महिलाहरुलाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्छःमन्त्री शर्मा

दाङ, १८ मंसिर ।
सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले महिलाहरुलाई पत्रकारितामै टिक्ने वातावरण बनाउनु पर्ने बताउनुभयो । प्रेस काउन्सिलको आयोजनामा दाङको भालुवाङमा सुरु भएको लुम्बिनी प्रदेश स्तरीय पत्रकार महिलाको क्षमता अभिबृद्धि तालिमको आज उद्घाटन गर्नुहुँदै लामो समय महिला पत्रकारहरु पेशामा टिक्न नसक्नु बिडम्बना भएको बताउनुभयो । “महिला पत्रकारहरु लामो समय पेशामा टिक्न नसक्ने समस्या छ”,उहाँले भन्नुभयो“ यसमा हजुरहरुले सुझाब दिनुभयो नीतिगत तहबाट गर्नुपर्ने सुधार गर्न सरकार तयार छ ।”

हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने भएपनि पत्रकारितामा हाल २० प्रतिशत मात्रै सहभागिता रहेको भन्दै यसलाई बढाउनु पर्ने समेत मन्त्री शर्माको भनाई छ । महिला पत्रकारहरुका उत्तराधिकारी उत्पादन गर्न तर्फ सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।


साथै सञ्चार सम्बन्धि बिभिन्न ऐनहरु निर्माण तथा संसोधनको तयारी रहेकाले सुझाब दिन पनि मन्त्री शर्माले अनुरोध गर्नुभयो । प्रबिधिलाई सही सदुपयोग गर्न तर्फ पनि ध्यान दिनुपर्ने उहाँको भनाई छ । तीन दिनसम्म चल्ने तालीममा साईवर शिक्षालाई पनि जोड दिनुपर्ने मन्त्री शर्माले बताउनुभयो । साथै यस्ता तालिमहरुलाई जिल्ला–जिल्लामा सञ्चालन गरेर ब्यापक सहभागिता बनाउने गरि तयारी गरिने समेत मन्त्री शर्माले बताउनुभयो ।