दाङमा दुई ओटा टिप्पर एक आपसमा ठोक्कीदा दुई जना घाइते

दाङ, १० मंसिर ।
दाङमा दुई ओटा टिप्पर एक आपसमा ठोक्कीदा दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार दाङको बंगलाचुली गाँउपालिका–३ मेरडाँडा थालखानीमा आज दिउँसो करिब साढे ३ बजेतिर दुई ओटा टिप्पर एक आपसमा ठोक्कीएको हो ।

थाराबाट चुनढुङ्गा लोड गरि सम्राट सिमेन्ट तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२००१ ख ०२२८ नम्बरको टिप्पर र विपरीत दिशाबाट जाँदै गरेको रा १ ख ७९ नम्बरको टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।


डिएसपी शाहका अनुसार लुम्बिनी प्रदेश ०२००१ ख ०२२८ नम्बरको टिप्पर चालक प्युठानको माण्डवि गाउँपालिका–२ का २५ वर्षका विकास पुन मगर र रा १ ख ७९ नम्बरको टिप्पर चालक सरुमारानी गाँउपालिका–३ का ३६ वर्षका प्रेमबहादुर बराल घाइते भएका छन् । पुन मगरको दुबै हात खुट्टामा चोट लागेको छ । घाइते चालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चुनढुङ्गा बोकेको लुम्बिनी प्रदेश ०२००१ ख ०२२८ नम्बरको टिप्पर सडकबाट करिब १० मिटर तल खसेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।