जयन्ती चौधरी
तुलसीपुर, ५ मंसिर ।
दाङको तुलसीपुरमा करदाता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मंगलबार “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नाराका साथ आयोजित यो कार्यक्रम १३औं राष्ट्रिय कर सप्ताहको अवसरमा आयोजना गरिएको हो।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरको आयोजना तथा तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न कार्यक्रममा कर प्रणाली र व्यवसायीका अधिकार तथा कर्तव्यबारे विस्तृत छलफल भएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनले कर प्रणालीप्रति व्यापारीका दृष्टिकोण परिवर्तन हुँदै गएको तथ्यलाई उल्लेख गरे।
उनले विगतमा कर कार्यालयको गाडी देख्नासाथ पसलको सटर बन्द गरेर भाग्ने प्रवृत्ति अब अन्त्य भएको र व्यवसायीले कार्यालयसँग खुलेर संवाद गर्न थालेको बताए। टण्डनले यो अन्तरक्रियाको मुख्य उद्देश्य आर्थिक ऐन २०८१ ले व्यवसायीका लागि उपलब्ध गराएको सेवा र सुविधाबारे जानकारी दिनु रहेको स्पष्ट पारे। साथै, उनले व्यवसायीका वास्तविक गुनासो र समस्याहरू सम्बोधन गर्दै राजस्व प्रणालीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। ‘कर कार्यालयको भूमिका दण्ड र जरिवाना लगाउन मात्र होइन, व्यवसायीलाई मार्गदर्शन र सहजीकरण गर्नेतर्फ पनि केन्द्रित छ,’ उनले भने।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो । उनले यो अन्तरक्रियाले व्यवसायी र कर कार्यालयबीच विश्वास र समन्वय कायम गर्ने आशा व्यक्त गरे।
कार्यक्रममा नेपाल अडिटर एसोसिएसन, दाङका अध्यक्ष तथा लेखा परिक्षक ललित बहादुर घर्ति र विरेन्द्र महराले राजस्व प्रणालीबारे व्याख्या गर्दै व्यवसायीलाई करका विभिन्न पक्षमा सचेत गराएका थिए ।
उनीहरूले नेपालको राजस्व प्रणाली, कानूनी र संस्थागत व्यवस्था तथा व्यवसायीका दायित्वबारे प्रस्ट पारेका थिए । कार्यक्रमको विषय प्रवेश आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत ओपेन्द्र पुनले गरेका थिए । उनले राजस्व प्रणालीलाई सही रूपमा बुझ्न र व्यवसायीका गुनासा सम्बोधन गर्न कार्यालय प्रतिबद्ध रहेको जानकारी दिए। साथै संघका उपाध्यक्ष नरेशराज भण्डारीले स्वागत गरेको कार्यक्रमको सहजिकरण संघका प्रेस संयोजक शरद रेग्मीले गरेका थिए ।
व्यवसायीको सहजीकरणमा अग्रसरता कार्यक्रमको दौरान व्यवसायीका गुनासा सुन्ने र समाधान गर्ने पहललाई प्राथमिकता दिनु पर्ने कार्यक्रममा सहभागीहरूले बताए । व्यवसायीले कर प्रणालीप्रतिको आफ्नो जिज्ञासा राख्दै सरकारको नीतिगत प्रस्टताको माग गरे।
यो कार्यक्रमले स्थानीय व्यवसायी र कर प्रशासनबीच सहयोग र विश्वासको वातावरण निर्माणमा ठूलो योगदान पुर्याएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ। यस्ता अन्तरक्रियाहरूले व्यवसायीहरूलाई कर प्रणालीमा अझ जिम्मेवार बनाउने र कर प्रशासनलाई जनमैत्री बनाउने अपेक्षा गरिएको छ।
लाइभदाङ । ५ मंसिर २०८१, बुधबार ०९:४० बजे