राप्तीमा कोभिड–१९ भ्याक्सिन डिजिटलाइजेशन गरिदै

तुल बहादुर कवँर मगर
दाङ, १० मंसिर ।
दाङको राप्ती गाउँपालिकामा कोभिड –१९ भ्याक्सिन डिजिटलाइजेशन गरिन लागेको छ। पालिकाका हरेक गतिविधिलाई पेपर लेस बनाउने उदेश्य अन्तर्गत उक्त कार्य गरिन लागिएको हो।

स्वास्थ्य शिक्षा सचेतना – सामुदायिक स्वास्थ्य संस्था (हिको)को आयोजना ,राप्ती गाउँपालिका स्वास्थ्य शाखाको समन्वय र यूएनडिपीको आर्थिक सहयोगमा सो कार्य गर्न लागिएको हो। डिजिटलाइजेशन गर्न कोभिड -१९ भ्याक्सिन लगाएका व्यक्तिहरुको सम्पूर्ण विवरण अनलाईन मार्फत भरिने छ।

यसरी विवरण भरे पश्चात् एउटा कोड नम्बर प्राप्त हुने छ। उक्त कोड नम्बर लिएर पालिकाको स्वास्थ्य शाखामा आए शाखाले प्रमाणीत गरेर तत्काल भ्याक्सिन लगाएको क्यूआर कोड उपलब्ध गराउन सक्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले बताउनुभयो ।


यसले गर्दा क्यूआर कोडकै लागि साइबर धाउनुपर्ने बाध्यताको समेत अन्त्य हुने छ। डिजिटलाइजेशन भए पश्चात् पालिका क्षेत्र भित्र कुन खोप क-कस्ले कति लगाए,कुन समुदाय र क्षेत्रमा खोपको प्रभावकारीता के कस्तो छ भन्ने बारेमा जानकारी लिन सहज हुने रावतको भनाई छ।

कोभिड – १९ भ्याक्सिन डिजिटलाइजेशन भएमा छोटो समयमै सजिलै भ्याक्सिन लगाएको र नलगाएका व्यक्तिहरुको विवरण पत्ता लगाउन सकिने र स्वास्थ्य सम्बन्धी भावी कार्ययोजनाहरु बनाउन सहज हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले कोभिड -१९ भ्याक्सिन लगायतका सबै नागरिकहरुको विवरण आवश्यक पर्ने भएकाले विवरण संकलन गर्नका लागि घरघरमा आउने गणकहरुलाई सहजरूपले विवरण उपलब्ध गराई सहयोग गरि दिनु हुन गाउँपालिकाबासी सबैलाई अनुरोध गर्नु भएको छ ।

हिको संस्थाले विवरण संकलनका लागि प्रत्येक वडाबाट ४/४ जनाका दरले गणकहरुलाई अभिमुखीकरण गरि आइतबार देखि पालिकाका ९ वटै वडाका गाउँ-गाउँमा खटाएको स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको)मा कार्यवाहक अध्यक्ष गरिबु चौधरीले जानकारी दिनुभयो । पालिकामा करिब ३५ हजार नागरिकले कोभिड –१९ को विभिन्न भ्याक्सिन लगाएका छन्।