लुम्बिनीमा एक सांसदले बुझाएनन्, सम्पति विवरण

तुलसीपुर,७ चैत ।
लुम्बिनी प्रदेशका एक सांसदले सम्पति विवरण बुझाउनु भएको छैन । प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीले सम्पति विवरण बुझाउनु भएको छैन ।

भ्रष्टाचार निवारण ऐनको दफा ५० (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन दफा ३१ (क) (१) ले सार्वजनिक पद धारण गरेको व्यक्तिले शपथ लिएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था गरेको छ । विवरणमा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहित उल्लेख गर्नुपर्छ । तर, सांसद शर्माले अहिलेसम्म पनि सम्पति विवरण नबुझाएको संसद सचिबालयका सूचना अधिकारी सम्झना सुवेदीले बताउनुभयो ।


“लुम्बिनीमा सम्पति विवरण नबुझाएको एक जना सांसद हुनुहुन्छ”,उहाँले भन्नुभयो“उहाँलाई हामीले पटक–पटक फोन पनि ग¥यौं, अहिलेसम्म पनि सम्पर्कमा आउन सक्नु भएको छैन, फोन पनि अफ छ ।”

गएको पुस १७ गते लुम्बिनी प्रदेशका सांसदले पद तथा गोपनियताको शपथ लिएका थिए । जनमत पार्टीको समानुपातिक सांसद रायमाझी काठमाडौंमा रहेको जनमत पार्टीको संसदीय दलका नेता चन्द्रकेश गुप्ताले बताउनुभयो । लुम्बिनीका अन्य सबै सांसदहरुले सम्पति विवरण बुझाई सकेका छन् ।