पश्चिम दाङका तीन पालिकामा माओवादी केन्द्र र समाजवादीबीच गठबन्धन हुने

दाङ, १५ वैशाख ।

दाङ क्षेत्र नं. ३ का तीन वटा पालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन हुने भएको छ । क्षेत्र नंं. ३ स्तरीय बैठकले बिहीबार यस्तो निर्णय गरेको माओवादी केन्द्रका क्षेत्रीय इञ्चार्ज भिमबहादुर वलीले बताए ।‘पश्चिमका तीन पालिकामा एकीकृत समाजवादीसंग गठबन्धन गर्ने सहमति भएको छ’,उनले भने‘अब साँझसम्म कहाँ कसले कति लिने भन्ने विषयमा छलफल हुन्छ ।’ क्षेत्र नं.३ को दंगीशरण,शान्तिनगर र बबईमा यस्तो तालमेल हुन लागेको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्के, समाजवादीका जिल्ला उपाध्यक्ष चुर्ण वलीलगायतको सहभागितामा यस्तो निर्णय भएको हो । त्यसकालागि कार्यदल निर्माण गरिएको छ । जिल्लाको घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बंगलाचुलीमा मात्रै सत्तापक्षको पूर्ण गठबन्धन भएको छ । अन्य केही पालिकामा एक्ला–एक्लै लड्ने तथा केहीमा आंक्षिक गठबन्धन रहेको छ । जस मध्ये राप्ती गाउँपालिकामा माओवादी केन्द्र र जनमोर्चा तथा गढवामा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । दाङमा १० पालिका हुन् ।


घोराहीमा चुनाबी चहलपहल
उम्मेदवारी दर्तासंगै घोराही उपमहानगरपालिकामा चुनाबी चहलपहल बढेको छ । गठबन्धनका नेताहरु संग–संगै चुनाबी मैदानमा होमिन थालेका छन् । सामूहिक चुनाबी सभा तथा घरदैलो गर्दै आएको मेयरका उम्मेदवार हेमराज शर्मा‘डायमन्ड’ले बताए । घोराहीमा माओवादी केन्द्रले मेयर पाएको छ, भने काँग्रेसले उपमेयर पाएको थियो । एमालेले पनि घोराहीमा चुनाबी चहल पहल अघि बढाएको छ । घरदैलो कार्यक्रमहरु गरिरहेको छ ।

तुलसीपुर : गठबन्धनको शुरु भएन्, एमाले नियमित घरदैलोमा
तुलसीपुरमा एमाले नियमित घरदैलोमा छ । अहिले जनताका घरघरमा जानुकासाथै चुनाबी सभाहरु गरिरहेको एमालेबाट तुलसीपुरको मेयरका उम्मेदवार टिकाराम खड्काले बताए । उनका अनुसार उम्मेदवारी दर्ता भएपछि नियमित जनताकै दैलोमा पुग्ने गरिएको छ । गठबन्धनले भने तुलसीपुरमा अझै आफ्ना गतिबिधि अगाडी बढाउन सकेको छैन । बिभिन्न पदमा बागी उम्मेदवारी परेकाले उनीहरुको ब्यबस्थापनकै कारण प्रचारप्रसारलाई तिब्र पार्न नसकिएको काँग्रेसका एक नेताले बताए । तुलसीपुरमा काँग्रेसले मेयर पाएको थियो, भने एकीकृत समाजवादीले उपमेयर पाएको थियो । काँग्रेसले गेहेन्द्र गिरीलाई उम्मेदवार बनाएको छ, भने एकीकृत समाजावादीले जोगबहादुर राणालाई उपमेयर बनाएको थियो । तर, उपमेयरमा माओवादी केन्द्रकी मनकुमारी महतको उम्मेदवारी परेको छ । भने वडामा अधिकांसमा बागी परेको छ । तुलसीपुरमा काँग्रेसले ११, माओवादीले ५ र एकीकृत समाजवादीले ३ वटा वडाको नेतृत्व गर्न पाउने सहमति भएको छ ।