तुलसीपुरका पहाड दोहन गर्ने ‘लाईसेन्स नं. १८’

दीपक बोहरा
दाङ
२४ माघ / तुलसीपुरका पहाड दोहन गर्नकालागि दर्ता प्रक्रियामा रहेको एउटा लाईसेन्स नं. हो– १८/०६९/७० । जुन २०६९ सालदेखि खानी तथा भूगर्भ विभागमा अनुमतिको प्रक्रियामै छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ र ४ स्थित तुलसीपुर खानेपानीको मुहान आसपासको साढे ९ किलोमिटर क्षेत्रफलबाट चुनढंगा उत्खनन्कालागि सुनगाभा माईनेज प्रालिले प्रक्रिया अगाडी बढाएको लामो समय भयो ।

२०६९ भदौ १ गतेदेखि प्रक्रिया अगाडी बढाएको भएपनि अझै अनुमति पाएको छैन । त्यो लाईसेन्स प्रक्रिया आगामी बर्ष २०७९ साउन ३० गते सकिदैछ । तर, त्यो भन्दा अघि नै लाईसेन्स प्राप्त गर्ने अन्तिम चरणमा रहेको भन्ने सूचना आएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थका अध्यक्ष यमकान्त भण्डारीले बताए ।‘हामीकहाँ अनुमति दिन लागेको भनेर सूचना आएको छ’, उनले भने‘त्यसैले हामीले सबै राजनीतिक दल, यहाँका जनताको साथ मागेका छौं, किनकी हामीले यो विषयमा एक्लै केही गर्न सक्ने अबस्था छैन ।’ चुनढुंगा उत्खनन्काको अनुमतिकालागि अब १/२ वटा मात्रै स्टेप बाँकी रहेको भनि विभागबाट समेत जानकारी आएको उनको भनाई थियो ।

यही विषयमा सोमबार तुलसीपुरमा सर्वदलिय तथा सर्वपक्षीय बैठक पनि भएको थियो । बैठकले बोलाएर चुनढुंगा उत्खनन् रोक्नकालागि सम्बन्धित निकायमा दबाद दिने नर्णय गरेको छ । सर्वदलिय बैठकले रोक्नकाकालागि पहल गर्न सम्बन्धित क्षेत्रका वडा कार्यालयहरु ३ र ४, तुलसीपुर उपमहानगरपालिका एवं खानी तथा भूगर्भ विभागलाई पत्र पठाउने र अन्य दवावका कार्यक्रम गर्ने समेत सहमति भएको हो ।

No description available.खानेपानीको मुहान क्षेत्रबाट चुनढंगा उत्खनन् गर्दा त्यहाँका खानेपानीका मुहान सुक्नुकासाथै राप्ती लोकमार्गलाई पनि प्रत्येक्ष असर गर्ने भन्दै यसलाई तत्काल रोक्नु पर्ने राजनीतिक दल तथा सरोकारवालाहरुले बताएका छन् ।

यदि त्यहाँबाट चुनढंगा उत्खनन् भएमा बेलझुण्डीकै जस्तो हालत हुने भन्दै यसमा चनाखो हुनुपर्ने बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सदस्य पुस्कर रावतले बताए ।‘सोनोपुर सिमेन्टले हाम्रा मुहानका पहाडहरुमा दोहन गर्दा अहिले खानेपानीमा लेदो मात्रै आउछ, त्यही लेदो भएको पानी खान बाध्य छौं’,उनले भने‘त्यहाँ सिमेन्टले फिल्टर राखिदिएको भएपनि त्यसले दुई बर्ष पनि टिकेन, अहिले लेदो खानुपर्ने हाम्रो बाध्यता छ, त्यसैले तुलसीपुर खानेपानीले पनि यसमा बेलैमा सोँच्यो,अब पहलकदमी अगाडी बढोस् ।’

No description available.

त्यहाँ उत्खनन्कालागि आईईई नभएको तुलसीपुर ३ का वडाध्यक्ष विरबहादुर विकले बताए ।‘त्यहाँ अहिलेसम्म आईईई भएको छैन्’,उनले भने‘म जनप्रतिनिधि भएर आएपछि प्रत्येकदिन त्यही विषय लिएर आफूसमक्ष आउने गर्थे, तर मैले अस्वीकार गरिरहेको छु ।’ वडाध्यक्ष विकका अनुसार २०७४ देखि २०७८ असारसम्म आफूहरु समक्ष सिफारिशकालागि आउने गरेको भएपनि आफूले त्यो सिफारिश नदिएको उनले बताए ।


उनका अनुसार २०७८ असार तिर उनीहरुले त्यहाँका केही स्थानीयको हस्ताक्षर सहित स्थानीयले पनि समर्थन जनाएको भन्दै आएपनि आफूले सिधै अस्वीकार गरेर पठाएको बताए ।‘वडामा हुँदा वडामा,कहिल्यै घरमा, बाहिर हुँदा पनि म जहाँ छु, त्यही पुग्ने गर्नुहुन्थ्यो’, उनले भने‘अनुमति दिन माग गर्दै फोनबाट पनि उत्तिकै दवाव आउथ्यो, अरुलाई पनि पटक–पटक फोन गर्न लगाउनुहुन्थ्यो ।’

उनीहरुले खानी उत्खनन्कालागि भन्दा पनि त्यहाँको चुनढुंगाको अबस्थाका बारेमा अनुसन्धान गर्न त्यो ‘लाईसेन्स’ ल्याउन लागेको समेत खुलाए ।‘खास त्यहाँ उत्खनन्कालागि भन्दा पनि त्यहाँ चुनढुंगाको अबस्था के छ, भनेर बुझ्नकालागि लाईसेन्स ल्याउनन खोज्नु भएको हो’, उनले भने‘जे भएपनि म वडाध्यक्ष हुँदा होस्, या नहुँदा पनि त्यहाँ कुनै पनि सिफारिश गर्ने छैन र गर्न दिने पनि छैन ।’

वडा नं. ४ का अध्यक्ष बालकृष्ण राणालाई भने अनुमति माग्न अहिलेसम्म कोही पनि नआएको बताए ।‘अहिलेसम्म अनुमति पाउँ भनेर कोही पनि आउनु भएको छैन’,उनले भने‘ यदि आए पनि अनुमति दिन्न, यसलाई रोक्न सबै एकजुट भएर लाग्नु पर्छ ।’

यदि त्यहाँ उत्खनन् भएमा तुलसीपुर खानेपानी सहित अमृतपुर खानेपानी, बेलझुण्डी खानेपानीलाई समेत ठूलो क्षति पु¥याउने भन्दै खानी उत्खनन् गर्ने कार्यको सबैले आ–आफ्नो ठाउँबाट बिरोध गर्नुपर्ने तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए ।

सर्वदलिय बैठकमा नेपाली काँग्रेस तुलसीपुरका सभापति सुरेश हमाल, माओवादी केन्द्र तुलसीपुरका सहसचिब भिम चौधरी, एमालेका बर्षात भण्डारी, समाजवादी पार्टीका संघीय परिषद सदस्य जीवन भण्डारी, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, अमृतपुर खानेपानीका अध्यक्ष चन्द्रकान्त खरेललगायत यस क्षेत्रमा क्रियाशिल राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरुले यो विषयमा आपत्ति जनाउँदै सबै एकजुट भएर यो कार्यलाई रोक्नु पर्ने बताएका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई प्रमुख अतिथिको रुपमा बोलाईएको थियो । तर,उनी त्यो कार्यक्रमका सहभागि हुन भएनन् ।

बैठकको सहजीकरण सचिब सेवकराम भण्डारीले गरेका थिए । यस अघि पनि तुलसीपुर खानेपानीले खानी तथा भूगर्भ विभागलगायत सम्बन्धित निकायमा पत्राचार समेत गरिसकेको उपाध्यक्ष सिताराम शर्माले बताए ।