निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ : प्रधानमन्त्री देउवा

तुलसीपुर, १८असार ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नभएको बताएका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र केही मन्त्रीहरु निजगढ पुगेका थिए । उनीहरु सबैले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विकल्प नभएको भन्दै तत्कालै काम सुरु गर्नुपर्ने धारणा राखे ।

हालै सर्वोच्च अदालतले निजगढ विमानस्थलसम्बन्धी एक फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । जसमा निजगढमा विमानस्थल बनाउने विषयमा हालसम्म गरेको निर्णय र काम रोक्न आदेश दिएको छ । यदि विमानस्थल निर्माण गर्नुपर्ने भए विज्ञहरुको अध्ययन टोली बनाई कम भन्दा कम वातावरणीय क्षति हुने ठाउँ छनोट गरी निर्माण गर्न आदेश दिएको थियो । सर्वोच्चको उक्त फैसलाले निजगढमै विमानस्थल निर्माणको बाटो नरोकेको बुझाइमा रहेको सत्तारुढ दलका नेताहरु शनिबार स्थलगत रुपमै प्रस्तावित विमानस्थल अवलोकन गर्न पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले निजगढ विमानस्थल बनाउने काममा अब ढिलासुस्ती नहुने उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

प्रधानमन्त्री देउवाले सुरुमा दुई वटा रनवेसहितको विमानस्थल निर्माण छिट्टै सुरु गर्न निर्देशन दिएका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । तराई–मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएका आयोजना रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माणको काम नरोकिने उद्घोष गरे ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रुपैयाँको नोक्सानी हुने बताए ।


सो अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ स्वागतयोग्य रहेको बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेसको अर्थतन्त्रमा टेवा पुग्ने, यस क्षेत्रका नागरिकलाई रोजगारी सिर्जना हुने हुँदा निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नरहेको बताए ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवाले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सङ्कल्प लिएको उल्लेख गर्दै आफूले पनि त्यसमा सहमति जनाएको बताइन् ।

कार्यक्रममा वनमन्त्री रामसहाय यादव, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलगायत सहभागी थिए ।

उनीहरुले विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएका प्राधिकरणका महानिर्देशक अधिकारीले बताए । टोलीले जीतपुर–सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको प्राधिकरणले जनाएको छ ।