तुलसीपुरको नगरसभामा एमालेको बर्चश्व

दीपक बोहरा
तुलसीपुर, १३ जेठ ।

दाङ तुलसीपुर उपमहानगरपालिकाको नगरसभामा एमालेको एकलौटी बर्चश्व रहेको छ । १० वटा वडा जितेको एमालेले नगरसभामा एकलौटी बहुमत बनाएको छ । नगरप्रमुख र उपप्रमुख जितेको एमालेले अन्य जनप्रतिनिधि पनि बढि जितेको छ ।

जम्मा ९७ जनप्रतिनिधिमध्ये प्रमुख, उपप्रमुखसहित एमालेले ६८ जना जितेको छ । त्यस्तै काँग्रेसले २२ र माओवादीले ६ जना तथा स्वतन्त्र एकजना रहेको छन् । यो आधारमा तुलसीपुरमा एकलौटी कार्यपालिका सदस्य निर्वाचित गर्ने सक्ने सामथ्र्य एमालेसंग रहेको एमाले तुलसीपुरका सचिब रुपबहादुर खत्रीले बताउनुभयो ।


उहाँका अनुसार उपमहानगरपालिकामा निर्वाचित पाँच जना र अल्पसंख्यक, दलितबाट तीन जना निर्वाचित गर्दा एमाले एक्लैले सबैमा जित हात पार्न सक्छ । गठबन्धन अन्तर्गत काँग्रेस र माओवादी मिलाउँदा ३० हुन्छ, भने एक जना स्वतन्त्रले समर्थन जनाएपनि एमाले भन्दा तीन गुणा कम हुन्छ । त्यसले गर्दा पनि एमालेले एकलौटी सत्ता सञ्चालन गर्न सक्ने सामथ्र्य राखेको छ ।

कार्यपालिकामा पनि एमालेको स्पस्ट बहुमत रहेको छ । प्रमुख, उपप्रमुख र १० वटा वडा गर्दा कार्यपालिकामा एमालेको १२ सिट अहिले छ, भने ८ जना कार्यपालिका सदस्य नगरसभाले निर्वाचित गर्दा २० जना हुन्छ । गठबन्धनमा भने पाँच जना काँग्रेसका वडाध्यक्ष र तीन जना माओवादी गरि ८ जना कार्यपालिका सदस्य हुनेछन् । एकजना स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष छन् । अघिल्लो निर्वाचनमा काँग्रेसका १० वडाध्यक्ष थिए, भने एमालेका ९ वटा वडा थिए । प्रमुख र उपप्रमुख एमालेकै थिए ।