गंगटेः जहाँ भोट माग्न आउछन्, जितेपछि देखिदैनन्

अन्जना बिश्वकर्मा
दाङ,२९ कात्तिक ।
दाङ क्षेत्र नं.३ बाट प्रतिनिधिसभामा एमालेका उम्मेदवार कोमल वली गएको कात्तिक १५ गते दाङको विकट क्षेत्रमा पर्ने गंगटे पुगिन । बबई गाउँपालिका वडा नं. १ मा पर्ने त्यहाँ वली पगेको केही दिनमा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका दीपक गिरी शनिबार गंगटे पुगे ।

बबई गाउँपालिकाको केन्द्र हापुरेबाट गंगटेको दुरी २४ किलोमिटर मात्रै हो । तर, त्यहाँ पुग्न यी दुबै उम्मेदवारलाई करिब साढे २ घण्टा लाग्यो । किनकी त्यहाँको सडकको अबस्था निकै दयनीय छ । एक पटक उम्मेदवार जिते पछि होस्, वा हारेपनि अर्को पटक त्यहाँ पुग्ने गरेका छैनन् । चुनाबको बेला पुग्ने तर, अन्य समयमा चासो नदिने भएपछि त्यहाँका नागरिकले असन्तुष्टि ब्यक्त गरेका छन् ।“चुनाबको बेला नेताहरु आउनु हुन्छ, भोट हाल्न भन्नु हुन्छ”, स्थानीय उशा मगरले भनिन्“ हामी भोट हाल्छौं, तर, जितेपछि फर्केर पनि आउनु हुँदैन् ।”

यी दुबै उम्मेदवारले अहिले भने गंगटेको विकासकालागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । जितेपछि होस्, हारेपनि बीचबीचमा गंगटे पुग्ने प्रतिबद्धता जनाएका छन् ।

दाङको विकट क्षेत्रका रुपमा रहेको गंगटेलाई दाङको कर्णालीका रुपमा पनि लिइन्छ । त्यहाँ पुग्न सडक सञ्जालको अबस्था नाजुक भएकै कारण आधा घण्टामा पुग्नु पर्ने त्यो सडकमा गाडीमा जाँदा समेत साढे २ घण्टा लाग्ने गर्छ । त्यो सडकको ट्रयाक खोलेको १० बर्ष पुगेको छ । तर, त्यहाँको सडक स्तरबृद्धि हुन सकेको छैन । अहिले पनि बर्षादको समयमा आवतजावत ठप्प हुन्छ, भने अन्य समयमा धुलाम्मे हुने गरेको छ ।

गंगटेमा कक्षा १० सम्म पढाई हुने एउटा विद्यालय छ । त्यो भन्दा माथिको शिक्षा लिनकालागि कि त तुलसीपुर, कि त नेपालगञ्ज जानुपर्ने अबस्था रहेको छ ।“यहाँ उच्च शिक्षाकालागि एउटा क्याम्पस पनि छैन, कित नेपालगञ्ज, कि त तुलसीपुर नै पुग्नु पर्ने अबस्था छ”, स्थानीय गम्बर रोकाले भने“यहाँ क्याम्पस नहुँदा धेरैजना कक्षा १० पढ्ने र त्यसपछि पढाई छोड्ने गरेका छन् ।”

त्यहाँ खानेपानी समस्या पनि उस्तै छ । नजिकमा पानीका मुहान हुँदैनन् । टाढाटाढाबाट पानी बोकेर ल्याउनु पर्छ । खानेपानीका धारा ल्याउनकालागि पटक–पटक गंगटेबासीले माग गरे । तर, ति मागहरु सम्बोधन हुन सकेनन् ।

विद्युतको त्यस्तै समस्या छ । गएको बर्ष बबई गाउँपालिकाले त्यहाँ विद्युत पुगेको भनि उद्घाटन ग¥यो । त्यो दिनमात्रै विद्युत बल्यो, त्यसको अर्कोदिन देखि बल्न छोडेको त्यहाँका विद्युत अहिलेसम्म पनि बलेन । गाउँ–गाउँमा विद्युतका पोल गाडिएकै २ बर्ष भइसक्यो । तर, ति पोलमा तार समेत जोडिएको छैन ।


पटक–पटक निर्वाचनको बेला त्यहाँ नेताहरु पुग्छन् । तर, जिते पनि हारे पनि अर्को पटक नेताहरु त्यहाँ पुग्ने गरेका छैनन् ।“हामीले यो भन्दा पहिले पनि धेरै नेताहरुलाई जितायौं, निर्वाचनका बेला गाउँमै आउनुहुन्छ”, स्थानीय उशा मगरले भनिन्“ त्यसपछि एकै पटक अर्को चुनाबमा मात्रै देखिनुहुन्छ ।”

त्यहाँका बासिन्दाले पटक–पटक उम्मेदवाहरुलाई सडक, विद्युतकै माग राख्ने गर्छन् । तर, लामो समय हुुँदा पनि उनीहरुका समस्याहरु ज्यूका त्यू छन् । त्यहाँको तीन तले भन्ने स्थानमा केही समय अघि टेलिकमको टावर निर्माण भयो । त्यही टावरले काम चलेको छ । त्यो भन्दा पहिले सञ्चारका हिसाबले पनि शून्य थियो । अहिले तिनतले टावरले काम गरिरहेको भएपनि प्रभाबकारी नभएको भन्दै अझै अर्को टावर आवश्यक पर्ने स्थानीय श्याम केसीले बताए ।

त्यहाँ स्वास्थ्यको पनि त्यस्तै समस्या छ । एउटा स्वास्थ्य चौकी छ । त्यो स्वास्थ्य चौकीमा सामान्य खालको उपचार हुन्छ । त्यसपछि ठूलो–ठूलो उपचार गर्न पनि तुलसीपुर तथा नेपालगञ्ज नै जानुपर्छ । सडक नभएको अबस्थामा विरामीलाई एक दिनभर बोकेर लैजानु पर्ने अबस्था हुन्छ ।

त्यहाँ बबई नदीमा तटबन्ध पनि छैन । भने स्थानीय खोलाहरुमा पनि पुल बन्न नसकेको अबस्था छ । यसले पनि त्यहाँका नागरिकहरुको जीवनस्तर कष्टकर छ । गंगटे विकट क्षेत्रमा भएपछि सडक पुगेपछि भने रमणीय ठाँउ छ । वरपर डाँडाकाँडा र बीचमा उपत्यका छ । बबई गाउँपालिका वडा नं. १ मा पर्ने त्यो ठाउँमा मकै, धान, कोदो, तोरीलगायतका खाद्यान्न राम्रो उत्पादन हुने गर्छ ।

बबई नदी नजिक पर्ने भएकाले माछा मारेर पनि उनीहरुले जीवन निर्वाह गर्ने गर्छन्, वनजंगल पनि भएकाले दाउराको पनि समस्या छैन । त्यहाँ ठूला–ठूला साललगायतका रुखहरु सुकेर नष्ट भइरहेका हुन्छन् । तिनलाई निकासी गर्न कानुनीलगायतका समस्या भएपछि ति त्यसै सुकेर नष्ट हुने गरेका छन् । त्यहाँ ५ हजार भन्दा बढि जनसंख्यामा बसोबास छ । तर, अधिकांस ब्यक्ती सुकुम्वासी छन् । त्यहाँको ३८ विघा क्षेत्रफल मात्रै नापी छ । अरु सबै ऐलानी जग्गा रहेको छ ।

त्यहाँका यस्ता धेरै समस्याहरु समाधान गर्न राज्यको ध्यान पुग्न नसकेको बताउँदै अबको पाँच बर्षमा देखिने खालका विकास गर्ने राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले बताए । “गंगटेको सोचे अनुरुप विकास गर्न सकिएको छैन, राज्यको ध्यान पुग्न सकेको छैन”,उहाँले भन्नुभयो“अब हामीले पाँच बर्ष भित्र यसको ब्याजको स्याज तिर्नेछौं ।” साभारः अग्रिम साप्ताहिक