पत्रकारिता व्यक्तिगत स्वार्थमा हावि हुनुहुँदैन : बास्तोला

दाङ, ३० जेठ ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सभ्य समाज निर्माणका लागि निष्पक्ष पत्रकारिताको अभाव हुन नहुने बताउनुभएको छ ।

स्वतन्त्र पत्रकार संघ नेपाल, दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष बास्तोलाले पत्रकारिता पेशा नितान्त समाजका लागि गरिने इमानको पेशा भएकाले व्यक्तिगत इच्छा, आकांक्षा र स्वार्थमा हावि हुन नहुने बताउनुभयो । उहाँले स्वतन्त्र पत्रकारले जुनसुकै राजनैतिक पाटीमा आस्था राखेपनि पत्रकारितामा कलम चलाउदा निष्पक्ष र स्वतन्त्र ढंगले चलाउनुपर्नेमा जोड दिनुभयो । ‘स्वतन्त्र पत्रकारले कुनै पनि पाटीमा आस्था राख्नु नै हुँदैन् भन्ने होइन् ।’ उहाँले भन्नुभयो।‘ पत्रकारिता पेशामा हुँदा कलम स्वतन्त्ररुपले चल्नुपर्छ , पत्रकारितामा कसैको आग्रह पुर्वाग्रह हुनुहुँदैन् भन्ने नै हो ।’

स्वतन्त्र पत्रकारले कुनै पनि राजनैतिक पाटीमा आस्थै राख्नुहुँदैन भन्ने आम बुझाई रहेको उहाँको भनाई छ । निश्वार्थ भएर समाजका लागि सत्यको पक्षमा कलम चलाउनु नै स्वतन्त्र पत्रकारिता भएको उहाँले बताउनुभयो । उहाँले नेपालमा पछिल्लो समय एकपक्षिय ढंगले गरिने पत्रकारिता मौलाउँदै गएकोले स्वतन्त्र र मर्यादित पत्रकारिताको आवश्यकता खड्कीन थालेको बताउनुभयो ।


स्वतन्त्र पत्रकारितको अभाव हुँदा शहरदेखि गाउँसम्म भ्रष्टाचार, विकृति र विसंगती मौलाउँदै गएको उहाँको भनाई छ । ‘सरकारलाई चेक एण्ड ब्यालेन्समा ल्याउने भनेकै पत्रकारिता हो, तर पछिल्लो समय निष्पक्ष, स्वतन्त्र र सत्यको पक्षमा कलम कम चल्दा समस्या देखिएको छ ।’ उहाँले भन्नुभयो–‘ पत्रकारले स्वतन्त्र र निष्पक्षरुपमा समाचार लेखेर पत्रकारिताको साँख जोगाउनुपर्छ ।’

कार्यक्रममा निवर्तमान अध्यक्ष केबि मसालले राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतलाई साँख जोगाउन स्वतन्त्र पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले पत्रकारिता पेशा सुन्दर समाजका निर्माणको बलियो पक्ष भएकाले पत्रकारले कुनै पनि लोभ ,लालच र व्यक्तिगत स्वार्थमा नभई समाजको हितका लागि समाचार लेख्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारको अर्को सबैभन्दा महत्वपूर्ण पाटो भनेको आर्थिक पारदर्शीता भएको पनि बताउनुभएको छ । यस्तै अर्का नवनिर्वाचित केन्द्रीय सदस्य दिपक कुमालले पत्रकारको पेशागत सुरक्षाका लागि सम्बन्धित संचारसंस्था र सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

स्वतन्त्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष जीतसागर जीएमको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष बास्तोलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा केन्द्रीय अध्यक्ष बास्तोलासहित केन्द्रीय सदस्य जीतसागर जी.एम, शरद शर्मा, डिलाराम भण्डारी (मिलन) र दिपक कुमाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । त्यस अवसरमा निवर्तमान केन्द्रीय अध्यक्ष केबि मसालले नवनिर्वाचित अध्यक्ष बास्तोलालाई निर्णय पुस्तिका हस्तान्तरण गर्नुभएको छ । उपाध्यक्ष पुरुषोत्तम अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव बसन्त पौडेलले गर्नुभएको हो ।