
तुलसीपुर,१५ असार ।
दाङको तुलसीपुुरमा धाराबाट पानी नआएपछि ट्याङकरबाट वितरण गर्ने गरिएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था अन्तर्गतका धाराहरुमा केही दिन देखि पानी नआएपछि संस्थाले यसरी ट्याङ्करबाट वितरण थालेको हो । संस्थाका कोषाध्यक्ष भोला प्रसाद थापाका अनुसार दुई वटा ट्याङ्करबाट यसरी घरमै पानी वितरण थालिएको हो ।“केही स्थानमा धारामा पानी जान सकेको अबस्था छैन”,उनले भने “त्यस्ता स्थानहरुमा ट्याङ्करबाट भएपनि पानी पु¥याउने गरेका छौं ।”
तुलसीपुर, ४, ६ र ७ का केही स्थानमा यसरी खानेपानीको समस्या हुने गरेको छ । तुलसीपुरको घोराही रोड, नयाँबस्ति, अरणीको टोल,बरुवागाउँ, जबरपुर,भिआईपी टोल, झुमरे,गाइडहरलगायतका स्थानमा यसरी ट्याङकरबाट वितरण गर्ने गरिएको छ । तुलसीपुरमा एक करोड लिटर भन्दा बढि खानेपानीको माग रहेको भएपनि हाल ५० लाख लिटर मात्रै आपूर्ति हुँदै आएको छ ।
मुहान सुक्दा समस्या
यसरी खानेपानीको समस्या हुनुका कारण मुहान सुक्नु नै रहेको कोषाध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार हाल खानेपानीको दगेरा, बाख्रेको मुहान सुकेको छ । ति तुलसीपुर खानेपानीका अस्थायी मुहान रहेका छन् । त्यस्तै पहरे, धैरेनी, मुलकोट, चिसापानीको मुहानमा पानीको सतह घटेको छ । विगत भन्दा पानीको सतह घटेका कारण आपूर्तीमा समस्या रहेको कोषाध्यक्ष थापाले बताउनुभयो । त्यस्तै तुलसीपुर ६ कबर्डहल नजिकको डिपबोरिङ समेत सुकेको छ । त्यस्तै गोलौरा र कार्यालय परिसरमा रहेको डिपबोरिङमा समेत पानीको सहत घटेको छ । कार्यालय परिसरको बोरिङमा १५ मिनेटमा ६ हजार लिटरको ट्याङ्कर भरिने गरेको भएपनि हाल उक्त ट्याङ्कर भरिन ३५ मिनेट भन्दा बढि लाग्छ ।
पढ्ढाका दुई वटा बोरिङबाट अहिले नयाँ पानी आपूर्ति भएकाले डुम्रीगाउँलगायतका स्थानमा भने केही सहज भएको छ । त्यस्तै विद्युत अनियमितताले गर्दा पनि केही समस्या भने पारिरहेको छ । हाल तुलसीपुर खानेपानीका १० हजार बढि धाराहरु रहेका छन् ।



लाइभदाङ । १५ असार २०८३, सोमबार ०९:१३ बजे