शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न १ हजार १९ जनाको स्वास्थ्य परिक्षण

निराश पाण्डे
शान्तिनगर, ६ पुष ।
शान्तिनगर गाउँपालिकाको आयोजना एवं काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड शिक्षण अस्पताल काठमाडौंको प्राबिधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर बिहिवार शान्तिनगर ४ स्थित जुम्लेकुलामा सम्पन्न भएको छ।

शिबिरको उदघाटन गर्दै नेपाली कांग्रेसका संघिय सांसद डा.सुनिल शर्माले बिपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफू जहिले पनि आम नागरिकको पक्षमा सडक र सदनबाट आवाज उठाउदै आएको समेत बताउनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका सांसद शर्माले यो शिबिर बुधबार प्युठानको गौमुखी गाउँपालिकमा सम्पन्न भै सकेको र शुक्रबार कपिलवस्तुको बुद्ध भुमी गाउँपालिकामा शिबिर संचालन हुने समेत जनाउनु भएको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको सभापतित्वमा एवं संघीय सांसद डा. सुनिल शर्माको प्रमुख आतिथ्यता तथा प्रदेश सांसद निमा गिरिको बिशिस्ट आतिथ्यतामा भएको उदघाटन सत्र कार्यक्रममा नेपाली कांग्रेसका नेता केशब आचार्य, उपाध्यक्ष प्रेमा बुढाथोकी के सी, प्रमुख प्रसासकिय अधिकृत भीष्म कुमार मल्लसमेतको सहभागिता रहेको थियो ।

शिबिरमा १ हजार १९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ। उक्त शिबिरमा डा.बिसद दाहालले मुटु रोग, डा.रश्मि गुरुङले स्त्री रोग, डा.सिजन श्रेष्ठले नाक कान घाँटी, डा. प्रकाश सिंहले हाडजोर्नी त्यसै गरि डा. सुसान्त श्रेष्ठले न्युरो सर्जरी, डा. गौरब खड्काले मृगौला रोग,डा. स्पन्दन अधिकारीले शल्यक्रिया, डा.अनुस्रुती पराजुलीले मानसिक तथा नसा,डा.रोहन सापकोटाले छालातथा यौन रोग,डा. तारिक बिन कमलले बाल रोग, डा.आकृती बरालले दन्त रोग,डा. राकेश कुमार रायले आँखा रोगको परिक्षण गरेका थिए।


बिहिवार सम्पन्न शिबिरबाट ५५ जना बिरामीलाई थप उपचार गर्नुपर्ने भएको हुनाले काठमाडौ मेडिकल कलेज रिफर गरिएको अस्पताल ब्यबस्थापक मदन लाल श्रेष्ठले जानकारी गराउनु भएको छ। रिफर गरिएका बिरामीहरु काठमाडौ १५ गते गैसक्नु पर्ने छ।

बिरामीहरुलाई कसरी लग्ने भन्ने बारेमा गाउँपालिकाले परामर्श गरेर टुङ्गो लगाउने भएको हुनाले शिबिरबाट रिफर गरिएका बिरामीहरुलाई गाउँपालिकामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ। उक्त कार्यक्रमको सहजीकरण प्रसासन शाखा प्रमुख कृष्ण कंडेलले गर्नु भएको थियो  ।