधिकार विर्सेरै घोषणा पत्रमा लेखे र निर्णय पनि गरे । तर, अहिले यो निर्णय कार्यान्वयन हुन सकेको छैन ।

त्यस्तै घोषणा पत्रमा छरिएर रहेका बस्तिहरूलाई एकीकृत गरिने, टोलको अलग–अलग पहिचानका लागि एकै आकार प्रकार र रंगका घर निर्माणमा जोड दिने, आवास, औद्योगिक पार्कलगायतका क्षेत्र छुट्याइ बस्ति विस्तार गर्ने महत्वकांक्षी योजना अघि सारेपनि ती कुनै पनि कुरा कार्यान्यन हुन सकेका छैनन् ।

सीटी बस कहाँ गए ?
तुलसीपुर उपमहानगरपालिकाभित्र सीटि बस सञ्चालन गर्ने कुरा पनि घोषणा पत्रमा थियो । अघिल्लो सरकारले पनि जोडतोडका साथ यो नारा अगाडी बढाएको थियो । त्यसैलाई एमालेले पुनः घोषणा पत्रमा पनि उल्लेख ग¥यो । तर, यसको कार्यान्वयन हुन सकेको छैन । ‘सीटी बस भए भाडा पनि सस्तो हुन्थ्यो, अझ चक्रपथको कुरा पनि थियो, त्यो के भयो’,तुलसीपुर ५ निवासी खड्क विसीले गुनासो गरे ।

घोराही उपमहानगरपालिका जस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि स्वास्थ्यमा महत्वकांक्षी योजना अघि सा¥यो । सबै वडामा रहेका स्वास्थ्य केन्द्रहरुमा ल्याब स्थापना गर्नुका साथै कम्तिमा एमविबिएस डाक्टरको ब्यबस्था गर्ने, ३० मिनेटको दुरीमा सबै नागरिकको पहुँच हुने गरी स्वास्थ्य संस्था स्थापना गर्ने कुरा घोषणा पत्रमा उल्लेख थिए जसले जनतालाई उत्साहित नै बनाएको थियो । तर, तुलसीपुरमा यी कुरा नारामा मात्रै सीमित बनेका छन् ।

अहिले उपमहानगरपालिकाले विगतको दायित्व तिर्नुपर्दा नै घोषणा पत्र अनुसार काम गर्न नसकिएको भएपनि पाँच वर्षभित्रमा ती योजना पूरा गर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । ‘हामीलाई यो वर्षसम्म विगतको दायित्व तिर्दा नै ठिक्क भयो’, उनले भने, ‘अब आगामी वर्षदेखि घोषणापत्र अनुसार काम अघि बढ्नेछन् ।’

घोषणा पत्रका महत्वकांक्षी योजनाः
घोराहीः
१.नगरका सबै स्वास्थ्य संस्थाहरूमा मेडिकल अफिसरको व्यवस्था गर्ने
२.ठूला मालबहाक गाडीहरू आवतजावतका लागि छुट्टै सडकको निर्माण गर्ने ।
३. अत्याधुनिक सुविधासहितको नगर प्रयोगशाला स्थापना गर्ने ।
४.तुलसीपुर चोकमा  आकाशे पुलको निर्माण गर्ने ।
५. पाँच सय युवाहरूलाई उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण कर्जा र अनुदानको व्यवस्था मिलाउने ।
६. रोजगार सिर्जन गर्न नगर स्तरीय तालिम केन्द्र स्थापना गर्ने ।
७. आधुनिक दाना उद्योगको स्थापना गर्ने ।
८. सबै स्वास्थ्य संस्थाहरूमा फिवर क्लिनिक र बर्थिङ सेन्टरको स्थापना गर्ने ।
९. गुलरियामा रहेको क्रिकेट मैदानमा प्याराफिटसहितको स्तरोन्नती गर्ने
१०. परम्परागत बाजागाजा,लोकसाहित्य, नृत्य, गीत, संगीतको संरक्षण गर्न नगरस्तरमा साहित्य, भाषा र कला संग्रहालय स्थापना गर्ने ।
११. असहाय, अभिभावकविहीन, विपन्न बालबालिकाहरूको शिक्षाको स्वामित्व स्थानीय सरकारले ग्रहण गर्ने ।
१२. १९ वटै वडामा बाल उद्यान निर्माणका साथै बाल सिकाई केन्द्रहरूको स्थापना गर्ने ।
१३. मोतियाविन्दूको निःशुल्क अप्रेशन, सिकलसेल ऐनिमिया, थाल्सेमिया र सुत्केरीलाइ निःशुल्क रगत तथा पोषण भत्ता स्वरूप ३ महिनालाई सुत्केरी भत्ता प्रदान गर्ने ।
१४. विज्ञान तथा प्रबिधि र अन्य क्षेत्रको विकास गर्न अनुसन्धान केन्द्रको स्थापना गर्ने ।


 तुलसीपुरः
१. सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने ।
२. तुलसीपुर उपमहानगरपालिका भित्र  सीटि बस सञ्चालन गर्ने ।
३. छरिएर रहेका बस्तिहरूलाई एकीकृत गरिने । टोलको अलग–अलग पहिचानका लागि एकै आकार प्रकार र रंगका घर निर्माणमा जोड दिने ।
४. आवास, औद्योगिक पार्कलगायतका क्षेत्र छुट्याइ बस्ति विस्तार गर्ने  ।
५. तुलसीपुरमा विभिन्न सीप मुलक छोटो अवधीको तालिम प्रदान गर्नकालागि तुलसीपुर प्राविधिक प्रतिष्ठान बनाउने, ।
६. तुलसीपुरको गौरवका रूपमा नगर पुस्तकालय स्थापना गरिने ।
७. सबै वडामा रहेका स्वास्थ्य केन्द्रहरूमा ल्याब स्थापना गर्ने । कम्तिमा एमविबिएस डाक्टरको व्यवस्थापन गर्ने ।
८. ३० मिनेटको दुरीमा सबै नागरिकको पहुँच हुने गरी स्वास्थ्य संस्था स्थापना गर्ने ।
९. अन्न भण्डारण केन्द्रकासाथै चिस्यान केन्द्र स्थापना गर्ने ।
१०. हरेक वडामा कृषि उपज बिक्री केन्द्रहरू स्थापना गर्ने ।
११. तुलसीपुर बजारमा र अन्य शहरोन्मुख बस्तीहरूमा समेत व्यबस्थित र आधुनिक बधशाला निर्माण गर्ने ।
१२. मृत्यु भएका परिवारजनलाई ५ हजार सहयोग प्रदान गर्ने ।
१३. सञ्चार माध्यामलाई अनुदानको व्यवस्था गर्ने  ।
स्रोतः सम्बन्धित उम्मेद्वारका घोषणा पत्र

नाम मात्रै कृषि पेन्सन
दाङको बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र र काँग्रेससहितको गठबन्धनले कृषिलाई प्राथमिकता दिएर घोषणा पत्र ल्यायो । अध्यक्ष माओवादी केन्द्रका तुलसीराम पुन र उपाध्यक्षमा काँग्रेसका भक्तबहादुर जीसीले विजय हाँसिल गरे । तर, जितिसकेपछि घोषणा पत्र अनुसार कृषक पेन्सन कार्यक्रमलाई अगाडी बढाउन सकेका छैनन् ।

कृषिको ब्यावसायिकरण र आधुनिकीकरणका लागि गाउँपालिकाले कम्तिमा १/१ जना पशु तथा बाली विज्ञसहित हरेक वडामा कृषि प्राविधिकको व्यवस्था गर्ने, कृषक परिचयपत्र बनाई कृषि बिमा र कृषक पेन्सन कार्यक्रम अघि बढाउने, एक घर, एक रोजगारी कार्यक्रम अघि बढाउने, हालसम्म पनि सडक पुग्न नसकेका वडाहरूमा एक वर्षभित्र नै स्तरीय सडक निर्माण गर्ने, गाउँपालिकामा पर्यटन सूचना केन्द्रलाई सञ्चालनमा ल्याउने कुरा घोषणापत्रमा सार्वजनिक गरिएको भएपनि कार्यान्वयन शून्य जस्तै बनेको छ ।

घोषणा पत्र जनताको विचमा जाने कुरा भएकाले ति कुरामा आफूहरू गम्भीर भएको गाउँपालिका उपाध्यक्ष जीसीले बताए । ‘सबै एकै चोटी गर्न सकिदैन, हामीले ती कुरालाई पूरा गर्नेतर्फ लागिरहेका छौं’, उनले भने, ‘आफ्नो कार्यकालमा ती कुरा पनि पूरा हुनेछन् ।’

उनका अनुसार खानेपानीलाई नै प्राथमिकता दिएर काम अगाडी बढाईएको छ । एक घर, एक धाराको अवधारणालाई अघि सारेर काम गरिरहेको उनको भनाई छ । त्यस्तै बंगलाचुलीमा सिमेन्ट उद्योगकालागि छुट्टै सडक निर्माणको प्रक्रियालाई पनि अघि बढाएका उनले बताए । अन्य कार्य पनि विस्तारै अघि बढ्ने उपाध्यक्ष जीसीको भनाई छ ।

सार्वजनिक स्थल र पार्कमा निःशुल्क वाइफाई
दाङको राप्ती गाउँपालिकामा माओवादी केन्द्रबाट प्रकाश विष्टले अध्यक्षमा विजय हाँसिल गरे भने उपाध्यक्षमा एमालेकी कमलापति चौधरी विजयी भइन् । माओवादीले राप्ती गाउँपालिकामा जनमोर्चासंग गठबन्धन गरेको थियो । यो गठबन्धनले संयुक्त घोषणापत्र ल्याएको थियो । जसमा राप्ती गाउँपालिकाले आफ्नै रेडियो सञ्चालन गर्ने, गाउँपालिकाभित्र सामुदायिक माध्यामिक विद्यालयहरूमा आवश्यकता अनुसार यातायातका साधनको व्यवस्था गर्ने, प्रत्येक सार्वजनिक स्थान र पार्कहरूमा निःशुल्क वाईफाइको व्यबस्था गर्ने उल्लेख छ । तर, त्यसअनुसार काम हुन सकेको छैन ।

केही कुरा बाँकी रहेपनि अधिकांस घोषणा पत्र अनुसार नै काम गरेको पालिका अध्यक्ष प्रकाश विष्टले बताए । उनका अनुसार पालिकालाई समृद्ध र सभ्य बनाउनेतर्फ ध्यान दिएको बताए । उनले पालिकामा ५० बेडको अस्पतालको काम अगाडी बढेको बताए । त्यस्तै आँखा उपचार कार्य सुरू भएको, सामुदायिक विद्यालयमा प्रबिधिमैत्री पठन–पाठन सुरू भएको र अर्गानिक खानेकुरामा ध्यान दिन चेतनास्तर बृद्धिमा पालिकाले काम गरेको उनले बताए ।

वडामै आकस्मिक सेवा  
गढवा गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार यमनारायण शर्र्माले प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको स्तरबृद्धि गरि आकस्मिक सेवा समेत वडामै गर्ने घोषणा पत्रमा उल्लेख गरे । उनले विजय पनि हाँसिल गरे । तर, अहिलेसम्म उक्त घोषणा पत्र कार्यान्वयन प्रक्रिया अघि बढेको छैन । त्यस्तै कृषक परिचयपत्र बनाई कृषि विमा र कृषक पेन्सन कार्यक्रम अघि बढाइने कुरा घोषणा पत्रमा भएपनि त्यो कार्यक्रम अगाडी बढ्न सकेको छैन ।

दाङका १० पालिकामध्ये केही पालिकाका जनप्रतिनिधिले आफ्नो चुनावी घोषणा पत्र समेत ल्याएको देखिदैन । काँग्रेसबाट निर्वाचित लमही नगरपालिकाका प्रमुख र उपप्रमुखसहित शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र बबई गाउँपालिकाले चुनावी घोषणा पत्र नै ल्याएका छैनन् । सााभारः अग्रिम साप्तहिक