कैदी फरार प्रकरण : जेलर र तीन प्रहरी पक्राउ

दाङ
१२ पुस / दाङको घोराही कारगारबाट जेलरलाई भगाउन सहयोग गरेको भन्दै कारागारका जेलर युवारज परियारसहित तीनजना प्रहरीलाई पक्राउ गरिएको छ ।

प्रहरी स्रोतका अनुसार कारागारका कैदी नाइके समेत रहेका यमराज परियारलाई भगाउन उनीहरुको संलग्नता रहेको भन्दै जेलरसहित कारागारका सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्र सेन ठकुुरी र प्रहरी हवल्दार गणेश कुमार थारुलाई पक्राउ गरिएको हो । साथै यस अघि कैदी भागेकै दिन प्रहरी जवान धनबहादुर चौधरीलाई पक्राउ गरिएको थियो । उनीहरुसंगै कैदी परियारलाई भगाउन सहयोग गरेको भन्दै दुई युवति र एक होटेल सञ्चालकलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा एक जना शौरभ खनाल छन्, भने एक जना घोराही र एक जना तुलसीपुरकी युवति छन् । चौधरी थरकी दुबै युवतिको नाम भने गोप्य राखिएको छ । ति दुई युवतिलाई प्रयोग गरेर भगाईएको प्रहरीले बताएको छ ।‘ चरम लापरवाहीले गर्दा यस्तो घटना भएको हो’, एक प्रहरी अधिकारीले भने‘भगाउनकालागि केटी प्रयोग भएको छ, हामी फरार कैदीको खोजी गरिरहेका छौं, लगभग नजिक–नजिक पुगेका छौं ।’
ति कैदीलाई भगाउने कार्यमा अझै २/३ जनाको संलग्नता रहेको भन्दै उनीहरुलाई पनि पक्राउ गर्ने प्रहरीको भनाई छ ।

ति कैदी विरामी पनि नभएको अनुसन्धानबाट खुलेको छ । कैदी परियारलाई विरामी भएको भन्दै प्रहरी जवान धनबहादुर चौधरीले उपचारकालागि लु ३४ प ४१० नम्बरको मोटरसाईलमा कारागारबाट हिडाएका थिए । तर, उनलाई अस्पताल नलिएर घोराहीको एक होटेलमा लगियो ।

त्यहाँ ति दुई युवतिहरुसंग भेट भएपछि प्रहरी जवान चौधरी र कैदी परियार केही समय होटेलमा कुराकानी गरेको खुलेको छ । उनीहरुबीच कुराकानी पछि प्रहरी जवान चौधरी र कैदी परियारले फरक–फरक कोठामा एक/एक युवतिलाई लिएर गए । त्यही मौकामा प्रहरी जवान चौधरीको कोठामा कैदी परियारले बाहिरबाट चुकुल लगाएर भाग्न सफल भएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । त्यसपछि प्रहरी जवान चौधरी बसेको कोठाको चुकुल अरु कसैले नै खोलिदिएपछि उनी बाहिर निस्किएका थिए ।


योजनाबद्ध रुपमा भगाएको प्रहरीले निष्कर्ष निकालेको छ । जेलर युवराज परियार पुस ६ गतेदेखी १३ गते सम्म बिदामा थिए । तर, उनी एक्कासी ८ गते नै कार्यालयमा हाँजिर भएका थिए । उनले नै कैदी परियारलाई अस्पताल लैजान अनुमति दिएका थिए ।

आफ्नी प्रेमीकालाई हत्या गरेका राजपुर गाउँपालिकाको बेला निवासी ३२ बर्षीय परियारलाई अदालतले २० बर्ष जेल सजाय सुनाएको थियो । सोही अनुसार उनले करिब साढे ७ बर्ष कैद भुक्तान गरिसकेका थिए ।

घोराही कारागारको जेलरमा वली
तत्कालिन घोराही कारागारका जेलर युवराज परियारपनि कैदी भगाउनमा संलग्न रहेको पाईएपछि उनलाई जिल्ला प्रशासन कार्यालयमा तानिएको थियो ।

उनलाई जिल्ला प्रशासनमा तानेपछि उनको ठाउँमा तुलसीपुर कारागारका जेलर समेत रहेका अमर वलीलाई घोराही कारागारको जेलरका रुपमा खटाईएको छ । अहिले उनले नै यो घटनाको अनुसन्धान गरिरहेका छन् ।