९० बर्षीय डाँगी कक्षा १ मा पढ्दै

दीपक बोहरा
तुलसीपुर,५ भदौ ।
पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिडाईमा रफ्तार हुन्छ, तुलसीपुर १ भमके निवासी ९० बर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाएपनि उहाँमा पढाईको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर व्यबहारमा ब्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासंग वित्छ । उहाँले पनाती समेत देखिसक्नु भएको छ, तिनै पनाति जस्ता उमेरका विद्यार्थीसंग उहाँ कक्षा १ मा पढ्न थाल्नु भएको छ ।

चालु शैक्षिक शत्रदेखि उहाँले कक्षा १ देखिको पढाई सुरु गर्नुभएको हो । सोही वडाको बीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उहाँ पढ्न थाल्नु भएको छ । उहाँ पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिडेर भ्यूडहरसुनपुर पुग्नु हुन्छ । “सानोमा पढ्न पाइँन, गाउँमा पनि आफूसंग गफगाफ गर्ने साथी पनि भेटिएनन्”,उहाँले भन्नुभयो“बुढेसकालमा भएपनि केही कुरा सिकौं भनेर स्कुल पढ्न आएको हुँ ।”

घरमा पनि उहाँ नातीहरुसंग बस्दै आउनु भएको छ । उहाँकी श्रीमतिको २०३२ सालमा निधन भयो । त्यस पछि उहाँ एकल रुपमा घरमा बस्दै आउनु भएको थियो । उहाँको जेठो छोरो पनि निधन भएपछि अहिले नातिहरुसंग बस्दै आउनु भएको छ । नातिहरु आफ्नो काममा ब्यस्त हुने भएकाले घरमा एक्लै बस्नु भन्दा विद्यालय जान थालेको उहाँको भनाई छ । उहाँले आफू बाँच्दासम्म पढिरहने बताउनुभयो । “सानोमा पढ्न नपाएपनि मेरो पढ्ने चाहाना धेरै थियो”,उहाँले भन्नुभयो“जे भएपनि मर्ने बेला केही अक्षर सिकेर मरौं भन्ने मेरो चाहाना हो ।”


उहाँ पढ्नमा पनि त्यति कम्जोर हुनुहुन्न । कक्षा शिक्षक राजेन्द्र कुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिका जस्तै हुने भएकाले किताबमा भने अनुसार लेख्न सक्ने भएको बताउनुभयो ।“परिपक्क दिमाग भएर पनि होला,कक्षा १ को किताब अभ्यास पुस्तिका जस्तो हुन्छ”,उहाँले भन्नुभयो“त्यो पुस्तिका अनुसार उहाँले लेख्न सक्नुहुन्छ ।” अंग्रेजी अलि गाह्रो लाग्ने गरेपनि नेपाली भाषाका सबै किताबमा उहाँले राम्रोसंग पढ्न सकेको बताउनुभयो । उहाँ जस्तो उमेरमा ब्यक्ती विद्यालयमा पढ्न आउनुले समाजमा पढाईको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताउनुभयो ।“उहाँ सुरुमा आउँदा अच्चम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना ग¥यौं”,उहाँले भन्नुभयो“अहिले उहाँ आउँदा मान्छे बुढो भएपनि पढाई बुढो हुँदैन्, भन्ने एउटा उदाहरण बन्नुभएको छ ।”

विद्यालयले उहाँलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताउनुभयो । उहाँ विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनु पर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको बताउनुभयो ।