पश्चिम दाङ जोड्ने माथिल्लो सडक निर्माण सुरु, मास्कीद्वारा अनुगमन

तुलसीपुर,१४ मङ्सिर । पश्चिम दाङ जोड्ने तुलसीपुरको गहते देखि शान्तिनगरको बाघमारे सडक निर्माण सुरु भएको छ । सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिश कुमार अर्यालका अनुसार माथिल्लो सडक खण्डको भमकेदेखि सडक मर्मत सुरु भएको हो । अहिले साढे ३ मिटर रहेको उक्त सडकलाई साढे ५ मिटर चौडाई बनाउनकालागि अहिले संरचना निर्माण गर्न लागिएको हो ।

गएको बर्ष एक करोड ४० लाख र चालु बर्षमा एक करोड ८२ लाख रुपैँया जिम्मा पाएको शारदा निर्माण सेवासहित तीन वटा ठेकेदार कम्पनीलाई पेश्की प्रदान गरिएको छ ।“अहिले प्रयाप्त बजेट छैन, ठेकेदार कम्पनीले पेश्कीका आधारमा काम गर्नुभएको छ”,उनले भने“काम सुरु भइरहेको छ ।” उक्त सडक साघुरो भएको भन्दै पटक–पटक गुनासो आउने गरेको छ । त्यति मात्रै नभई सडकबीचमा परेका खाल्डाखुल्डीले आवतजावतमा निकै समस्या हुने गरेको छ । सडक बनेमा त्यो समस्या हट्ने उनले बताए ।

हाल गहतेखोदेखि ८.८ किलोमिटर सम्मलाई स्तरबृद्धि गरेर साढे ५ मिटर चौडाई बनाईनेछ, भने त्यसलाई कालोपत्रे पनि गरिनेछ । बाँकी ४ किलोमिटरलाई टालटुल पर्ने कार्य हुनेछ । गहतेखोलादेखि बाघमारेसम्म उक्त कार्य हुनेछ । त्यसकालागि अहिले रिटेनिङ वाललगाउने तथा सडकको ट्रयाकलाई चौडा बनाउने कार्य भइरहेको छ । १८ महिनामा सक्ने गरि १९ असार २०८१ मा सम्झौता भएको हो । उक्त सडक स्तरबृद्धिकालागि १६ करोड ५० लाखमा सम्झौता भएको छ ।


भमकेदेखि काम सुरु
गहतेदेखि सडक स्तरबृद्धि गर्नुपर्ने भएपनि तुलसीपुर ८ को गहतेमा जग्गा नदिन मानेपछि तुलसीपुर १ को भमकेबाट सडक चौडा बनाउने काम सुरु भएको प्रमुख अर्यालले बताए । उनका अनुसार सकड चौडा गर्न १५ मिटर जग्गा चाहिन्छ । तर, गहतेमा १२ मिटर मात्रै जग्गा लिनुपर्ने माग राख्दै सडक मर्मत गर्न नदिएको उहाँको भनाई छ । त्यही भएरपनि गहतेबाट काम सुरु भएको हो ।

उक्त सडक निर्माणको विहीबार लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले अनुगमन गरेका हुन् । त्यस अवसरमा उनले आफूले नै सोही सडकमा बजेट हालेको भन्दै छिटो निर्माण कार्य पूरा गर्नकालागि नियमित अनुगमन गर्ने बताए ।

सोही सडक आफ्नो प्रमुख एजेण्डा भएको भन्दै जसरी पनि स्तरबृद्धि गर्ने बताए । माथिल्लो सडक आफ्नो चुनाबी बाचा भएको समेत सांसद मास्कीको भनाई थियो ।