आज रातिदेखि भारी वर्षा हुने क्रम बढ्ने

काठमाडौ, १८ असोज ।
आज रातिदेखि भारी वर्षा हुने क्रम बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी वायुको प्रभावका कारण आज दिउँसोदेखि पानी पर्ने क्रम बढ्दै जाने र राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा प्रदेश १, मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

               

महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै भोलि दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै भोलि राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी परेसँगै बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै यात्रा गर्दा तथा भिरालो जमिन आसपासका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

आजदेखि देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने भएकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी तिनाउ, बाणगङ्गा र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने अनुमान रहेकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ ।

भोलिदेखि आउँदो शनिवारसम्म पश्चिम सेती, महाकाली र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने भएकाले विशेष सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।