स्वास्थ्य कार्यालय दाङका प्रमुख शाही विरुद्ध भ्रष्टाचारको मुद्दा

दीपक बोहरा
दाङ,१८ माघ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाही विरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर भएको छ । शाहीले तत्कालिन स्वास्थ्य कार्यालय जुम्लाको प्रमुख हुँदा औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रमुख शाहीसहित जिल्लाका अन्य कार्यक्रममा सुपरभाइजर, लेखा प्रमुख, स्टोर प्रमुखको मिलेमतोमा कार्यालयमा सामान नल्याएर फर्जी खरिद तथा दाखिला आदेश तयार गरी विल मात्र खरिद गरी कार्यालयको सञ्चालन बजेट खर्च गरेको भन्ने उजुरी परेको थियो ।

सो उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रमुख शाही र स्टोर किपर गोविन्द खनालले फार्मेसीबाट युटुलिटी ग्लोभ्स समेतका मेडिकल सामग्रीहरु खरिद नै नगरेको पाइएको अख्तियारले जनाएको छ ।

मेडिकल सामग्रीहरु खरिद गरेको झुट्टा बिल भरपाई कागजातहरू तयार गरी भुक्तानी लिने दिने कार्य गरेको पुष्टि हुन गएको अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ । आरोप दायर पत्रमा भनिएको छ, ‘निजहरू कार्यालय प्रमुख शाही र स्टोर किपर खनालको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ङ० बमोजिमको कसुर भएको देखिएको छ ।


उनीहरुलाई बिगो ८१ हजार ८२२ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी ऐ.ऐनको दफा ८ (१) बमोजिम नै विगो असुल उपर गर्न माग दावी गरिएको छ ।

तत्कालीन कार्यालय प्रमुख शाहीले खरिद नगरेको उक्त औषधी स्टोरमा दाखिला समेत गरेको देखिएपछि स्टोर किपर खनाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा ऐ ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको अख्तियारले जनाएको छ ।

मुद्दा दायर भएसंगै प्रमुख शाही पदबाट निलम्बनमा परेका छन् । उनी माघ १३ गतेदेखि कार्यालयमा हाँजिर भएका छैनन् । स्रोतका अनुसार उनी मुद्दा लाग्न साथ काठमाडौं गइसकेका छन् । उनको मुुद्दा माघ १२ गते दायर भएको हो ।