
अनिल अधिकारी
दाङ, २६ माघ ।
घोराही उपमहानगरपालिकाले घोराही नगर क्षेत्र भित्र ८० देखि ९० प्रतिशत भूमि कर र सम्पत्ति कर बढाएको विषयमा चौतर्फी विरोध भएको छ । घोराही उपमहानगरपालिकाले दिने सेवा सुविधा केही नदिई कर मात्र बढाएकोमा नगरवासीहरुले विरोध जनाएका छन् । घोराही उपमहानगरपालिका भने नगरवासीको भावना विपरित एकतर्फी ढंगले अघि बढेको आरोप नगर वासीको छ ।
कर वृद्धिको विरोधमा विभिन्न राजनिति दल घोराही नगरवासी सरोकारवालाहरुले आ–आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । कर कै विषयलाई लिएर नेपाली कांग्रेस घोराही नगर समितिले घोराही उपमहानगरपालिकाको चालु आर्थिक वर्षमा गरेको करवृद्धिको बिरोधमा नगर प्रमुख समक्ष ज्ञापनपत्र बुझाएको छ । सम्पत्ति कर र भूमी करमा गरिएको वृद्धिले जनतालाई मारमा पर्ने काम गरेको भन्दै सच्याउन माग समेत गरेकाछ । वृद्धि गरिएको कर कै विषयलाई लिएर नेपाली कांग्रेस घोराही नगर समितिले गएको मंगलवार नगर प्रमुख समक्ष ज्ञापनपत्र बुझाएको हो । करमा गरिएको वृद्धि नसच्याइए थप संघर्षका कार्यक्रम गर्ने नेपाली कांग्रेस घोराही नगर समितिले जनाएको छ ।
ज्ञापनपत्रमा घोराही उपमहानगरपालिकाले सम्पत्ति कर र भूमि करको दर शीर्षक अन्तर्गत भूमि कर अनुसूची –१ दफा (२) र (३) संग सम्बन्धित कर वृद्धि र व्यवसायिक कर अनुसूची–३ दफा ५ संग सम्बन्धित सबै व्यवसायमा अधिकतम करवृद्धि हुनुले स्थानीय सरकार जनतामुखी नभएर मनोमानी ढंगले चलेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावतको हस्ताक्षरमा जारी ज्ञापनपत्रमा,‘स्थानीय निर्वाचन सम्पन्न भएको अढाई वर्षसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निभाउँदै आएकोमा हालै हामीलाई स्थानीय सरकारले कमजोर ठान्नु स्थानीय सरकारको नियत र दृष्टि सफा छैन कि भन्ने आभाष भएको छ । साथै ज्ञापनपत्रमा नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक पार्टीको रुपमा रहेको नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षले उठाएका जनसवालको मुद्दालाई अविलम्ब पुनर्विचार नगरे थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी दिएको छ ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख नरुलाल चौधरीले लामो समयपछि स्थानीय सरकारले करमा हेरफेर गरेको र यो कर जनताकै सेवाममा लाग्ने बताएका छन् । नगरको सुगम क्षेत्रमा विकास भएपनि ग्रामीण क्षेत्रमा अहिले पनि सडक, खानेपानी, सिचाई कुलालगायतका विकास निर्माणका कार्य गर्नका लागि घोराहीमा सात वर्षपछि करको दरमा हेरफेर गरिएको उनले बताए ।
वृद्धि गरिएको यो कर नगरसभाबाट सबैको सहमतिमा पास भएको भन्दै नगर प्रमुख चौधरीले बढेको कर नगरवासीकै सेवामा लाग्ने समेत बताएका छन् । राजस्व बढाउने आफ्नो कुनै उद्देश्य नरहेको भन्दै नगर प्रमुख चौधरीले नगरवासी जनता वा व्यवसायीलाई साच्चिकै मर्का पर्ने गरि वृद्धि भएको भए छलफलका माध्यमबाट पुर्नविचार गर्न आफू र घोराही उपमहानगरपालिका तयार रहेको बताए । ज्ञापनपत्र बुझाए पश्चात आफूहरुले दिएको सुझाव समयमै कार्यान्वयन नभए घोराही उपमहनगरपालिका विरुद्ध चरणवद्ध रुपमा विरोधका कार्यक्रय गरिने नेपाली काँग्रेस घोराही नगर सभापती तिलक रावतले बताए । त्यसैगरी घोराही नगर सभाद्वारा पारित करको विषयमा घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र शाहले ‘नोट अफ डिसेन्ट’ लेखेर निक्लिएको बताएका छन् । घोारही नगर सभामा उपस्थित कार्यपालिका सदस्यहरुमध्ये एक जनाले मात्र बढाइएको करको विरोध गरेर नोट अफ डिसेन्ट लेखेको जितेन्द्र शाह मात्र भएको उनी बताउँछन् । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले त नगर प्रमुखले राखेको प्रस्तावमा सहमति गर्नु कुनै नौलो थिएन तर नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बढाईएको करको विषयमा विरोध जनाउनुको साटो थपडी मारेर सर्मथन गरेको म अहिले पनि सम्झी रहेछु । कस्ता नियत र चरित्र भएका ती जनप्रतिनिधि हुन् जसले हिजो समर्थन गरे आज आएर त्यहि बढाईएको करको विषयमा पत्रकार सम्मेलन मार्फत विरोध गरिरहेका छन् । म नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष भएता पनि नगर प्रमुख लगाएत घोराही उपमहानगरपालिकाले लिएको गलत निर्णयका विरुद्ध नोट अफ डिसेन्ट लेखेर उक्त निर्णयका विरोधमा हस्ताक्षर नगरी निक्लिएको हुँ । मैले नगर वासीहरुलाई पिर मर्का नहुने गरी घोराही उपपमहानगरपालिकाले कार्यक्रम ल्याउनु पर्छ भन्दा अहिले आएर सिंगो नेकपा एमाले र घोराही उपमहानगरपालिकाका प्रमुख मेरा विरुद्ध लागि रहेको मैले अनुभूति समेत गरेको छु । सामाजिक कामका लागि स्वच्छ र निष्पक्ष हुन जरुरी छ । सोही अनुरुप मैले मेरा कमद हरु अघि बढाई रहेका छु र नगरवासीकै सेवामा समर्पित रहेको समेत उनले बताए ।
बढेको करको विषयमा घोराही उपमहानगरपालिका वडा नं. १० का सर्वसाधरण रामु नेपालीले आफ्नो भएको कुल सम्पत्तिले तीन महिना मात्र खान पुग्ने बताउँदै उपमहानगरपालिकाले बढाएको कर कसरी तिर्ने भन्ने विषयमा आफू लगायत परिवार चिन्तित रहेका बताए । त्यसैगरी घोराही १२ का लौटन चौधरीले
घोराही उपमहानगरपालिकाले नगरवासीका विषयमा गम्भीर भएर सेवा सुविधा दिने विषयमा नसोचि आम सर्वसाधारण नागरिकलाई हैरानी हुने गरी कर वृद्धि गरेकोमा आपत्ति जनाए । घोराही उपमहानगरपालिका वडा नं. ८ का किसान बुद्धिराम चौधरीले किसानलाई दिनुपर्ने कुनै सेवा सुविधा नदिई मनोमानी ढंगले कर वृद्धि हुदा आम किसानहरु मर्कामा परेको विषयमा उपमहानगर–पालिका गम्भीर हुनु पर्ने बताए । त्यसैगरी घोराही नगर क्षेत्र भित्रपर्ने १९ वटै वडाका नगर वासी अहिले बढेको करको विषयले त्राही–त्राही भएका छन् । नगरवासीहरुको एउटै अनुरोध बढाईएको करका विषयमा घोराही उपमहानगर–पालिकाले सकारात्मक निर्णय लिनेछ भन्ने कुरामा आफूहरु आसावादी रहेको बताउछन् ।
बढाईएको करको विषयमा बोल्दै नगर प्रमुख चौधरीले करको विषयलाई मात्र राजनीतिक इस्यु नबनाई नागरिकका खास मर्कालाई समेत घोराही उपमहानगरपालिका समक्ष ल्याउन आग्रह गर्दै ८० देखि ९० प्रतिशत घोराही नगरवासीले आव २०८०÷०८१ को कर बुझाइ सकेको हुनाले अहिले सो विषयमा पुनर्विचार गर्न नसकिने बताए । उनका अनुसार साउनदेखि अहिलेसम्म धेरै करदाताले कर बुझाईसको छन् । कि यो विषयमा पहिले नै आवाज उठेको भए हेरफेर गर्न सकिन्थ्यो अहिले त्यो अवस्था समेत नरहेको उनको भनाई थियो । कसैले कर तिर्नै सक्दैन भन्न उपमहानगर–पालिकामा आउछ भने त्यस विषयमा सर्वदलिय बैठक बसेर निर्णयमा पुग्न सक्ने बताउदै वृद्धि भएको करको विषयमा कुनै हेरफेर गर्न नसकिने उनले बताए । वृद्धि भएको करको विषयमा घोराही उपमहानगरपालिकाले पुनःविचार नगरे कडा रुपमा प्रतिवाद गर्ने सर्वसाधारण घोराही नगरवासी र स्थानीय राजनितिक दलहरुले नगर प्रमुख चौधरी र घोराही उपमहानगरपालिकालाई चेतावनी दिदै तत्काल करको विषयमा गरेको निर्णय सच्याउन माग गरेका छन् ।



लाइभदाङ । २६ माघ २०८१, शनिबार १८:२९ बजे