दर्शनशास्त्रको आधारभूत प्रश्न

आजाद खड्का
१. विषय प्रवेश
दर्शनको आधारभूत प्रश्न भनेको जीवन र जगतको निर्माण सम्बन्धी प्रश्न हो । जीवन र जगतको निर्माण सम्बन्धी आधारभूत प्रश्नबाट दार्शनिक प्रश्नहरूको विकास भएको पाइन्छ । अर्थात चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो । सत्ताको अर्को अर्थ विश्व हो । विश्व भनेको प्रकृति, समाज र मानव जाति पर्दछ । यी विषयहरूको सामान्य अध्ययन नै दर्शनशास्त्रको आधारभुत प्रश्न र मुख्य विषय वस्तु हुन । दर्शन शास्त्रले यी विषयहरूमाथि अध्ययन खोज अनुसन्धान गरि विषय वस्तुको समग्र विश्लेषण र संश्लेषण गर्ने गर्दछ ।

भौतिकवादी दार्शनिक प्रणाली हवस वा भाववादी दार्शनिक प्रणाली यी सबैमा आधारभुतरूपमा अनिवार्य जस्तै तीन तत्व हुन्छन् । ति तत्वहरू मध्ये एउटा र पहिलो पक्ष दर्शनको वर्गिए पक्षधरता, दोस्रो दार्शनिक सिद्धान्त र तेस्रो पक्ष वा तत्व हो पद्धति ।

हामीले यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने हामीले वा अरूले जसले वकालत गरेपनि त्यो दर्शनले कुन वर्गको पक्ष लिन्छ भन्ने कुरा मुख्य हुन जान्छ । समाजमा दुई वर्ग मुख्यतः हुने खाने र हुदा खाने (पूँजीपति र मजदुर) रहि आएका छन् । ति वर्ग मध्य कसको पक्ष लिन्छ र कुन वर्गको सेवा गर्छ भन्ने कुरा सबै भन्दा पहिले जान्न जरूरी हुन्छ । यसैलाई नै दर्शनको पक्षधरता भनिएको हो । हामीले वर्ग पक्षधरताको बारेमा निक्र्यौल गरिसके पछि दार्शनिक प्रणालीको दोस्रो महत्वपूर्ण पक्ष दार्शनिक सिद्धान्त हो । दार्शनिक सिद्धान्त भनेको भौतिकवादी कि भाववादी–अध्यात्मवादी वा आदर्शवादी दर्शन भनिएको हो ।

यी सिद्धान्तहरूलाई दार्शनिक सिद्धान्त भनिन्छ । अव हामीले माथि भने अनुसार अर्को तेस्रो महत्वपूर्ण पक्ष भनेको दार्शनिक पद्धति हो । यो पद्धतिको काम यो दर्शन गतिशिल छ कि जड ? भन्ने सवालहरूको अध्ययन गर्ने तरिका हो । हामीसंग दुई पद्धति रहेका छन् । द्वन्द्ववादी पद्धति र अधिभुतवादी पद्धति । द्वन्द्ववाद भनेको गति हो भने अधिभूतवाद जड र अस्थिर एवं गतिहिन । यहाँ हामीले बुझ्नु पर्ने कुरा के हो भने दर्शन शास्त्रले आफ्नो अध्ययनको सवालहरू दर्शनको पक्षधरता, सिद्धान्त र पद्धतिलाई आधार मान्द छ । यसैका आधारमा आफुलाई एउटा वर्गको पक्षमा र सेवामा उभ्याउने गर्दछ ।

सर्वहारा वर्गले माक्र्सवादी दर्शनलाई आफ्नो जीवन व्यवहारमा लागु गर्नुपर्दछ । माक्र्सवादी दर्शनका बारेमा कार्ल माक्र्स भन्दछन्–“जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार प्राप्त गर्दछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार प्राप्त गर्दछ ।” (–कार्ल माक्र्स, माक्र्स, एंगेल्स संकलित रचना भाग ३ पृ. १८२) माक्र्सले यसरी माक्र्सवादी दर्शनलाई सर्वहारा वर्गको बौद्धिक हतियार र सर्वहारा वर्ग दर्शनको भौतिक हतियार भनेर दर्शनको वर्गिय पक्षधरतालाई प्रष्ट पारेका छन् ।

वर्ग समाजमा कुन दर्शन सत्यको सन्निकट तथा वैज्ञानिक रहेको छ ? यसले कुन वर्गको पक्ष लिन्छ भन्ने कुरा महत्वपूर्ण रहन्छ । उनले अझ अगाडि बढन भनेका छन् –“दार्शनिकहरूले संसारलाई विभिन्न तरिकाले व्याख्या मात्र गरेका छन् । तर, मुख्य कुरा त्यसलाई बदल्नु हो ।” (फायरवाख सम्बन्धमा माक्र्सको अभिमत, सन १८४५ मा प्रस्तुत ११ वटा सुत्रहरूमध्ये अन्तिम सुत्र)

वर्ग समाजमा दर्शनले कुन वर्गको पक्ष लिन्छ अर्थात प्रतिनिधित्व गर्छ भन्ने कुरा त छदैछ । साथ साथै कुन दर्शन कति सत्यको निकट र विज्ञानसंगत छ भन्ने कुराको पनि निकै ठुलो अर्थ रहन्छ । कुन सहि छ र कुन दर्शन गलत छ भन्ने कुराको छिनोफानो सम्बन्धित समाजको भौतिक अवस्था र त्यहाँको सामाजिक व्यवहारद्वाररा गरिने कुरा हो । माक्र्सवादी दर्शन सर्वहारावर्गको आफ्नै मुक्तिको दर्शन हो । यसै दर्शनलाई हामीले माक्र्सवादी सिद्धान्त भनि रहेका छौं । यसले संसार भरिका उत्पीडित मानवजाति राष्ट्र र समुदायका पक्षमा वकालत गर्छ । शोषण दमन अन्याय अत्याचारको भण्डाफोर गर्छ । वर्ग विभेद लगाएतका सम्पूर्ण खाले असमानताको उन्मुलन गर्ने र समानतामुलक समाज व्यवस्था निर्माण गर्ने सत्य र तथ्यमा आधारित दर्शन एवं सिद्धान्त हो ।

यो संसार कसरी बन्यो ? भनि कारण खोज्नेहरु, वस्तु (पदार्थ) पहिलो हो । पदार्थले चेतनाको निर्धारण गर्दछ । प्रकृति र मानिले काल्पनिक ईश्वरको रचना गरेका हुन । यो संसारलाई जन्न बुझ्न सकिन्छ वा बोध गम्यछ भन्नेहरू कारणतावादी भौतिकवादी हुन । यो संसार कसले बनायो भनि अन्ततः काल्पनिक ईश्वरको जिम्मा लगाईदिनेहरू चेतनालाई पहिलो मान्नेहरू, चेतनाले वस्तुको जन्म दिएको निश्कर्ष निकाल्नेहरु र यो संसारलाई जान्न बुझ्न सकिदैन, अर्थात अबोधगम्य छ भन्नेहरू कर्तावादी, भाववादी–अध्यात्मवादी आदर्शवादी हुन ।

दर्शनको आधारभुत सवाल
हामीले माथि पनि चर्चा गरेका छौं कि जीवन र जगतको निर्माण सम्बन्धी आधारभुत सवालबाट दार्शनिक सवालहरूको विकास भएका हो । यस आधारभूत प्रश्नका दुई पक्ष एवं पहिलो सवाल –यो संसार कसले बनायो ? भन्ने र अर्को यो संसार कसरी बन्यो ? कसले बनायो भन्ने प्रश्न कर्तावादी हो । यसमा कर्ताको खोजी हुन्छ र ईश्वर नामको काल्पनिक कर्तामा गएर टुंगिन्छ । कसरी बन्यो भन्ने प्रश्न कारणतावादी हो ।

यसमा कारणको खोजी हुन्छ र पदार्थको गतिमा गएर टुंगिन्छ । कर्तावादी चिन्तनबाट भाववादी वा अध्यात्मावादी दर्शनको विकास भएको र कारणतावादी चिन्तनबाट भौतिकवादी दर्शनको विकास भएको देखिन्छ । दर्शनको आधारभूत दोस्रो महत्वपूर्ण सवाल वस्तु (पदार्थ) पहिलो हो कि चेतना पहिलो हो ? अर्थात वस्तुले चेतनाको निर्धारण गर्छ कि चेतनाले वस्तुको निर्धारण गर्दछ ? साथै ईश्वरले मानिस वा प्रकृतिको सृष्टि गरेको हो कि प्रकृति र मानिसले ईश्वरको रचना गरेको हो? दर्शनको तेस्रो आधारभुत सवाल – यो संसार बोधगम्य छ ? अर्थात यो संसारलाई जान्न बुझ्न सकिन्छ कि सकिदैन ? भन्ने मुख्य तिन सवालहरू हुन ।

यी प्रश्नमा यो संसार कसरी बन्यो ? भनि कारण खोज्नेहरू, वस्तु (पदार्थ) पहिलो हो । पदार्थले चेतनाको निर्धारण गर्दछ । प्रकृति र मानिले काल्पनिक ईश्वरको रचना गरेका हुन । यो संसारलाई जन्न बुझ्न सकिन्छ वा बोध गम्यछ भन्नेहरू कारणतावादी भौतिकवादी हुन । यो संसार कसले बनायो भनि अन्ततः काल्पनिक ईश्वरको जिम्मा लगाईदिनेहरू चेतनालाई पहिलो मान्नेहरु, चेतनाले वस्तुको जन्म दिएको निश्कर्ष निकाल्नेहरू र यो संसारलाई जान्न बुझ्न सकिदैन, अर्थात अबोधगम्य छ भन्नेहरू कर्तावादी, भाववादी–अध्यात्मवादी आदर्शवादी हुन ।


अध्यात्मवाद र भौतिकवादका विच फरक के छ भने भौतिकवादले प्रकृति, मानव समाज, व्यक्ति र घटनाक्रममा त्यसको काम र कारणको खोजी गर्नुका साथै त्यसलाई भौतिक वस्तुको उपज मान्दछ । अध्यात्मवादीले त्यसको ठिक उल्टो जीवन र जगतका सवै वस्तु र घटनाक्रम चेतनाको उपज मान्दछ । यहि फरकका कारण अध्यात्मवाद असत्यको पक्षधर र शोषण, दमन अन्याय अत्याचारी पूँजीपति वर्गको पक्षधर भयो भने कारणतावादको पक्षधर भौतिकवादी दर्शन असमानताको अन्त्यको लागि सर्वहारवर्गको मुक्तिको सिद्धान्त र दर्शन हुन गयो ।

अध्यात्मवाद र भौतिकवादका बिच फरक के छ भने भौतिकवादले प्रकृति, मानव समाज, व्यक्ति र घटनाक्रममा त्यसको काम र कारणको खोजी गर्नुका साथै त्यसलाई भौतिक वस्तुको उपज मान्दछ । अध्यात्मवादीले त्यसको ठिक उल्टो जीवन र जगतका सबै वस्तु र घटनाक्रम चेतनाको उपज मान्दछ ।

यसबारेमा कार्ल माक्र्स भन्दछन्–“दार्शनिकहरूले भौतिकवाद र भाववादको विषयमा जुन–जुन खालको जवाफ दिए । त्यसबाट दार्शनिक चिन्तन दुई पक्षमा विभाजित भयो । जसले प्रकृति भन्दा चेतना प्रधान छ भन्ने स्विकार गरे, उनीहरूले यो संसारको उत्पत्ति कमोवेश रूपमा चेतना नै प्रधान कारण हो भन्ने पक्षमा खडा भए । यस पक्षमा हेगेल (सन १८७० देखि१८३१) को धारणा इसाई धर्मको बिचार भन्दा पनि जटिल र असंभव खालको थियो । यिनीहरू सबै भाववादी दर्शनको पक्षधर हुन । जसले प्रकृतिको प्रधानतालाई स्वीकार गरेर त्यसैको विश्वासमा रहनेहरू स्वाभाविकरुपमा भौतिकवादी दर्शनको खेमासंग जोडिए ।”(कार्ल माक्र्स, माक्र्स एंगेल्स संकलित रचना भाग ३ )

भौतिकवादी र अध्यात्मवादी दार्शनिकहरू
भौतिकवाद कारणतावादी दर्शन हो । यसले पदार्थलाई पहिलो र चेतनालाई दोस्रो मान्दछ । यसको संसारका सवै वस्तु गतिशिल र एक अर्कासंग अन्तरसम्बन्धित रहेको निश्कर्ष छ । यसले जीवन र जगत कुन–कुन कारणहरूले गर्दा निर्माण भएको हो ? र जीवन र जगत कुन पदार्थले बनेको हो भनि कारणको खोजी गर्दछ । यसले भौतिक पदार्थले चेतना निर्माण गर्ने र चेतना भौतिक पदार्थको गतिको सर्वोच्च रुप भएको मान्दछ ।

भौतिकवादी दर्शनले प्रकृतिका वस्तुहरू एक अर्कासंग अन्तरसम्बन्धित भएको र ईश्वरले मानिस वा प्रकृति निर्माण गरेको नभई वर्गीय समाजको निर्माण भएपछि मानिसको कल्पनास्वरूप ईश्वर तयार गरिएको हो भन्दछ । यसले हरेक वस्तु र घटनाहरू गतिशील भएको र जीवन र जगतलाई जान्न बुफ्न सकिने एवं सोका लागि खोज अनुसन्धान जरूरी हुने कुरालाई आत्मसाथ गर्दछ । योे निश्कर्ष निकाल्ने दार्शनिकहरू– वृहस्पति, चार्वाक, ग्रिक दार्शनिक डेमोक्रेट्स, अरस्तु, चिनिया दार्शनिक लाओत्से, लुडविख फायरबाख, कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स लगाएतका दर्शनशास्त्रीहरु भौतिवादी हुन् ।

अध्यात्मवादी दर्शन कर्तावादी दर्शन हो । यसले चेतनालाई पहिलो र वस्तुलाई दोस्रो मान्दछ । यसले चेतनाका कारण वस्तुको उत्पत्ति भएको मान्दछ । जीवन र जगत ईश्वरद्धारा रचना गरिएको र पदार्थ चेतनाको उपज भनि निश्कर्ष निकाल्दछ । जीवन र जगतका हरेक वस्तु र घटनाहरूलाई अलग थलग रहेको र जीवन र जगतलाई बुझ्न नसकिने निश्कर्ष सहित यसलाई दैवको लिला भएको मान्दछ ।

वस्तुहरू उत्पत्ति र विलुप्त हुन्छन् र हरेक वस्तु र घटनाहरू स्थीर, शाश्वत् वा नित्य रहन्छन् भनि दावी गर्दछ । यो निश्कर्ष निकाल्ने दार्शनिकहरू – ग्रिक दार्शनिक प्लेटो , जर्मन दार्शनिक हेगेल, जर्मन दार्शनिक नित्से, वेदान्त दर्शन, स्कटल्याण्डका दार्शनिक ह्युम, जमनीका दार्शनिक काण्ट, लगाएतका दार्शनिकहरू अध्यात्मवादी–भाववादी दार्शनिक हुन् ।
कसले के भने ?
ग्रीक दार्शनिक प्लेटोले परम विचारलाई प्रमुख बताए, जर्मन दार्शनिक हेगेलले निरपेक्ष विचार प्रमुख हो भने । जर्मन दार्शनिक नित्सेले इच्छा शक्ति प्रमुख भएको बताए । बेदान्त दर्शनले ब्रह्म सत्य, जगत मिथ्या भएको जिकिर गरे । स्कटल्याण्डका दार्शनिक ह्युमले जगतलाई जान्न बुझ्न नसकिने अर्थात अबोधगम्य छ भने । जर्मनीका दार्शनक कान्टले पनि जगत अबोधगम्य भएको निश्कर्ष निकाले । यी सबै दार्शनिकहरू माक्र्सले भने जस्तै आदर्शवादी, अध्यात्मवादी अर्थात भाववादी दर्शनको पक्ष पोषण गरेका कारण उनीहरूलाई आदर्शवादी–अध्यात्मवादी दार्शनिकमा गनिए ।

भौतिकवादी दार्शनिकहरुले जीवन र जगत पञ्चतत्व (पृथ्वी, जल, वायु, तेज (प्रकाश) र आकाश) बाट बनेको निश्कर्ष निकाले । वृहस्पतिलाई भौतिकवादी मुख्य दार्शनिक मानिन्छ । वृहस्पतिको दर्शन नै चार्वाक दर्शन वा लोकाएत दर्शनको स्रोत भएको मानिन्छ । लोक (जनता)को हितमा उभिएको दर्शन भएकाले उक्त दर्शनलाई लोकाएत दर्शन भनिएको हो । अध्यात्मीक दर्शनले अघि सारेका पूर्वजन्म र पूनर्जन्म जस्ता मान्यताहरूलाई चार्वाक दर्शनले ठाडो चुनौति दिएको थियो ।

चार्वाकले सारा जीवन र जगतको अस्तित्व पञ्चतत्वमा निर्भर रहेको निश्कर्ष निकाल्दै पूर्वजन्म र पुनर्जन्म नहुने, मानिसले वर्तमानमा नै सुख सुविधा लिनु पर्ने मान्यता अघि बढाए । ग्रीक दार्शनिक डेमोक्रेट्सले जगतको अस्तित्वमा प्रमाणुको भुमिकालाई प्रमुख भएको ठहर गरे पनि उनले जगतलाई जान्न बुझ्न सकिने अर्थमा परिभाषित गरे । चिनिया दार्शनिक लाओत्सेले जीवन र जगतको प्रमुख स्रोत प्रकृति भएको निश्कर्ष निकाले लुडविक फायरबाखले पदार्थबाट पनि जगतको उत्पत्ति भएको निश्कर्ष निकाले । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले १८४८मा कम्युनिष्ट लिगको ‘कम्युनिष्ट घोषणापत्र’ लेखेर पहिलो पटक मानव जातिको लागि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको विकास गरेको पाउछौ ।

संसारभर जति पनि दार्शनिक प्रणालीहरू वा चिन्तनहरू छन । ती सबै चिन्तन प्रणालीहरू अन्ततः भौतिकवाद र अध्यात्मवादमा आएर विभक्त हुन्छन । सारतः रुढीवाद अन्धता, व्यक्तिवाद र ईश्वरवादको प्रतिनिधित्व गर्ने दर्शन भनेको अध्यात्मवादी दर्शन हो भने विज्ञान अन्वेषण र प्रगतिको प्रतिनिधत्व गर्ने दर्शन भौतिकवादी दर्शन हो । सर्वहारावर्गको यहि भौतिवाद दर्शन वा सिद्धान्तका आधारमा निरन्छर अन्याय र अत्याचारको पर्यायवाची दासमालिक व्यवस्था, सामन्ती व्यवस्था र पूँजीवादी–साम्राज्यवादी व्यवस्था परिवर्तन गरी वैज्ञानिक समाजवादी–साम्यवादी समाज निर्माणको लक्ष्य राखी संघष गरिरहेको छ । साभार : अग्रिम साप्ताहिक