राप्ती गाउँपालिकाको आर्थिक वर्षको बजेट पारित

देउखुरी, ९ असार ।
दाङको राप्ती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तुत बजेट तथा कार्यक्रम शनिबार पारित भएको छ।

शुक्रबार दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा पालिकाकी उपाध्यक्ष कमलापती चौधरीले प्रस्तुत गर्नु भएको उक्त बजेट तथा कार्यक्रम शनिबार बसेको सभाको दुई तिहाई बहुमतले पारित गरेको हो।

शुक्रबार प्रस्तुत गरिएको बजेट तथा कार्यक्रम अध्यय तथा छलफलको लागि सभाका सदस्यहरुले एक दिनको समय माग गरेपछि सभा शनिबारका लागि बोलाइएको थियो ।

“समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी” भन्ने मुल नाराका साथ पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलतालाई जोड दिंदै आगामी आर्थिक वर्षका लागि ६५ करोड ७६ लाख बजेट विनियोजन गरेको छ ।

जस अन्तर्गत चालु तर्फ ३१ करोड ५८ लाख र पुँजीगत ३३ करोड २६ लाख बजेट विनियोजन भएको पालिकाका प्रबक्ता पहलवान चौधरीले जानकारी दिनु भएको छ।


आगामी आर्थिक वर्षका लागि शिक्षा, युवा तथा खेलकुद तर्फ २२ करोड १७ लाख ५० हजार, स्वास्थ्य तर्फ ९ करोड ४१ लाख, कृषि र पशु तर्फ २ करोड ९९ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै पूर्वाधार तर्फ ११ करोड २ लाख, उद्यम तथा रोजगार तर्फ २ करोड, वन वातावरण र विपत्त तर्फ २ करोड, खानेपानी सरसफाई, फोहरमैला व्यवस्थापन ३० लाख, कला संस्कृति पर्यटन तर्फ ३३ लाख, महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता ४५ लाख र सञ्चार तर्फ ३ लाख ५० हजार बजेट विनियोजन गरिएको पालिकाका प्रबक्ता चौधरीले जानकारी दिनु भएको छ।

यसै बिच शनिबार बसेको गाउँसभाले सभाका सदस्य गेमे खड्काले प्रस्तुत गर्नु भएको आर्थिक विधेयक २०८० र पहलवान चौधरीले प्रस्तुत गर्नु भएको विनियोजन विधेयक दुई तिहाई बहुमतले पारित गरेको छ।

गाउँ सभाको बैठक पुन आगामी असार २७ गते दिउँसो १ बजे बस्ने गरि स्थगित गरिएको छ । ४६ जना उपस्थित सभा सदस्यहरु मध्ये पक्षमा ४५ र १ जनाले तटस्थ मत रहेका थिए।