शान्ति र समृद्विका लागि समाजवाद अनिवार्य

आजाद खड्का
हाम्रो विरोध र समर्थन व्यक्तिमा होईन प्रवृत्तिमा केन्द्रीत हुनुपर्छ । यतिवेला हाम्रो विरोध नेपालको राजनीति प्रति केन्द्रित छ । अध्ययनको अभावका कारण प्रवृत्ति विरुद्व केन्द्रित हुनु पर्नेमा हामीहरु कहिले कसो व्यक्ति केन्द्रित हुन जान्छ । परिणामस्वरुप हामी असफल हुन्छौं । कुनै वेईमानी नगरेका पढे लेखेका विद्वान व्यक्तित्व संविधानविद डा.भिमार्जुन आचार्यको अहिलेको टिकटकमा चर्चित भनाई‘ठुला नेताहरुलाई ठाउँका ठाउँ ढालेर देशमा शान्ति र समृद्वि ल्याउन सकिन्छ’ भन्ने भनाई राजनीतिक अध्ययनको कमीको परिणाम हो ।

संघर्षको केन्द्रमा व्यक्ति कि व्यवस्था?
देशमा शान्ति र समृद्वि ल्याउने आचार्यको भावनात्मक र मिठो सपना हो । तर त्यो कुरा राजनीतिक अध्ययनवाट प्रवृत्ति केन्द्रित हुन्थ्यो भने ठुला नेतालाई चुनावमा हराएर देशमा शान्ति र समृद्वि ल्याउने कुरा हुदैन थिए । किन कि शान्ति र समृद्वि समानतावाट आउँछ र समानता आर्थिक उत्पादन सम्वन्धमा खोज्नु हुन्थ्यो । राज्यसत्ताको एउटा आर्थिक आधार हुन्छ, अर्को उपरिसंरचना हुन्छ ।

आधार उपरिसंरचनाबारे अध्ययन गर्नुको कारण नै त्यहि हो । आधार भनेको उत्पादन सम्बन्ध हो, भने उपरिसंरचना–सरकार, सेना, प्रहरी, संविधान, कानुन, अदालत, जेल, संस्कृति, भाषा र धर्म राजनीतिक दल आदि हो । आधारको चरित्र उपरिसंरचना मार्फत अभिव्यक्त हुन्छ र उपरिसंरचना आधारको अनुकुल हुन्छ –चल्छ । शिक्षाको कुरा गर्ने हो भने कहाँको राजाराम, कहाँका गणे भण्डारी भने जस्तै कहाँको संविधानविद डा.भिमार्जुन आचार्य, कहाँको सामान्य नागरिक आजाद खड्का भने जस्तै हो ।

तर उहाँको विषय उपरिसंरचनाको पनि एउटा विषय संविधान सम्वन्धि रह्यो । दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र समाजशास्त्रका अधिकांश विषयमा पुगेन । त्यसकारण उहाँ प्रवृत्ति केन्द्रित नभई व्यक्ति केन्द्रित भएर ठुला नेताजतिलाई चुनावमा हराएपछि देशमा शान्ति र समृद्वि आउने निष्कर्षमा पुग्नु भयो ।

यथार्थमा देशमा शान्ति कायम र समृद्वि तब मात्र सम्भव छ, जब समाजमा समानता कायम हुन्छ । समाजमा समानता तवमात्र सम्भव छ, जब राज्यसत्ताको आधारमा समानता आउँछ । आधारमा समानता ल्याउने भनेको उत्पादन सम्वन्धमा समानता ल्याउने भनेको हो । अहिलेको उत्पादन सम्बन्ध भनेको पुँजीवादी उत्पादन सम्बन्ध हो । पुँजीवाद व्यक्तिवादमा आधारित हुन्छ ।

व्यक्तिवाद समुदाय विरोधी हुन्छ । प्रत्येक व्यक्तिकाबिच स्वतन्त्र प्रतिस्पर्धा हुने । केहिले जितेर मुठ्ठिभर मानिसहरु अरवपति हुने र अधिकांशले हारेर टाट पल्टिने र रोडपति वन्ने व्यवस्थालाई व्यक्तिवादी–पुँजीवादी अर्थ व्यवस्था अर्थात उत्पादन सम्बन्ध भनिन्छ । हाम्रो देशमा कायम भएको असमान पुँजीवादी उत्पादन सम्बन्ध हो ।

आचार्यले उत्पादन सम्बन्ध जिउका तिउ रहने तर त्यस पुँजीवादी व्यवस्थाका प्रतिनिधिहरुलाई ठाउँका ठाउँ ढाल्ने कुरामात्र गर्नु भयो । यसरी त व्यवस्था यथावत रहने त्यसका प्रतिनिधिमा मात्र फेरवदल गर्ने कुरा आयो । देशमा शान्ति र समृद्वि तवमात्र सम्भव छ, जब समानतामा आधारित उत्पादन सम्बन्ध कायम हुन्छ ।

समाजवादी उत्पादन सम्बन्ध समानतामा आधारित हुन्छ र त्यहाँ समाजले जित्छ । समाजले जित्ने भनेको सबैले जित्ने भनेको हो । जहाँ असमानताले हार्छ त्यहाँ शान्ति कायम हुन्छ । शान्ति कायम हुने भनेको समाजमा एकता कायम हुने भनेको हो। एकतावद्व समाज बलियो हुन्छ र बलियो समाज सफल हुन्छ । सफलता समृद्विको परिचय हो ।

उत्पाद सम्बन्ध भनेको के हो ?
उत्पादन सम्बन्ध–उत्पादक शक्ति, उत्पादित माल र साधनमाथिको स्वामित्वको स्वरुप, मानविय सम्बन्धको रुप र वितरणको स्वरुप मिलेर बन्दछ । उत्पादक शक्ति–उत्पादनका साधन र मानविय श्रम मिलेर बनेको हुन्छ । उत्पादनका साधन–श्रमको वस्तु र श्रमको ओजार मिलेपछि मात्र बन्दछ । यसरी निर्माण भएको उत्पादन सम्बन्धलाई राज्यसत्ताको आधार हो । यहि आधार अनुकुल उपरिसंरचना बनेको हुन्छ ।

उत्कृष्ट उपरिसंरचना वा समाजका लागि त्यसको जग, जसलाई हामीले आधार भन्ने गर्छौं । त्यसमाथि फेरवदल ल्याउन अनिवार्य छ । त्यस्तो अवस्थामा हामीलाई भावनात्मक उत्तेजना हुदैन । हामी ठुला नेता–देउवा, ओली वा प्रचण्ड विरुद्व अर्थात व्यक्ति केन्द्रित संघर्ष गर्नु पर्दैन ।

आधार–समाजको उत्पादन सम्बन्धमा फेरवदल गरेर पुँजीवादी उत्पादनका ठाउँमा समाजवादी उत्पादन सम्बन्ध कायम गर्ने बितिकै सामाजमा निर्मित आर्थिक आधार जगले आफू अनुकुल उपरिसंरचना –सरकार, सेना, प्रहरी, संविधान, कानुन, अदालत, संस्कृति, भाषा र धर्म राजनीतिक दल आदि आफू अनुकुल स्वतः निर्माण गर्छ ।


त्यतिवेला उत्पादन सम्बन्धका आधारमा निर्माण भएको व्यवस्थाका प्रतिनिधि दलिय नेताहरु कि आधार अनुकुल आफुलाई बदल्छन् । कि भने उनीहरुका ठाउँमा नयाँ प्रतिनिधि चयन हुन्छन् । यसलाई प्रवृति केन्द्रित संघर्ष भनिन्छ । त्यसैले हामीले शान्ति र समृद्विका लागि व्यक्ति केन्द्रित होईन व्यवस्था केन्द्रित संघर्ष गरौं ।

हाम्रो देशको व्यवस्था शान्ति र समृद्विका लागि बाधक छ । यो बाधक पक्षलाई फेरवदल ल्याउन मानव शक्तिमा बलियो तागत निर्माण पहिलो सर्त हो । त्यो मनविय शक्तिको बलियो एकता संगठन निर्माणबाट सम्भव छ ।

अध्ययनको विषय वस्तु छनोट
संगठित शक्ति शान्ति र समृद्विका लागि पहिलो कुरा विश्वदृष्टिकोणमा प्रस्ट हुन जरुरी छ । गरिखाने वर्गको विश्वदृष्टिकोण भनेको द्वन्द्वात्मक ऐतिहाँसिक भौतिकवाद हो । यो दृष्टिकोणको लागि संगठित शक्ति दर्शन शास्त्र (विश्वदृष्टिकोणको अध्ययन गर्छ ।) वारे अध्ययनशिल हुन जरुरी छ ।

दोस्रो कुरा गरिखाने–(शान्ति र समृद्विको पक्षधर) वर्ग राज्यसत्ताको आधार–उत्पादन सम्बन्धको अध्ययन गरि त्यो बारे प्रष्ट हुन जरुरी छ । उत्पादन सम्बन्ध वा प्रणालीबारे प्रष्ट भएर आफ्नो संगठनलाई सशक्त र सु–सज्जित बनाउन राजनीतिक अर्थशास्त्र (आर्थिक प्रणालीको अध्ययन गर्छ ।) बारे गहिरो अध्ययनको खाँचो छ ।

यसरी विश्वदृष्टिकोण र उत्पादन सम्वन्धवारे प्रष्ट भए पछि त्यो वर्गको संगठित शक्ति सोहि अनुरुप समाज निर्माणमा जुट्नु पर्दछ । त्यो समाज भनेको समाजवादी समाज हो । समाजवाद भनेको वैज्ञानिक समाजवाद हो र त्यसबारे प्रष्ट हुन त्यो संगठित गरिखाने वर्गले समाज शास्त्र (मानव सभ्यताको ऐतिहासीक अध्ययन एवं निर्माण गर्छ ।) विषयलाई गहिरो अध्ययन गर्नु अनिवार्य आवश्यकता हो ।

स्कुलिङको स्तरिकरण
यी तीन विषयका आधारभुत स्कुलिङ लिए पछि मात्र मध्यम स्तरको र उच्च स्तरको अध्ययन गर्न सहज हुन्छ । अध्ययन विना राजनीतिको भावनात्मक विरोध त गर्न सकिएला तर वैचारिक/सैद्वान्तिक र व्यवहारिक अध्ययन सम्भव छैन । पुरानो पुस्ता नयाँ पुस्तालाई सिकाउने पक्षमा छैन ।

अध्ययन गरायो भने आफ्नै टाउको दुखाईको विषय बन्ने र वदमासी गर्न नपाईने हुदा बिग्रिएर अहिलेको असमानतामा आधारित पुँजीवादी उत्पादन प्रणाली अनुकुल भएर बसेको बुढो र पुरानो पुस्ता नयाँ पुस्तालाई संस्थागतरुपमा पढाउने पक्षमा छैन र हुदैन । त्यसैले हामी शान्ति र समृद्विको पक्षधर नयाँ पुस्ता (जो संगठित भएर बसेको छ) ले अध्ययनमा जोड दिनुपर्छ ।

अहिलेको व्यवस्था र राजनीतिमा नैतिक मूल्य मान्यताको विरोध गर्न र सहि मूल्य र मान्यता सहितको समानतामा आधारित समाजवादी उत्पादन सम्बन्ध कायम गर्ने हो भने अब शिक्षित र संगठित टिम आफुले पनि व्यवस्थित पढ्ने र आम संगठित शक्तिलाई व्यवस्थितरुपमा पढाउनु अहिलेको अपरिहार्य अनिवार्यता हो ।

अन्यथा एकछिन समाजमा भावनात्मक उत्तेजना पैदा गर्ने र कुनै व्यक्तिका विरुद्व रिस पोखेर बदला लिनेमै सिमित हुन्छौं । हाम्रो विरोध व्यक्तिको होईन प्रवृत्तिको हुन जरुरी छ । व्यक्तिको विरोधले समाजमा कुनै परिवर्तन ल्याउदैन । संविधानविद डा.भिमार्जुन आचार्यले ठुला नेतालाई हराएर शान्ति र समृद्वि ल्याउने कुरा गरे जस्तै हुन्छ । हामीले व्यक्तिवादी–पुँजीवादी शान्ति र समृद्वि विरोधी असमानतामा आधारित उत्पादन सम्बन्धको विरोध र समानतामा आधारित वैज्ञानिक समाजवादी समाजको पक्षमा वकालत गरिरहेका छौं ।

मार्क्सवादी राजनीतिक अर्थशास्त्रको मुख्य विषय
अहिलेको विकसित भुमण्डलीकृत पुँजीवादी उत्पादन प्रणालीलाई वुझ्न हामीले मार्क्सवादी राजनीतिक अर्थशास्त्रको गहिरो अध्ययन गर्नु पर्दछ । मार्क्सवादी राजनीतिक अर्थशास्त्रको मुख्य विषय वस्तु भनेको –‘अतिरिक्त मूल्यको सिद्धान्त, निरपेक्ष अतिरिक्त मूल्य, सापेक्ष अतिरिक्त मूल्य र अधिक अतिरिक्त मूल्य’ अध्ययन गर्नु जरुरी छ । साभारःअग्रिम साप्ताहिक