
दीपक बोहरा
दाङ, २४ चैत । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकमा ब्याप्त असन्तुष्टि रहेको बताएका छन् । नेपाल थारु संघको आईतबार दाङ तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारकै कारण ब्याप्त असन्तुष्टि रहेको कुरा उनले बताए ।
“ नागरिक बेचैन छन्, तर, प्रधानमन्त्रीले भन्नु हुन्छ–सब ठिकठाक छन, सब खुसी खुसी छन, तर, त्यसो छैन”,उनले भने“सरकारमा बसेका मान्छेको आचरण, शासन गर्ने मान्छेले ढंग पु¥याउनु पर्छ, निर्णय सही गर्नुपर्छ, नत्र यस्ता असन्तुष्टि भइरहन्छन् ।” मुलुकमा रहेको ब्याप्त भ्रष्टाचार, कुशासनसंग जोडिएर नै आम नागरिकमा असन्तुष्टि बढेको उनले बताए । “म भ्रष्टाचार हुन दिन्न भनेर बोलेर अर्थ छैन”,उनले भने“मेरो प्रधानमन्त्रीले गरेको निर्णयले कस्तो प्रभाब परिरहेको छ, भन्ने कुरा मुख्य हो ।”
सरकारकै निर्णयका कारण काठमाडौंमा शिक्षकहरुले आन्दोलन गरिरहेको समेत उनले बताए । शिक्षा ऐनलाई उपसमिति बनाएर काम गर्नुपर्छ, भनि आवाज उठेको ४ महिना भएपनि त्यसको कुनै टुंगो नलाग्दा पनि यस्ता आन्दोलन भइरहेको उनको भनाई छ ।“ ४ महिना भयो,उपसमितिमा लिएर काम गरौं भनेको”,उनले भने“यसमा हेल्चेक्राई भयो, ढंग नपु¥याइएन, यस्ता कुराले नागरिकमा असन्तुष्टि बढ्छ ।”
प्रत्येक निर्णयबाट सरकारको परीक्षा हुने भन्दै उनले अबको केही दिनमा हुने गर्भनर नियुक्तीमा पनि ध्यान दिनुपर्ने बताए । उनले कुनै पनि विचौलियालाई खुसी बनाउनकालागि गभर्नर नियुक्ती गर्ने कार्य भएमा त्यस्तो कुराको प्रतिरक्षा समेत गर्न नसकिने प्रष्ट पारे ।“ प्रत्येक निर्णयबाट परीक्षा हुन्छ ”,उनले भने“ सरकारले केही दिनमा गभर्नर नियुक्त गर्दैछ । यो कुनै विचौलियालाई खुसी पार्नलाई नहोस्, जो की सरकारले गरेका कामलाई हामीले पनि प्रतिरक्षा गर्न सकियोस् ।”
साथै उनले विधान बमोजिम समयमै पार्टीको महाधिवेशन हुने बताए । “संविधान, कानुन, पार्टीको विधान अनुसार नै ०८४ को चुनाब भन्दा अघि पार्टीको महाधिवेशन हुन्छ”,उनले भने“कसैले चुनाब भन्दा पछि हुन्छ, भन्ने सोँच्छ, भने त्यो नसोच्दा हुन्छ ।” उनले पार्टीको विधान परिबर्तन गरि कुनै पनि उम्मेदवार सम्बन्धित जिल्लाले नै तोक्न पाउनु पर्ने ब्यबस्था गर्नुपर्ने आबश्यकता रहेको समेत बताए । “ नेता बलियो बनाएर पार्टी बलियो हुन्छ भन्ने होईन्, कार्यकर्ता बलियो भएपछि मात्रै पार्टी बलियो हुन्छ”,उनले भने “अब दाङका उम्मेदवार दाङकै पार्टीले छान्न पाउने गरि विधान बदल्नु पर्छ, दाङका उम्मेदवार काठमाडौंले छान्ने कुरा बैज्ञानिक छैन ।”
महामन्त्री थापाले संबैधानिक राजतन्त्र बनाउन नसकिने भन्दै यो कुरा सबैले बुझ्न आबश्यक रहेको समेत बताए । संघीयता, लोकतन्त्र, गणतन्त्रात्मक संविधान बनेको भन्दै यसलाई कार्यान्वयन गरेर जनताको अबस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने उनको भनाई थियो । अहिलेको निर्वाचन प्रणालीलाई भने संविधान संसोधन मार्फत समाधान गर्न तर्फ पहल लिनुपर्ने बताए ।
सरकारले जनमैत्री काम गरेमा पछिल्लो समय युवा पुस्तामा देखिएको असन्तुष्टि पनि हट्ने उनको भनाई छ ।“देशमा केही हुँदैन की भन्ने छ, नागरिकमा खुसी छैन”,उनले भने “यसकालागि सरकारमा बस्ने मान्छेले आचरण सुधार गर्नुपर्छ, ब्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्छ, त्यसो भएमा सबै समाधान हुन्छ ।”



लाइभदाङ । २४ चैत्र २०८१, आईतवार १९:१५ बजे