लायन्स क्लवका पदाधिकारीलाई अभिमूखिकरण

घोराही, २० जेठ ।
लायन्स क्लव ३२५ एन अन्तरगत एरिया नं.२ का क्लवका पदाधिकारीहरुका लागि अभिमूखिकरण कार्यक्रम शनिबार घोराहीमा सम्पन्न भयो । लायन्स क्लव ३२५ एन एरिया २ का चिफ ध्रुव गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन ३२५ एन का लागि सन् २०२३/२०२४ का डिष्ट्रिक गभर्नर मुकुट ढकालले गर्नुभएको थियो ।

अभिमूखिकरण कार्यक्रममा एरिया नं. २ अन्तरगत रहेका विभिन्न क्लवहरुका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यहरुको सहभागिता थियो । आगामी वर्ष सन् २०२३/२०२४ का लागि नेतृत्वमा छनौट भएकाहरुलाई क्लव संचालनको तरिका, लायन अन्तराष्र्टियमा रिपोर्टिङ गर्ने तरिका, अध्यक्षको काम कर्तव्य र अधिकार, सचिवले गर्नुपर्ने काम र कोषाध्यक्षले गर्ने कामका बारेमा जानकारी गराइएको थियो ।

उक्त अभिमूखिकरण कार्यक्रममा बोल्दै सन् २०२३/२०२४ का डिष्ट्रिक गभर्नर मुकुट ढकालले लायन्सको अभियान विश्वव्यापी रहेको भन्दै सेवाका हातहरु असहायहरुका लागि लाग्नुपर्ने बताउनुभयो । उहाँले विश्वमा एक सय पाँच बर्ष अघि देखि सुरु भएको लायनको अभियान नेपालमा ५२ वर्ष अघि अर्थात सन् १९७१ बाट सुरु भएको जानकारी दिनुभयो ।


नेपालमा लायन्स क्लवका माध्यमबाट ठूला परियोजना संचालन गरिएको जानकारी दिदैं अहिले पनि लायन्स क्लव ३२५ एन अन्तरगत विभिन्न परियोजनाका लागि प्रस्ताव पठाइएको बताउनुभयो । राप्ती आँखा अस्पतालका लागि करिव डेढ करोडको मेसिन आएको, प्युठान अस्पतालमा डायलासिसका लागि मेसिन आउन थालेको जानकारी दिनुभयो । नियमित रुपमा अनेकौं कामहरु भइरहेको उहाँको भनाई थियो । उहाँले सेवाका लागि लायन्सको स्थापना भएको भन्दै आफ्नो कार्यकालमा बृद्ध बृद्धाहरुका लागि सेवाको विशेष कार्यक्रम संचालन गर्न माथहतका क्लवहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा लायन वर्ष २०२३/२०२४ का भाइस डिष्ट्रिक गभर्नर विनोद श्रेष्ठ, सचिव उमा थापा मगर, कोषाध्यक्ष तेजप्रसाद अधिकारी, एक्जुकेटिभ चिफ लव अधिकारी, को एक्जुकेटिभ चिफ् युवराज थपलिया लगायतले बोल्नुभएको थियो । लायन्स क्लव ३२५ एन अन्तरगत २४ वटा क्लवहरु रहेका छन् ।

लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङको समन्वयमा आयोजना गरिएको अभिमूखिकरण कार्यक्रममा एरिया चिफ डा. भिमसेन गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव भरतराज देवकोटाले गर्नुभएको थियो ।