दाङमा एकै दिन ५ फरार कैदी पक्राउ

दाङ, २२ जेठ ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत दाङ प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले २०८३ जेठ २१ गते विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत घोराहीमा पेश गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरू विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका थिए । उनीहरूबाट कुल २६ लाख ४ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको तथा २ वर्ष २ महिना कैद सजाय कार्यान्वयन गर्नुपर्ने रहेको जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय दाङले अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ । प्रहरीले फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउने कार्यलाई थप प्रभावकारी बनाइने पनि उल्लेख गरेको छ ।