‘मेट्रो कलेज’ले गणेशपुर पार्कमा बोटानिकल गार्डेन बनाउने

तुलसीपुर, १ जेठ ।
दाङको तुलसीपुर स्थित मेट्रो कलेजले पर्यटकीय स्थल गणेशपुर पार्कमा वनस्पति उद्यान(बोटानिकल गार्डेन) निर्माण गर्ने भएको छ । सोही अनुसार पार्क ब्यबस्थापन समितिसंग सम्झौता भएको छ । कलेज प्रमुख बसन्त आचार्य र पार्क ब्यबस्थापन समितिका अध्यक्षबीच सम्झौता भएको छ ।

साथै कलेजमा प्लान्ट साईन्स र फरेष्ट्री कार्यक्रम अन्तर्गतका विद्यार्थीहरुले त्यहाँ बोटानिकल गार्डेन सञ्चालन गर्नेछन् । त्यो संगै विद्यार्थीहरुलाई प्रयोगात्मककालागि बाहिर जानुपर्ने अबस्था नआउने कलेज प्रमुख आचार्यले बताउनुभयो । “बोटानिकल गार्डेन नहुँदा विद्यार्थीहरु अनुसन्धानकालागि जिल्ला बाहिर जानुपर्ने अबस्था थियो”,उहाँले भन्नुभयो “तर,बोटानिकल गार्डेन निर्माण भएमा तुलसीपुरमै धेरै सहज हुनेछ ।”


पार्क दाङको पर्यटकीय गन्तब्य हो । राप्ती शान्ति उद्यान नामले चिनिने उक्त पार्कमा अवलोकन गर्नेहरुको संख्या बढिरहेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार कलेजका विद्यार्थीहरु आएसंगै पार्कलाई आवश्यक पर्ने प्राबिधिक जनशक्ति र सहयोग गर्ने, पार्कमा रहेका फूल, वनस्पति, बोट विरुवा आदिको विस्तृत विवरण सहित लेवलिङ गर्ने, उद्यानको खाली वा ब्यबस्थापन गरेको जग्गामा ब्यबसायिक रुपमा नर्सरी निर्माण गरि विक्री वितरण गर्ने, पर्यटकलाई लोभ्याउने विभिन्न खालका खेति गर्नेलगायतका सहमति भएको छ ।

त्यस्तै वन विज्ञान र कृषि विज्ञान विषयमा सामुदायिक वनका उपभोक्ताबाट एक जनालाई ५० प्रतिशत छात्रबृति उपलब्ध गराउने, कलेजका विद्यार्थीलाई पार्क प्रवेशमा छुट दिनेलगायतका सहमति भएका छन् ।