लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजीनामा

दाङ, ६ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन्।


महराले चैत २५ गते मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका थिए । महराले आफूले छोटो समयमा धेरै राम्रा काम गरेको दाबी गर्दे राम्रा कामलाई अगाडि बढाउन नयाँ बन्ने मुख्यमन्त्रीलाई आग्रह गरे। लुम्बिनी प्रदेशमा आफूले स्वास्थ्य, बन, कृषि र पर्यटन क्षेत्रको सुधारका लागि धेरै योजना अघि बढाएको बताउँदै उनले त्यसलाई अघि बढाइनुपर्नेमा जोड दिएका हुन् ।

उनले कांग्रेस र एमाले असफल भएको टिप्पणी गर्दे संविधान सम्बोधन प्रसङ्गले अर्को तरङ्ग दिएको समेत बताए। यसैबिच महराको राजीनामासँगै कांग्रेस र एमालेबिच एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ। सोही अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको आह्वान गर्नसाथ गिरी मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छन् ।