तुलसीपुरमा  सवारी ठक्करबाट एक पैदलयात्रीको मृत्यु

दाङ, १७ असोज । दाङको तुलसीपुरमा  सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-१४ गोठुवाका अन्दाजी ६५ वर्षिय सन्तु चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बिहीबार साँझ साढे ७ वजेको समयमा चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा तुलसीपुर १२ हरिपौरामा फेला परेका थिए ।


अचेत अवस्थामा भेटिएका चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । गम्भीर अवस्थामा भेटिएका चौधरीको बिहीबार साँझ नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलले ठक्कर दिएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गर्दा मोटरसाइकलको लेखगार्ड घस्रिएको जस्तो देखिएको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । सवारीसाधन र चालक फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो ।