तुलसीपुरमा कलेजो जाँच फरक ल्याबमा फरक रिपोर्ट

टेकराज भण्डारी
तुलसीपुर, ६ भदौ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ निबासी ७६ बर्षका दामोदर अधिकारी अस्वस्थ भएपछि साउन २८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना भए ।

अस्पतालमा उनको कलेजे(एलएफटी) जाँच गरियो । दिउँसो १२ बजेतिर रिपोर्ट आयो । ल्याब रिपोर्टमाा कलेजोको जीपीटी २०७५ र जीओटी १९७१ देखियो । ल्याब रिपोर्टमा उच्च देखिएपछि उनलाई राप्ती प्रादेशिक अस्पताल राखियो ।

उनको फेरि ३० साउनमा निजि जिनोमिक डायग्नोस्टीक ल्यावोरेटोरीमा कलेजो परीक्षण गर्दा रिपोर्टमा जीपीटी ३६.४ र जीओटी ३३.७ आयो जुन सामान्य थियो । निजिमा परीक्षण गरेपछि पुनः ३० गते नै राप्ती प्रादेशिक अस्पतालमा परिक्षण गरियो ।

जहाँ जीपीटी १४६५ र जीओटी १३५८ आयो, जुन उच्च हो । ३१ गते पुनः परिक्षण गरियो राप्ती प्रादेशिक अस्पतालमा जीपीटी १३८५ र जीओटी ९०५ आयो ।

३२ गते फेरि उनको राप्ती प्रादेशिक अस्पतालमा परिक्षण गराउँदा जीपीटी १२३० र जीओटी ४८६ आयो । तर अस्पतालकै एक चिकित्सिकले ल्याब रिपोर्टमाथि शंका गरेर बाहिरको ल्याबमा पुनः परीक्षण गराउन सुझाव दिए ।


बाहिरको ३ वटा ल्याबमा परीक्षण गराउँदा फरकफरक ल्याब रिपोर्ट आयो , तर रिपोर्ट उच्च नै आयो । नेश्नल प्याथमामा जीपीटी ९६० र जीओटी ५३४ आयो ।

त्यस्तै मेट्रो प्याथमा ल्याब परीक्षण गर्दा जीपीटी २६६.८ र जीओटी ३३७.५ आयो । जिनोमिक डायग्नोस्टीक ल्यावोरेटोरीमा जीपीटी ३६५ र जीओटी ४०४ आयो ।

यो रिपोर्टले जिनोमिक डायग्नोस्टीक ल्यावोरेटोरीको अघिल्लो ल्याब रिपोर्ट नै गलत सावित भयो । ‘ल्याबको गलत रिपोर्टले ज्यानै जान सक्ने सम्भावना हुन्छ’, एक चिकित्सकले भने, ‘यो ल्याबको चरम लापरवाही हो ।’