दाङमा चारसय ७७ पशुमा लम्पी स्किन

दाङ,२५ असार ।
दाङमा लम्पी स्किन रोगका कारण चार सय ७७ गाई–गोरु मरेका छन् , भने २२ हजार छ सय ९५ गाईगोरु र भैंसी बिरामी परेका छन् । दाङका १० वटै स्थानीय तहमा लम्पी स्किन फैलिएको छ । संक्रमण केही मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।

लम्पि स्किनले पशु मर्दा किसानहरु मारमा परेका छन् । स्थानीय तह र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको केही सहयोगमा महामारी नियन्त्रणको प्रयास भए पनि गोरु बिरामी परेका र मरेका कारण मुख्य खाद्यबाली धान रोपाइँ प्रभावित भएको विषयमा सहयोग र राहतको विषयमा भने कसैको ध्यान नगएको किसानको गुनासो छ ।

रोगका कारण दूध उत्पादक किसान समेत मर्कामा परेका छन् । लम्पी स्किन रोगका कारण पशुमा ज्वरो आउने र शरीरमा फोका देखा पर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका छन् ।


अझै पनि पशुमा यो समस्या बढ्दा समस्या हुने पशु चिकित्सकहरुको भनाई छ । यो प्रकोपका रुपमा नभएपनि संक्रमण भने नरोकिएको तुलसीपुर उपमहानगरपालिका पशु महाशाखा प्रमुख डा. मनोज केसीले बताए ।

यो रोग हावा र झिंगाको माध्यमबाट सर्छ । नेपाल भारत सीमा क्षेत्रमा शुरुमा फैलिएको लम्पी स्किन अहिले गढवाका सबै वडामा देखिएको छ ।